Biratnagar, Morang, Nepal
२९ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

पहिचानको मुद्दालाई ‘ड्यामेज कन्ट्रोल’ को अस्त्र बनाउँदै माओवादी

कोशीमा जनमत आकर्षित गर्न फेरि पहिचानको मुद्दा माओवादीले उठाउन खोजेको छ।
उद्‌घोष सम्वाददाता
२९ वैशाख २०८२, सोमवार

धरानको भानुचोकमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड ।

विराटनगर । आफू नेतृत्वको सरकारको आयु लम्ब्याउनकै लागि ‘पहिचान’ को मुद्दा त्यागेको नेकपा माओवादी केन्द्र सत्ताबाहिर पुगेपछि भने फेरि त्यही  मुद्दाका पक्षमा आफूलाई इमान्दार देखाउने प्रयास गरिरहेको छ । पछिल्लो समय कोशी प्रदेश केन्द्रीत दौडधुपमा व्यस्त रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यस्तो कसरतमा अलि बढ्तै मिहेनत गरिरहेका छन् । 

शनिबार पाँचथरमा आयोजित सभामा ‘पहिचानको पक्षमा माओवादी उभिएको’ दाबी गरेका उनले आइतबार धरानमा आएर पनि उही दाबी दोहोर्याएका छन् । किरात राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनलाई धरानमा सम्बोधन गर्ने क्रममा उनले कोशी नामकरणको प्रसंग जोडेर माओवादी अन्तिमसम्मै पहिचानकै पक्षमा उभिएको तर पार नलागेको बताए । 

‘हामीले बारम्बार भन्दै आएका छौं हामीबाट कमजोरी भयो । हामीले आफ्नो वर्ग समुदायसँग एकाकार भइराख्नुपर्ने थियो’, उनले धरानमा भने ‘तर, केही कमजोरी भयो । त्यो कमजोरीप्रति  आत्मसमीक्षासहित आएका छौं । अहिले पनि हामीले यो प्रदेशलाई एक नम्बरै भनेका छौं ।  त्यसबेला पनि म र मेरो पार्टी अन्तिम समयसम्म पनि पहिचानकै लागि लडी नै राखेको थियो । अहिले फेरि पहिचानकै आधारमा हुनुपर्छ भन्नेमा हामी दुविधामा छैनौं ।’ 

कुनै बेला जातीय राज्यकै लोभ देखाएर आदिवासी जनजातिलाई पार्टीमा एकाकार गराएका प्रचण्डलाई पछिल्लो समय सो समुदायमाझ प्रस्तुत हुने बेलामा कोशीमा गरेको ‘गल्ती’ ले झस्काइरहन्छ । यो कुरा उनले लुकाएका पनि छैनन् । प्रचण्ड प्रधानमन्त्री रहेका बेला सत्ताको आयु लम्ब्याउनकै लागि माओवादीले कोशीका पक्षमा लाइन लागेर मतदान गरेको थियो । आन्दोलन चर्केपछि ‘गल्ती भएको’ भन्दै फेस सेभिङको प्रयास गरेको थियो । 

कहिले कांग्रेसको अनि कहिले एमालेको काँध फेरिफेरि प्रधानमन्त्री भइरहन पाइन्जेल प्रचण्डले जायज-नाजायज सबैथरी सम्झौता गरेको आरोप खेप्दै आएका छन् । कांग्रेस र एमाले मिलेर सत्ताच्यूत तुल्याएपछि भने फेरि जनतातिरै फर्केको दाबी गरेर देशव्यापी अभियानमा छन् उनी । सत्ता आफ्नो प्राथमिकता नभएको पनि भन्ने तर सत्तातिर पनि आशावादी नजर लगाउँदै देश दौडाहा गरिरहेका प्रचण्ड ‘कोशी’ नामबारे दोहोरो खेल खेलिरहेका छन् ।  

कोशीमा प्रचण्ड र उनको दल माओवादीले दोहोरो चरित्र देखाएको तथ्यहरूले पुष्टि गर्छन् । २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राख्दा कांग्रेस, एमाले र राप्रपासँग एकै लहरमा उभिएर माओवादी सांसदहरूले मतदान गरेका थिए । अझ त्यसबेला ‘भोट जति कांग्रेस र एमालेलाई दिने, पहिचान चाहिँ हामीले दिनुपर्ने ?’ भन्दै माओवादी नेताहरूले जनतासँगै घुर्कीसमेत प्रदर्शन गरेका थिए । 

कोशी नामकरणका विरुद्ध प्रदेशमा आन्दोलन घोषणा भयो । माओवादीले नै बोक्दै आएको ‘पहिचानको मुद्दा’ नछाडेका शक्तिहरू २०७९ चैत ५ मा सडकमा आए । विराटनगरमा भएको आन्दोलनमा एक जना आन्दोलनकारीको ज्यान गुम्यो, दर्जनौं घाइते भए । यसरी आन्दोलन उठेपछि सबैभन्दा ठूलो संकटमा परेको माओवादीले ‘फेस सेभिङ’ को उपाय खोज्न थाल्यो । त्यसपछि २०७९ चैत २२ मा कृष्णबहादुर महराले ‘कोशीमा पहिचानको मुद्दा त्यागेर गल्ती भएको’ बताएका थिए । २०८० भदौ पहिलो साता विराटनगरमा सम्पन्न माओवादी प्रदेश कमिटीको बैठकले पनि कमजोरी स्वीकार्दै ‘अब कोशी होइन, प्रदेश १ नै लेख्ने, चलाउने’ भन्दै परिपत्र नै गर्यो । 

त्यसपछि त कोशी नाम राख्न मतदान गरेको र महिना दिनसम्म (महराले गल्ती भएको नभनेसम्म) कोशीकै बचाउमा ऊर्जा खर्च गरिरहेका माओवादी नेताहरू यू–टर्न हुन थाले । कोशीको विपक्षमा बोल्ने हिम्मत नगरे पनि ब्यानरहरूमा भने ‘प्रदेश १’ नै लेख्न थाले । ‘लाज पचाएरै भए पनि यो कर्म गर्नुपरेको छ’, माओवादी कोशीका नेताहरू भन्थे ‘प्रचण्डकै निर्देशनमा कोशीमा मत हालियो, अहिले फेरि विपक्षमा उभिनुपरेको छ । यसले विश्वसनीयता खस्केको छ ।’ 

यसबारे राजनीतिका वाचाल खेलाडी प्रचण्ड जानकार नहुने प्रश्नै हुन्न । त्यसैले आइतबार धरानमा उनले भने ‘अहिले फेरि प्रचण्ड र माओवादीले पहिचानको कुरा गरेर भ्रम छरेको भन्नेहरू पनि छन् । तर, हामीले भ्रम छरेको होइन,  हिजो हामीसँग संख्या पुगेन । भोलि हामीसित पुग्छ । संख्या पुर्याउनैपर्छ । लिम्बुवान, किरात र कोचको पनि भावना समेट्ने गरी नामकरण गर्नुपर्छ भन्नेमा हामी थोरै पनि विचलित छैनौं । कुनै दुविधामा छैनौं । म यस मञ्चबाट प्रष्टसँग यो कुरा  राख्न चाहन्छु ।’  

चाहिएका बेला आफूले बोकेको एजेन्डा बिर्सने तर जनमतको मनोविज्ञान बुझेपछि भने गल्ती भयो भन्दै माफी माग्ने माओवादी र प्रचण्डको सदाबहार शैलीसँग परिचित कार्यकर्ताहरू कोशीका सन्दर्भमा भर्पाइ हुनै नसक्ने क्षति माओवादीले बेहोरेको बताउँछन् । ‘जतिबेला कोशीका पक्षमा उभिनुपथ्र्यो त्यसेबला पार्टीलाई उभिनै नदिने, बेला बितेपछि चाहिँ हामी पहिचानकै पक्षमा छौं भन्दा दुनियाँले कसरी पत्याउँछ ?’, माओवादी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्यले भने ‘कोशीका पक्षमा उभिदा भएको ‘ड्यामेज कन्ट्रोल’ निकै चुनौतीपूर्ण छ । छिनछिनमा कुरा फेरेको मूल्य सजिलै चुक्ता हुन गाह्रै छ ।’ 

ती केन्द्रीय सदस्यले यसो भन्नुका पछि उनीसहितका नेताहरूले कोशी नामका पक्षमा मत हालेकै कारण लामो समय गृहजिल्लामै तनाव बेहोर्नु परेको छ । आफूलाई पहिचानवादी दाबी गर्ने समूहहरूले कोशीका पक्षमा मतदान गर्ने प्रदेशका ८२ सांसदलाई ठाउँ-ठाउँमा अवरोध र आक्रमण नै गरेका थिए । जनजाति पृष्ठभूमिका सांसदहरूलाई त आन्दोलनकारीले ‘वंश गद्दार’ नै घोषणा गरेका थिए । यसरी आफ्नै नेता कार्यकर्ता गाउँ जानसमेत नसक्ने अवस्था भएपछि माओवादीले कोशीमा गल्ती भएको बताएको थियो ।

यद्यपि उसले ‘गल्ती’ महसुस गरिसकेपछि पनि प्रदेशमा ‘नो कोशी’ आन्दोलन चली नै रह्यो । माओवादीले त्यो आन्दोलनमा सहयोग नगरेको पहिचानवादी नेताहरू बताउँछन् । ‘इलाम उपनिर्वाचनमै माओवादीले एमालेलाई काँध हालेर पहिचानका विरुद्धमा आफूलाई उभ्याएको हो’, कोशी नाम खारेजी आन्दोलनका नेता डकेन्द्रसिंह थेगिमले त्यसबेलै भनेका थिए ‘माओवादी पहिचानका पक्षमा छ भन्ने कुरा हावादारी हो । ऊ कुर्सीको खेलमा मात्रै छ ।’ हुन पनि त्यसबेला पनि सत्ता सुरक्षाकै लागि प्रचण्ड र माओवादीले ‘पहिचान विरोधी’ एमालेलाई इलाममा साथ दिएको थियो । 

यसरी कोशीमा गल्ती भएको पनि भन्ने तर प्रष्ट सन्देश प्रवाह गर्नुपर्ने बेलामा भने माओवादी चुकेको पहिचानवादीहरू बताउँछन् । नामकरणका बेला उसले आफूलाई कोशीको विपक्षमा उभ्याउन सक्थ्यो, उभ्याएन । त्यसपछि पनि इलाम उपनिर्वाचनसहितका केही मौका आउँदा पनि माओवादीले पहिचान बिर्सेको तर अहिले सत्ता विमुख भएपछि  कोशीमा जनमत आकर्षित गर्न फेरि पहिचानको मुद्दा माओवादीले उठाउन खोजेको बताउनेहरू धेरै छन् । अरु त अरु प्रचण्डको आइतबारको अभिव्यक्ति धरानका मेयर हर्क साम्पाङले पनि पत्याएनन् । प्रचण्डले हर्कको नामै लिएर ‘उट्पट्याङ नगरी माओवादीसँगै हिंड्न’ आग्रह गरेको सभामा पहिचानका पक्षमा उभिएको सन्देश दिन खोजेका थिए । 

त्यसको केहीबेरमै साम्पाङले फेसबुकमा लेखिहाले ‘पहिचानको नाममा फेरि राजनीतिक भाषण ! लाटाहरू झुक्किएको देख्दा चकित छु म !’ त्यसो त हर्क साम्पाङका उटपट्याङ फेसबुक स्टाटसहरूले धेरैलाई गम्भीरभन्दा रमाइलो गराउँछन् । तर, कुनैबेला ‘गणतन्त्रको बगैंचामा फुलेको फूल’ भन्दै आफैले प्रशंसा गरेका साम्पाङलेसमेत नपत्याउने गरी प्रचण्डले ‘पहिचानका पक्षमा’ गरेको भाषण अरु कतिले पत्याए होला ? कोशीमा प्रचण्डले खेपिरहेको मुख्य चुनौती यो पनि हो ।

View : 129

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved