भन्छन्, ‘भगवान सबै ठाउँ पुग्न सक्दैनन्, त्यसैले उहाँले आमाको रूपमा आफ्नो प्रतिरूप प्रत्येक घरमा पठाएका छन् ।’ जन्मदिने आमा जस्तै, धर्तीमा अवतरण हुने बेलामा मानिसको पहिलो स्याहार र संरक्षण गर्ने ‘देवी’ भनेकी नर्स नै हुन् ।
नर्सहरू जीवनको पहिलो स्पर्शदेखि अन्तिम क्षणसम्म निरन्तर साथ दिइरहने ती निस्वार्थ पात्रहरू हुन्, जसको सेवाभाव र समर्पणले हामीलाई जीवनको हरेक मोडमा हिम्मत र सहारा प्रदान गर्छ । संसारका सबै नर्सहरूको श्रद्धा पात्र स्रोत फ्लोरेन्स नाइटिङ्गेल, जसलाई ‘दीप लिएकी दिदी’ (लेडी विद अ ल्याम्प) भनेर उच्च सम्मान दिइन्छ — उहाँको प्रेरणाले जन्मिएको यो पेशा आज विश्वमै सबैभन्दा गरिमामय र भरोसायोग्य सेवामध्ये एक मानिन्छ ।
आज, १२ मे अर्थात विश्व नर्सिङ दिवस । तर दुखको कुरा के छ भने, यति महान पेशा जसले सन्तानको जीवन रक्षा र स्वास्थ्य सुधारको पहिलो र अन्तिम जिम्मेवारी लिन्छ, त्यही पेशा अझै पनि धेरै ठाउँमा उचित मूल्यांकनबाट वञ्चित छ । फेसबुकका वालहरू खाली छन्, भाषणहरू मौन छन्, अनि देशको सम्बोधनमा कतै नर्सहरूको गाथा सुनिन्न ।
तर हामी बुझ्न जरुरी छ : ‘प्रत्येक घरमा कम्तीमा एक जना नर्सको खाँचो छ ।’
रोगको सुरुआतमा नै प्राथमिक जानकारी र सल्लाह मिलेको भए, कति जीवनहरू बच्न सक्थे होलान् केवल उपचार होइन, आहार, पोषण र मानसिक सान्त्वनाको ज्ञानको अभावले मानिसहरू अल्प आयुमा मृत्युको मुखमा पुगेका थुप्रै उदाहरण हामी सामु छन् ।
त्यही कारणले, अबको पुस्तालाई हामीले सेवामूलक र आत्मसन्तुष्टि दिने नसिंङ पेशातर्फ प्रेरित गर्नुपर्छ । नर्स बन्नु केवल पेशा होइन, त्यो त एउटा आध्यात्मिक कर्म हो — जहाँ अर्काको पीडामा आफ्नो सन्तोष खोजिन्छ ।
कोरोना महामारीको भयावह समयमा नर्सहरू सबैभन्दा अगाडि थिए, आफ्नै जीवनको जोखिममा, हजारौंलाई जीवनदान दिंदै । यस्तो अगाडिको पक्तिका योद्धा (फ्रन्टलाइन वारियर) प्रति उच्च सम्मान व्यक्त गर्न हामी हरेक नागरिकको कर्तव्य हो । तर, वास्तविकता के छ भने, जब तलब, सेवा सुविधा र सुरक्षाको कुरो आउँछ — तब यिनै नर्सहरू बेवास्ताको शिकार हुन्छन् ।
नेपालमा हजारौं नर्सहरू न्यून पारिश्रमिक, करार वा स्वयम्सेवकमा काम गरिरहेका छन् । महिनौसम्म तलब नपाउने, कामको अधिक भार, मानसिक तनाव र असुरक्षित सेवा अवस्थाले गर्दा अन्ततः उनीहरू विदेश पलायन हुन बाध्य छन् । लाखौं खर्चेर पढेपछि आफ्नै देशमा अवसर नपाउँदा कसले सम्हाल्ने आफ्ना बुढाबुढी बाबुआमा र साना नानीहरूको स्वास्थ्य ?
तर, यिनै चुनौतीका बीच पनि नेपालमा थुप्रै फ्लोरेन्स नाइटिङ्गेल र मदर टेरेसा जस्तै समर्पित नर्सहरू अझै पनि छन्, जसले देशको माटोमै सेवा गर्ने अठोट लिएका छन् । उनीहरूको यो योगदानको शब्दले भन्दा बढी मनले सम्मान गरिनुपर्छ ।
आज, यस नर्सिङ दिवसमा, केवल औपचारिक शुभकामना होइन, राज्य, समाज र नागरिक तहबाट व्यवस्थात्मक सुधार, आकर्षक पारिश्रमिक र सुरक्षित सेवाको सुनिश्चितताको प्रतिबद्धता आवश्यक छ ।
नर्सहरूलाई सम्झनु केवल एक दिनको काम होइन । उनीहरूको योगदान त हरेक क्षणमा, हरेक जीवनको हरेक सासमा समाहित छ ।
नर्सिङ दिवस केवल एक दिवस होइन — यो त सेवा, माया र मानवताको अमर स्मृति हो ।
View : 165
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved