Biratnagar, Morang, Nepal
८ मंसिर २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

साङ्‌गीतिक लय र राष्ट्रिय बाजा मादलको अन्तरङ्‌ग

नेपाली जनजीवन र संस्कृतिमा मादल एउटा सर्वव्यापक लोकबाजा हो । पौराणिक कथनअनुसार वैदिक कालमा भगवान शिवले नृत्य गर्दा तालको अभाव पूरा गर्न डमरू र तत्पश्चात मृदङ्गको रचना गर्नुभएको थियो । देवयुगमा प्रचलनमा आएका तिनै बाद्यहरूको परिष्कृत रूप नै आजको मादल हो ।
शैलेन्द्र खतिवडा
८ मंसिर २०८३, मङ्गलवार

सङ्‌गीत केवल ध्वनि र स्वरको मात्र समष्टि होइन, यो निश्चित अनुशासन, काल र लयको एक सुन्दर प्रवाह हो ।

कुनै पनि गीत वा सङ्गीतको प्राण भनेको ताल हो भने तालको मूल आधार वा एकाइ ’मात्रा’ हो ।

धेरैवटा मात्राहरूको संयुक्त रूपबाट विभागको निर्माण हुन्छ र तिनै विभागहरू मिलेर एक सिङ्गो ताल बन्दछ ।

तालभित्र रहने सम्पूर्ण इकाइहरूलाई मात्रा भनिन्छ, जसको लम्बाइ र समयदूरी सधैँ समान हुन्छ ।

उदाहरणका लागि, कहरवा तालमा आठ मात्रा हुन्छन्, जसमा पहिलो मात्रादेखि दोस्रो हुँदै आठौँ मात्रासम्मको समयदूरी सरोबर र नियमित रूपले प्रवाहित भइरहेको हुन्छ ।

गायनमा स्वरलिपिहरू तालबद्ध रूपमा बस्ने हुनाले प्रत्येक गीतले आश्वस्त गरेको ताल र मात्रासँगै तिनको स्वरूप निर्देशित भइरहेको हुन्छ ।

 

तालको यसै शृङ्खलामा विभिन्न मात्राहरू मिलेर बनेको विभागहरूको आरम्भिक पहिलो मात्रालाई ‘सम’ भनिन्छ ।

जब गीत गाइन्छ वा बादन गरिन्छ, ठीक समकै स्थानमा तालको बहाव र गीतको मर्म एकाकार हुन्छ, जसले प्रस्तोता र स्रोता दुवैलाई गहिरो साङ्गीतिक आनन्दको अनुभूति गराउँछ ।

सम नै तालको सम्पूर्ण अस्तित्व र प्राण भएको हुनाले स्वरलिपि निर्माण गर्दा यसलाई विशेष कट्टी सङ्केत (ह) द्वारा अङ्कित गरिन्छ ।

तालको बहावमा गहकिला र मुलायम ध्वनिहरू मिसिएका हुन्छन् । जहाँ मुलायम ध्वनिको उपस्थिति हुन्छ, त्यहीँबाट सुरु हुने विभागको पहिलो मात्रालाई ‘खाली’ भनिन्छ, जसलाई ’०’ सङ्केतद्वारा चिनिन्छ ।

यस बाहेक जहाँ खालीको सङ्केत हुँदैन, त्यहाँ सम वा अङ्क जस्तोसुकै भए पनि ताली दिनुपर्ने स्थान हुन्छ र बादन गर्दा त्यहीअनुरूप क्रिया अघि बढाइन्छ ।

ताललाई मात्रिक छन्द वा खण्डहरूमा छुट्याउने कार्यलाई विभाग भनिन्छ, जसमा तालको आवश्यकता अनुसार मात्राको संख्या फरक–फरक हुन सक्छ ।

 

कुनै पनि तालको बोललाई निश्चित मात्राहरूसँग मिलाउँदै, त्यसको सुरुदेखि अन्त्यसम्मको एक चक्र बादन पूरा गर्नुलाई ‘ठेक्का’ भनिन्छ ।

ताल दिने बाजा मात्रलाई ठेक्का भन्न मिल्दैन, किनकि तालको आवृतिका सम्पूर्ण मात्राहरूलाई बोलअनुसार एक चक्र बजाउँदा बन्ने ध्वनि समूह नै ठेक्का हो ।

तबला, मादल, मृदङ्ग र पखावज जस्ता बाजा यसका प्रमुख माध्यम हुन् । 
यसैगरी, तालका बोलहरूलाई निर्धारण गरिएका मात्राअनुसार आरम्भ गरी बादनको एक चक्र पूरा गर्ने क्रिया ’आवर्तन’ हो ।

गायनको आवश्यकता र तालको गतिसँगै आवर्तनहरू क्रमशः थपिँदै जान्छन् र गीतको समाप्तिसँगै ताल बादनको अन्तिम आवर्तन पनि विसर्जन हुन्छ ।

यद्यपि, वर्तमान समयमा तालबादकहरूले बोललाई बेवास्ता गर्दै विकृत ध्वनिमा मात्रा मात्र समातेर अघि बढेको पाइन्छ ।

यसका पछाडि जानकारहरूको सहर केन्द्रित जीवनशैली, पर्याप्त पाठ्यसामग्रीको अभाव र तालबादनलाई हल्का रूपमा लिने प्रवृत्ति जिम्मेवार छन् ।

यसै रिक्ततालाई चिर्दै नेपाली लोकबाजा मादल र तबलाको सहज अभ्यास र परिचय दिनु आजको बौद्धिक तथा साङ्गीतिक आवश्यकता बनेको छ ।

 

नेपाली जनजीवन र संस्कृतिमा मादल एउटा सर्वव्यापक लोकबाजा हो ।

पौराणिक कथनअनुसार वैदिक कालमा भगवान शिवले नृत्य गर्दा तालको अभाव पूरा गर्न डमरू र तत्पश्चात मृदङ्गको रचना गर्नुभएको थियो ।

देवयुगमा प्रचलनमा आएका तिनै बाद्यहरूको परिष्कृत रूप नै आजको मादल हो, जसलाई पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड, तराई तथा प्रवाससम्मका नेपालीहरूको हृदयमा गढेको राष्ट्रिय तालबाजाका रूपमा मानिन्छ ।

सोरठी र मारूनीलगायतका लोकनृत्यहरूमा मादलको प्रयोग अनिवार्य हुन्छ ।

परापूर्वकालमा सिउडी, चुवा, छतिउनजस्ता कमलो काठबाट राँबोले छेडेर बनाइने मादल, आजको समयमा चनाराहरूद्वारा उत्तिस, खिर्राे, शिरिष, टुनी, चाप र कदमजस्ता काठहरू कुँदेर निर्माण गरिन्छ र वादी, कुलू तथा सार्कीहरूले यसमा छाला मोरेर खरी हाली अत्यन्त आकर्षक रूप दिन्छन् ।

मादलको यस कलात्मक संरचनामा यसलाई झुन्ड्याउने वा बोक्ने उजिण्डोलाई ‘खकान’ भनिन्छ भने तालको आवाज सन्तुलन गर्न लेपेको कालो भागलाई ‘खरी’ भनिन्छ ।

खरीको किनारा बाहिरको सेतो भाग ‘मैदान’ हो भने ताल बुनेको खप्टिएको छालाको भागलाई ‘सापट’ र यसको विटलाई ‘मथुरा’ भनिन्छ । 

खरी, मैदान, सापट र मथुरासहितको सम्पूर्ण बादन भागलाई समग्रमा ताल भनिन्छ भने यसको काठको मुख्य ढुङ्ग्रोलाई ‘घार’ भनिन्छ ।

दुवैतिरको ताल कस्न मादल वरिपरि तान्न लगाइएको जुइनोलाई ‘तना’ भनिन्छ ।

दुवै सलामीको मध्य भागमा रहेको उच्चो स्थानलाई मादलको ‘पेट’ वा ‘सुमेरु’ भनिन्छ भने आकारका आधारमा ठूलो ताललाई ‘पोथी’ र सानो ताललाई ‘भाले’ भनी सम्बोधन गरिन्छ ।

आधुनिकता र नयाँ पुस्ताको तबलाप्रतिको मोहले मादलको मौलिक बोल र ताल सङ्कटमा पर्दै गएकाले यसको संरक्षण, संवद्र्धन र शास्त्रीय अध्ययन आजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ ।
 

मादलको बनावट  
 प्राचीन कालमा मादलको रचना जस्ले जसरी गरेको भए पनि नेपाली समुदायमा आएपछि मादल निर्माताहरूले कमलो प्रकृक्तिका काठहरूलाई खोपेर ढुंग्रो बनाई बादी, कुलु र सार्की जातिले मादल निर्माण गर्ने गर्दथे ।

पछि आएर चनाराहरूले मादलको ढुङ्ग्रो बनाउने सार्की, वादी र कुलूहरूले त्यसलाई मोरेर मादलको आकार दिन थालियो ।

प्रत्येक गाउँगाउँमा यसैगरी मादल निर्माण गर्ने कार्य भएपनि उपयुक्त सीपको अभावमा असल मादलको रचना गर्ने सीप गाउँमा कमै मात्र पाइन्छ गाउँमा मादल बजाउने सँस्कृतिले गर्दा यसको प्रचार प्रसारमा तीव्रता आई प्रयोगमा पनि लोकप्रिय भएको पाइन्छ ।

 स्केल मादल निर्माण गर्ने सीप भएका व्यक्तिहरू अहिले गाउँबाट राजधानी काठमाडौंतर्फ व्यवसायीक हिसाबले सर्न गएकाले त्यस्ता खाले मादल राजधानीमा निर्माण भई देशको विभिन्न भागमा पुर्‍याइन्छ ।

साथै विदेशमा रहेका नेपालीभाषीहरू मादलको चाहा गर्ने विदेशीहरूले समेत लैजाने गर्दछन् ।

मादलको बनावट अनुसार एकतिरको भाग ठूलो र अर्को तिरको सानो हुन्छ ।

ठूलो भागलाई पोथी र सानो भागलाई भाले भनिन्छ ।

मादल सामान्यतया एक वित्तादेखि एक हात ६ अमल अर्थात १८ इञ्चसम्म लम्बाइको उपयुक्त हुन्छ ।

कतै यो भन्दा बढी लम्बाइको पनि बनाउने भागवाट गन्दा ५ भागको अन्तिममा मादलको पेट अर्थात् मोटो भाग गरेको पाइन्छ ।

मादलको लम्बाइलाई ८ भाग गरेर नाप्ने र भालेपटीको निर्माण गरिन्छ । त्यहाँबाट दायाँ बायाँ सलामी पारेर तीन भाग बाँयातर्फ पोथी ताल रहन्छ भने ५ भाग दायाँतर्फ भाले ताल रहन्छ ।

ढुङ्ग्रोको भाले गोलाइको मुखको नापजति हो त्यसको नापवाट नाप भन्दा सबा गुणा ठूलो पोथी मुखको गोलाई हनुपर्दछ ।

यही तरिकाबाट भाले मुखको गोलाई जती हो त्यति बराबर मादलको लम्बाइ हनुपर्दछ । त्यसको बीचको पेटको भाग भने भाले गोलाइको डेढ गुणा बढीको हुनुपर्दछ ।
 

यसरी बनाइएको मादल मात्र असल तरिकाको स्केल मादल बन्न सक्दछ ।

मादलबाट राम्ररी बोलहरू निकाल्न सकिन्छ र ती बोलहरूबाट ताल बजाउदा अति मीठो बोलका तालहरू निकाल्न सकिन्छ ।

मादल बजाँउदा सानो ताललाई दायाँ राखेर बजाउनु पर्दछ ।

यसरी बजाउने तरिकालाई सुल्टो मानिन्छ भने कही कतै भाले ताल बायाँ राखेर बजाएको पनि देखिन्छ र यसलाई विपरीत हात राखेर सुल्टो बजाउने मानिन्छ ।

(लेखक त्रियुगा सङ्‌गीत  विद्यालय, त्रियुगा–१२ , उदयपुरका कार्यकारी निर्देशक हुन्।)

View : 98

८ मंसिर २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved