Biratnagar, Morang, Nepal
८ मंसिर २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

मानवअधिकार आयोगका सदस्य दुवाडीले भने- 'अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयनमा सरकार जवाफदेही देखिएन'

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेशागत अधिकारको रक्षाका लागि सञ्चालन गरिरहेको आन्दोलनलाई निर्णायक बनाउनुपर्नेमा पत्रकारिता क्षेत्रका अगुवाहरूले जोड दिएका छन् ।
उद्‌घोष संवाददाता
८ मंसिर २०८३, मङ्गलवार

विराटनगर । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडीले सरकारले धेरै पत्रकारहरूलाई पक्राउ गरेको घटनामा आयोगले चासो राख्दा सरकार जवाफदेही नदेखिएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि छलफल कार्यक्रममा बोल्दै आयोग सदस्य दुवाडीले आयोगले प्रेस स्वतन्त्रताको कार्यन्वयनका लागि आयोगले आवाज उठाउँदै आएको बताए ।

पछिल्लो पटक पत्रकार पक्राउका घटनामा प्रधानमन्त्री कार्यालय, सञ्चार मन्त्रालय, गृह मन्त्रालय कसैले पनि जिम्मेवारी नलिएको बताउँदै राज्यमा जवाफदेहिता नदेखिएको टिप्पणी गरे ।

अभिव्यक्ति स्वतन्त्रता नभई अरु मानवअधिकारको उपभोगको अवसर श्रृजना नहुने बताए । उनले सामाजिक सञ्जालको प्रयोगलाई राज्यले नियमन गर्नुपर्नेमा आयोग स्पष्ट रहेको जानकारी दिंदै बालेन्द्र शाह नेतृत्वको सरकार बनेको एक महिनाभित्रै आयोगले त्यस सम्बन्धि कानुन बनाउन सुझाव दिइएको बताए । सामाजिक सञ्जालको प्रयोग र नियमन राष्ट्रको सार्वभौमिकताको विषय बन्नुपर्नेमा आयोग स्पष्ट रहेको बताउँदै भने– ‘तर अहिलेसम्म कानुन बन्ने प्रक्रिया अघि बढेन ।’ 

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक डा.घमराज लुईंटेलले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले पहिलो पटक आफैंले देशैभरी अध्ययन सुरु गरेको जानकारी दिए ।

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले मिडिया र पत्रकारहरूप्रति सरकार अनुदार देखिंदै आएको, सरकार गठन लगत्तै लोककल्याणकारी विज्ञापन कटौती गरेर मिडियामाथि आर्थिक नाकाबन्दी गरेको गुनासो गरे । साथै, संवैधानिक रुपमै ग्यारेण्टी गरिएको  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार देखिएकोले महासंघ नै आन्दोलनमा उत्रिएको बताए ।

कार्यक्रममा संचारकर्मी, मिडिया सञ्चालक, जेनजी अभियन्ता, गैरसरकारी संघसंस्था र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आन्दोलनमा होमिदै महासंघ

यसैबीच, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेशागत अधिकारको रक्षाका लागि सञ्चालन गरिरहेको आन्दोलनलाई निर्णायक बनाउनुपर्नेमा पत्रकारिता क्षेत्रका अगुवाहरूले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार विराटनगरमा सञ्चारसम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूसँग गरेको छलफलमा उनीहरूले पत्रकारितामाथि राज्यको हस्तक्षेप बढ्दै गएको र पेशागत संकटविरुद्ध सबै पत्रकार एकजुट हुनुपर्ने बताएका हुन् ।

महासंघ मोरङका पूर्वअध्यक्ष मोहन भण्डारीले पत्रकारिता क्षेत्रमा पेशागत संकट बढ्दै गएकाले सबै पत्रकार एकजुट हुन आवश्यक रहेको बताए । आन्दोलनमा अपेक्षित उत्साह र सहभागिता देखिन छाडेको भन्दै पेशागत संघसंगठनको भूमिका कमजोर बन्दै गएको गुनासो गरे । 

पूर्वअध्यक्ष दीपक दाहालले पत्रकारमाथि आक्रमण र हस्तक्षेप हुँदा महासंघले तत्काल आन्दोलनमा जानुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकार आलोचना सुन्न नसक्ने अवस्थामा पुगेको भन्दै सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने प्रयास गरिरहेको आरोप लगाए । महासंघका पूर्वअध्यक्ष बन्धु पोखरेलले सरकारको पछिल्लो रबैयाले समग्र सञ्चार क्षेत्र आतंकित हुने अवस्था सृजना भएको उल्लेख गर्दै संगठित रुपमा प्रतिवाद गर्नपर्ने बताए ।  

अर्का पूर्वअध्यक्ष विक्रम निरौलाले सबै सञ्चारमाध्यमलाई समान रूपमा सुविधा उपलब्ध गराउनुपर्नेमा सरकार भने कटौति गर्ने बाटोतिर लागेको भन्दै चिन्ता प्रकट गरे । 

उनले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड हुन थालेको घटनाले पत्रकारिता क्षेत्रलाई आतंकित पार्न खोजिएको गुनासो गरे । 

महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा आयोजित छलफलमा मोरङ कार्यक्षेत्र भएर कार्यरत सञ्चार संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

View : 74

८ मंसिर २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved