Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

टिकटक: कसैले नाम कमाए, कसैले नामसँगै दाम

जुनु भट्टराई
१० वैशाख २०८१, सोमवार

विराटनगर । केही समय पहिले नाम र दाम कमाउनेहरूका लागि एउटा गतिलो र सजिलो माध्यम बन्यो टिकटक । आफूमा भएको प्रतिभालाई टिकटकको माध्यमबाट मनोरञ्जन लिने र दिने दुबै कार्यका लागि बच्चादेखि बृद्धसम्म धेरैले टिकटकलाई माध्यम बनाए ।

क्षमता हुनेले आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा टिकटकलाई लिए भने धेरैले टिकटककै माध्यमबाट आफूमा भएको प्रतिभाको पहिचान पनि गरे । टिकटक अकाउण्टमा फ्यान फलोअर्स बढाएर लाइभमा बसी यसैबाट धेरैले सजिलै पैसा पनि कमाए ।

यसरी टिकटक अकाउण्टकै कारण नाम, दाम र अवसर समेत कमाएकी मध्येकी एक हुन धनकुटा पाख्रिबासकी अनुजा थापा । धनकुटा पाख्रीवासकी २६ वर्षीय अनुजा सुरुका दिनहरूमा ‘म्युजिकल्ली एप्स’ प्रयोग गर्थिन् । जब टिकटकको बारेमा सुनिन् त्यही बेलादेखि उनको लगाव टिकटकप्रति बढ्न थाल्यो  । 

सुरुमा हप्तामा २–३ वटा भिडियो बनाएर पोष्ट गर्ने अनुजाले जति धेरै भिडियो पोष्ट गर्यो त्यही अनुपातमा भ्यूज र फलोअर्स बढ्दै गएको महसुस गरिन् । भिडियो पोस्टमा उनले थप मिहेनत गरिन् । त्यसपछिका दिनमा दिनकै ५–६ वटा भिडियो पोष्ट गर्न थालिन् । 

झण्डै ८ लाख फ्यान फलोअर्स कमाएकी थापाले टिकटककै माध्यमबाट नाम कमाइन् । साथसाथै पैसा पनि कमाउन थालिन् । उनले झण्डै आधा दर्जन विज्ञापनमा अभिनय गर्ने अवसर पाइन् । टिकटकमा उनका भिडियो भाइरल भएकै कारण मोरङ विराटनगरको सूर्योदय डेरी उद्योगका डेरी प्रोडक्ट, फर्निचर लगायतका झण्डै आधा दर्जन प्रोडक्टमा उनले अभिनय गर्ने अवसर समेत पाइन् । 

‘थापा आउटफिट’ नामको अनलाइन बिजनेसकी सञ्चालक पनि हुन् । उनले सुरु गरेको ‘थापा आउटफिट’ को लगानी उनले टिकटकबाटै कमाएको पैसाबाट गरेकी हुन् । टिकटकमा लाइभ बस्दा पाएको गिफ्टको पैसाको आधा मात्रैको लगानीले उनी अनलाइन व्यवसाय सुरु गर्न सफल भएको बताउँछिन् । 

‘सुरुमा लाइभ बस्दा ‘रोज क्याप’ जस्ता गिफ्ट आउन थालेँ, विस्तारै मैले टिकटकबाट मज्जाले कमाएँ । टिकटक बन्द हुनुभन्दा केही समयअघि मात्र लाइभ बस्न थालेकी थिएँ’ उनी भन्छिन्, ‘टिकटकले आफूले पाएको गिफ्टवापत ४० देखि ५० प्रतिशत राख्ने रहेछ, त्यो काटेर मैले ७–८ लाख रुपैयाँ भन्दा बढी कमाएँ होला । सोही रकम ब्यवसायमा लगानी गरेकी हुँ ।’

टिकटकमा भिडियो अपलोड गर्दा कमेन्टमा पनि गिफ्ट पाउने ब्यवस्था भएकोले यो निरन्तर भएको भए अहिलेसम्म उनले लाखौ लाख कमाइसक्ने थिइन् । तर, पछिल्लो समय सरकारले टिकटक नेपालमा ‘ब्याण्ड’ गरेको छ । जसले गर्दा प्रयोगकर्ताले नेपालमा टिकटक चलाउन पाउँदैनन् । कमाइ राम्रो हुन थालेपछि अनुजाले टिकटकका लागि प्रशस्त समय दिन थालेकी थिइन् ।

‘बिहान बेलुका अधिकांश समय लाइभमा बस्थेँ, विदेशमा समयको अन्तर धेरै भएकाले सबै फ्यान फलोअर्ससँग लाइभ बस्न रात र दिन दुबै समय बस्नुपर्ने हुन्थ्यो’ उनी भन्छिन् । त्यस्तो बेला राम्ररी सुत्न नपाउने खान समेत नपाउने समस्या हुन थालेको उनी उल्लेख गर्छिन् । 

‘पैसा त मज्जाले आइरहेको थियो, तर स्वास्थ्य पनि बिग्रदै गएको देखेर परिवारको धेरै पटक गाली पनि खानु पर्यो’ उनले भनिन् ।  जसले गर्दा परिवारलाई खुशी पार्नकै लागि उनले अनलाइन बिजनेस सुरु गरिन् । उनको लगानीको आधार भने त्यही टिकटकबाट प्राप्त भएको पैसा थियो ।

उनको ‘थापा आउटफिट’ ले सबै उमेर समूहका मानिसलाई अनलाइनको माध्यमबाट सुपथ मूल्यमा राम्रा कपडा उपलब्ध गराउँदै आएको छ । टिकटकमा लाइभ बसेर आफ्नो ब्यवसायलाई ब्राण्डिङ गर्न र बजार प्रवद्र्धन गर्न भरपुर सहयोग गर्दै थियो । तर दुर्भाग्य, ब्यवसाय सुरु गरेको केही समय नबित्दै नेपालमा टिकटक ब्याण्ड हुँदा उनको मन खिन्न भएको छ । टिकटक बन्द भएछि सुरुमा आफूलाई निकै घाटा लागेको उनी बताउँछिन् । 

‘मेरो कमाउने गलिलो माध्यम त बन्द भयो, तर पैसा र भ्यूजको आधारमा घाटा लागे पनि ब्यवसाय सुरु गरेँ, अहिले सुत्न र खान प्रशस्त समय मिलेको छ, त्यसैमा खुसी छु’, उनी भन्छिन् ।

त्यस्तै छोटो समयमा टिकटकमा भाइरल बनेका अर्का टिकटक प्रयोगकर्तामध्येका एक हुन् विराटनगरका खिलकुमार सुवेदी । १९ वर्षदेखि होटल ब्यवसाय क्षेत्रमा काम गर्दै आएका ब्यवसायी सुवेदी कलेजरोडस्थित होटल रोयल किचनका सञ्चालक हुन् ।

छोटो समयमै ४० हजारको हाराहारीमा फ्यान फलोअर्स कमाएका सुवेदी अरुजस्तो लाइभ बसेर पैसा चाहिँ नकमाएको बताउँछन् । नितान्त मनोरञ्जन लिने र दिने प्रयोजनका रुपमा मात्र टिकटकलाई लिएका सुवेदीले टिकटकमा पोष्ट गरेका भिडियो पारिवारिक र कमेडियन टाइपको हुने भएकाले धेरै भिडियो फलोअर्सले मन पराइदिएकाले आफू एक समय निकै भाइरल भएको उनी बताउँछन् । 

‘टिकटक नभएको भए म डिप्रेशनमा गइसकेको हुन्थेँ होला,’ आफूले टिकटक प्रयोग गर्न सुरु गरेको सुरुवाती दिन कोभिड–१९ को समय सम्झदै खिलकुमार भन्छन्, ‘करोडौंको आर्थिक लगानीसँगै वर्षौको समय र श्रम डुब्दै गएको अवस्थामा चुप लागेर हेरिरहन निकै कठिन थियो, आफूलाई सम्हाल्ने केही न केही माध्यम बनाउनु थियो मलाई, त्यो बेला गतिलो सहारा टिकटकलाई बनाएँ,  र आफ्नो मन बहलाएँ ।’ 

त्यो बेला खिलकुमार हप्तामा कम्तीमा पनि तीन वटा जति टिकटक भिडियो बनाउँथे । सुरुवातमा टिकटकमा भिडियो पोष्ट गर्दा धेरै साथीभाइले ‘छ्या, काम नपाएर टिकटक बनाएर बस्छस्’ समेत भने रे उनलाई । आफ्नै आँखाअगाडिसँगै ब्यवसाय गर्दै आएका साथीहरू डिप्रेशन गइरहेको देख्दा आत्तिएका खिलकुमार टिकटकले आफूमात्र होइन, परिवारलाई नै डिप्रेशनको सिकार हुनबाट जोगाएको दावी गर्छन् ।

‘त्यो बेला कि त मैले सुसाइड गर्नुपथ्र्यो कि त एडिक्सनमा जानुपथ्र्यो । आफूलाई यी दुईबाट टाढा राखेर मन भुलाउन मैले टिकटकको प्रयोग गर्न सुरु गरेँ, त्यही टिकटकले मलाई आज स्वस्थ जीवन बाँचेर ब्यवसाय गर्न सहज बनाइदिएको छ’, खिलकुमार भन्छन् । उनी टिकटकलाई आफूले पैसा कमाउनेभन्दा पनि मन बहलाउने माध्यमको रुपमा लिएको बताउँछन् ।

टिकटकलाई माध्यम बनाएर आफ्नो ब्राण्ड बनाउन सफल भएका थुप्रै टिकटक प्रयोगकर्ताहरू छन् । टिकटकबाट पछिल्लो समयमा निकै चर्चा कमाएका जोडी हुन् विराटनगरका सुरज अधिकारी तथा सीमा काफ्ले अधिकारी । 

श्रीमान–श्रीमतीको नामबाट खोलेको उनीहरूको सुरजसीमा एकाउण्टको फ्यान फलोअर्स नै ८ लाख भन्दा बढी पुगिसकेका थियो । विराटनगर पोखरियाका यी जोडीले टिकटकबाट मनोरञ्जन मात्र गरेनन्, लाइभ बसेर लाखौं पनि कमाए ।

टिकटककै माध्यमबाट लाखौ मानिसबीच सुरज–सीमा भनेर चिनिने अवसर प्राप्त भएकोले अहिले टिकटक बन्द हुँदा निकै दुःख लागेको उनीहरू बताउँछन् । तर टिकटक बन्द भए पनि फ्यान फलोअर्सहरूबाट भने आफूहरू टाढा बस्न नसकेको उनीहरू बताउँछन् । 

सुरज निजी विद्यालयका शिक्षक हुन् । सानैदेखि नाट्य क्षेत्रमा रुचि भएका सुरज टिकटकमा मात्र होइन विद्यार्थीलाई हँसाउन पनि माहिर छन् । उनकै कारण श्रीमती सीमा पनि अभिनय गर्न पोख्त भइसकेकी छिन् ।

अनुजा, खिलकुमार, सुरज–सीमा टिकटकका केही प्रतिनिधि पात्र हुन् । जो टिकटकमा रमाएर दुनियाँलाई चिनाउन सफल भए । 

सार्वजनिक रुपमा जो कोहीले प्रयोग गर्न मिल्ने टिकटक एउटा मनोरञ्जनात्मक डिजिटल प्लेटफर्म हो । यो एउटा यस्तो ‘इन्टरटेनमेन्ट एप्लिकेसन’ हो, जसमा आफूले चाहेको गीत वा संवादमा केही सेकेण्ड वा मिनेटको भिडियो बनाउन सकिन्छ । 

सुरुमा म्युजिकल्ली नाममा आएको यो एप्लिकेसन म्युजिकल्लीले गीत मात्रलाई जनाउने हुँदा उक्त एप्लिकेसन विकास गर्नेले परिमार्जन गरी टिकटक बनाए । यतिबेला विश्वभर यो एप सर्वाधिक लोकप्रिय छ ।

आफ्नो कला प्रस्तुत गर्ने राम्रो माध्यम बनिरहेको टिकटकको लोकप्रियता नेपालमा पनि उत्तिकै थियो । जहाँ कतिपय प्रयोगकर्ताहरू सेलिब्रेटी नै बनेका छन् । कुनै कुराको सही सदुपयोग गरे फाइदा, गलत प्रयोग गरे बेफाइदा हुन्छ नै । त्यस्तै टिकटकले बानी बिगार्न पनि सक्छ । साथै केही सिकाउन पनि । टिकटक सुरुवाती चरणमा, उदाउँदै गरेका तथा नवकलाकारका लागि आफ्नो प्रतिभा देखाउने राम्रो माध्यम बनेको थियो । यसबाटै भाइरल भएर राम्रो नाम दाम कमाउने धेरै कलाकार छन्, जो अहिले स्थापित पनि भइसकेका छन् । 

टिकटक प्रयोगकर्ताले भाइरल हुनका लागि आफू कतिसम्म तल झर्दैछु भन्ने विचार नगर्नु नै आज नेपालमा टिकटक बन्द हुनुको प्रमुख कारण भएको टिकटक प्रयोगकर्ता बताउँछन्  । 

राज्यले यस्ता एप्सहरूको सकरात्मक पक्षलाई ध्यान दिई प्रयोगकर्ताका लागि आवश्यक नीति नियम बनाएर चलाउने अनुमति दिन सके यसबाट धेरैले लाभ लिन सक्ने सम्भावना रहेको यसका प्रयोगकर्ताको बुझाइ रहेको पाइन्छ ।

View : 181

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved