विराटनगर । चार दशक लामो राजनीतिक यात्रा, संगठनमा निरन्तर सक्रियता र विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको अनुभवलाई आधार बनाउँदै नेपाली कांग्रेसका नेता यदु बिष्टले मोरङ जिल्ला सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै मोरङमा जिल्ला नेतृत्वका आकांक्षीहरू सक्रिय भइरहेका बेला बिष्टले ‘समृद्ध मोरङका लागि जिम्मेवार नेतृत्व’ नारासहित आफ्नो दाबेदारी अघि सारेका हुन् ।
उनले निष्ठा, न्याय, पारदर्शिता र सुशासनलाई नेतृत्वको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिष्टको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका उनले पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गर्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका छन् ।
२०४९ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका बिष्टले २०५२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य तथा २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए ।
विद्यार्थी र युवा संगठनमा काम गरेको अनुभवपछि पार्टीको मूल संगठनमा सक्रिय भएका बिष्ट २०६२ सालमा नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य बने ।
त्यसपछि २०६८ सालमा जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै जिल्ला संगठनको नेतृत्व तहमा पुगेका उनले प्रदेश संगठनमा समेत भूमिका निर्वाह गरेका छन् ।
२०८१ सालमा नेपाली कांग्रेस कोशी प्रदेशको प्रवक्ता बनेका बिष्ट हाल मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट महासमिति सदस्य छन् ।
विद्यार्थी संगठन, तरुण दल, जिल्ला कार्यसमिति र प्रदेश तहसम्मको जिम्मेवारी निर्वाह गरेको अनुभवलाई उनले जिल्ला सभापतिको दाबेदारीको आधार बनाएका छन् ।
पार्टी संगठनलाई थप व्यवस्थित, गतिशील र जिम्मेवार बनाउने लक्ष्यसहित नेतृत्वमा आउन चाहेको उनको भनाइ छ ।
बिष्टले आफ्नो दाबेदारीलाई पद प्राप्तिको आकांक्षाभन्दा पनि पार्टीप्रतिको निष्ठा र संगठनमा नयाँ जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन् ।
पार्टीभित्र न्यायपूर्ण व्यवहार, पारदर्शी कार्यशैली, सुशासन र कार्यकर्ताको सम्मानलाई नेतृत्वको प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ ।
कांग्रेसभित्र संगठन सुदृढीकरण, आन्तरिक एकता र नेतृत्वको कार्यशैलीलाई लिएर बहस भइरहेका बेला बिष्टले निष्ठा र जिम्मेवार नेतृत्वको मुद्दालाई आफ्नो दाबेदारीको केन्द्रमा राखेका छन् ।
View : 43
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved