विराटनगर । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष स्व. महेन्द्र गोल्छाको १७औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्मृति दिवसका अवसरमा बुधबार संगठनका वर्तमान तथा पूर्वअध्यक्ष, कार्यसमिति एवं परिवारका सदस्यहरूले संगठनको सचिवालयमा स्थापित स्व. गोल्छाको अर्धकदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
त्यसैगरी पोखरियास्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग गर्नुका साथै आश्रितहरूलाई बिहानको भोजन वितरण गरिएको हो ।
कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले स्व. गोल्छाले उद्योग तथा व्यवसाय क्षेत्रको हित संरक्षण र व्यावसायिक एकता कायम गर्न पुर्याएको योगदानको स्मरण गरे । उनले गोल्छाले देखाएको दूरदर्शी नेतृत्व र मार्गदर्शन आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत रहने बताए ।
संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले स्व. गोल्छाले संगठनलाई उद्योगीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा मात्र सीमित नराखी उद्योग, श्रम र समाजबीच समन्वय गर्ने साझा संस्थाका रूपमा विकास गर्न देखाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
त्यस्तै, पूर्वअध्यक्ष किशोर प्रधानले स्व. गोल्छालाई उद्योगी व्यवसायीको सामूहिक हित र समग्र औद्योगिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने दूरदर्शी व्यक्तित्वका रूपमा स्मरण गरे ।
पूर्वअध्यक्षहरू मुकेश उपाध्याय, भीम घिमिरे र सुयश प्याकुरेलले स्व. गोल्छाको नेतृत्वमा संगठनले उद्योगी व्यवसायीको हकहित संरक्षणसँगै औद्योगिक वातावरण निर्माण र निजी क्षेत्रको संस्थागत आवाज बुलन्द बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । उनीहरूले गोल्छाको कार्यशैली र प्रतिबद्धता वर्तमान पुस्ताका उद्योगी व्यवसायीका लागि अनुकरणीय रहेको बताए ।
स्मृति दिवसमा संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षद्वय विपिन काबरा र सुवोध कोइराला, कार्यसमिति सदस्यहरू सन्तोष भगत, जयेन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल र किरण व्यासलगायतको उपस्थिति थियो ।
त्यसैगरी स्व. गोल्छाका भाइ राजकुमार गोल्छा, छोरा पारस गोल्छा तथा छोरी युक्ति गोल्छाको पनि उपस्थिति रहेको थियो ।
View : 48
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved