विराटनगर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक शिवकुमार लामिछाने (विश्वकर्मा) र अस्मिता भण्डारी पक्राउ परेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा फरार रहेका दुवैजनालाई प्रहरीले बुधबार नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले उनीहरूलाई सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार बराह बचत तथा ऋण सहकारी संस्थासम्बन्धी कसुरमा १७ हजार १० जना पीडित रहेका छन् । उनीहरूमध्ये शंकर थापासहित ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ कायम गरिएको छ ।
सहकारीले नेपालभर ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताहरूबाट संकलन गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ । सोही मुद्दामा फरार रहेका प्रतिवादीहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
४५ वर्षीय लामिछाने धरान उपमहानगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका थिए । उनैले बराह बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका हुन् ।
त्यस्तै, धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी पनि पक्राउ परेकी छन् ।
उनी बराह सहकारीको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह ग्रुपको तत्कालिन १ नम्बर प्रदेश सचिवालय सदस्य रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको जनाइएको छ ।
View : 88
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved