विचार
संघीय संसद प्रदेश संसद अस्थिरता नेपाली जनताले सृजना गरेको होइन । राजनीतिक दलहरू र दलका नेताहरूले अस्थिर प्रकृतिको सरकार हरु सृजना गरेका हुन् । देश गणतन्त्रमा गइसकेपछि प्रदेश सरकारहरू तथा संघीय सरकार अस्थिरता हुनु लोकतन्त्रको भावना र मर्म विपरीत हो ।
जनताले पाँच वर्षका लगि म्यान्डेट दिएका थिए । २०७४ सालको निर्वाचन तथा २०७९ सालको संघीय संसद तथा प्रदेश संसद प्रतिनिधिहरूको निर्वाचन सम्पन्न भएपश्चात संघीय सरकार र प्रदेश सरकारहरू अस्थिर अवस्थामा देखा परेका छन् ।
कोशी प्रदेश सरकार, मधेस प्रदेश सरकार बागमती प्रदेश सरकार लगायतका सरकारहरू परिवर्तन भइरहँदा जनतामा निराशा छाएको छ । आखिर किन र के स्वार्थका लागि सरकारहरू परिवर्तन हुन्छन् ? खोज र अनुसन्धानको विषय बन्न सक्छ ।
भर्खरै मात्र मधेस प्रदेश सरकार परिवर्तन भइसकेको अवस्था देखिन्छ । २०७९ सालको प्रदेश सरकार पाँच वर्ष पुग्दा नपुग्दा पटक पटक परिवर्तन हुनु लोकतन्त्रको मर्म र भावना विपरीत हो ।
लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सरकारहरू गठन हुन्छन् । स्वार्थकेन्द्रित राजनीति र सत्ता कदापि लोकतान्त्रिक हुँदैन । मिलिजुली तथा गठबन्धनको नाममा घरि यता घरि उता पाइला सार्दै सरकारहरू परिवर्तन गर्दै जाँदा विकासमूलक योजनाहरू अलपत्र परेका थुप्रै प्रमाणहरु भेटिन्छन् । चार वर्षको अवधिमा प्रदेश सरकारहरू आधा दर्जनभन्दा बढी पटक परिवर्तन हुनु लोकतन्त्रको भावना र मर्मविपरीत काम हो । देश कानुनले चल्ने हो । हुकुमी शासनले होइन ।
कानुन सबैको लागि बराबर हुनुपर्ने हो । ठूला र सानालाई हेरेर कानुन बनाउनु हुँदैन । गल्ती गर्नेले कानुन बमोजिम सजाय पाउनुपर्छ । मसँग शक्ति छ, मसँग मान्छे छन् भन्दैमा मलाई थुन्दिने अरे, फलानोलाई थुन्दिने अरे, अमुकलाई थुन्दिने अरे भन्दै बरबराउनु मूर्खता हो । गल्ती गरेको अवस्थामा प्रहरीले समातेर थुन्दिन सक्छ, अनुसन्धान गर्न सक्छ निर्दोष भए अदालतले सफाई दिन्छ । डराउनुपर्ने कुनै कारण छैन । तर, जनतालाई मूर्ख बनाउँदै मलाई थुन्दिने अरे । सार्वजनिक रूपमा भाषण गर्नु लोकतन्त्रमा सुहाउँदैन ।
कानुनको नजरमा सबै बराबर हुन् । कानुनी राज्यको अवधारणा अनुसार कानुन सबैले पालना गर्नुपर्ने हुन्छ । सीमित व्यक्तिले कानुनपालना नगर्ने हो भने आमजनतामा यसको असर पक्कै देखिन्छ ।
अनुसन्धान गर्दै जाँदा दोषी भए कारबाहीको भागीदारी हुनुपर्छ, निर्दोष भए अदालतले सफाइ दिन्छ । ३५ वर्षसम्म देश विकास र आर्थिक स्थिति विकास भएन भन्नु चाहिँ गलत हो ।
३५ वर्षसम्म देखिएका भ्रष्टाचार र फोहोर फाल्ने दिनहरू आउँदैछन् । यसको प्रमाण मुख्य सचिव भइसकेको मान्छे भारतको कलकत्तामा भाग्दाभाग्दै समातिनु हो । होइन मान्छे पनि कतिसम्म लोभी पापी हुन सक्दछन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।
आजीवन पदमा रहिरहनुपर्ने आर्थिक लाभ लिरहनुपर्ने जनताका समस्याहरू भ्रष्टाचारको नीति र कुसंस्कारलाई मतलब नगरी केवल स्वार्थका लागि सीमित भ्रष्टाचारीहरूले देश खोक्रो बनाएको अवश्य हो । नत्र कलकत्ता भागिरहनुपर्ने अवस्था आउने थिएन ।
दलीय आधारमा दलको आशीर्वादमा आजीवन जागिर खाइरहन पटक्कै सुहाउँदैन । उमेर हदका कारण अवकाश भएको भोलिपल्टै राजनीतिक लाभको पद प्राप्त गर्न विगतमा कुलिङ पिरियड जस्ता काण्ड जनताले बुझिसकेका हुन्छन् ।
वास्तवमा अवकाश जीवनको पछि समाजसेवा र धर्म संस्कृति रक्षाको लागि काम गर्नुपर्ने समयमा राजनीतिक लाभको पदमा जानको लागि बदमाशी कुलिङ पिरियड नीतिले स्पष्ट पार्छ जनता विरोधी कामहरू हुन् भनेर । जनता जनार्दन हुन् । मानव सेवा र मानव धर्म सबैभन्दा ठूलो धर्म हो । केही स्वार्थी नेता र मान्छेले गर्दा नेपाल र नेपालीको विश्वसामू बेइज्जती भएको छ ।
समय परिवर्तनशील छ । समय अनुसार चल्न जानिएन भने दुःख पाइन्छ । समय सधैँ एकनासको हुँदैन । समयले साथ दिन्छ र समयले धोका पनि दिन सक्छ । समय गतिशील छ । शिक्षाको विस्तारले विश्वकरण र प्रविधिको प्रयोगले विश्व आज एउटा सानो गाउँ भएको छ ।
साथसाथै शिक्षाले गर्दा मानिसहरू सही र गलत छुट्याउन सक्ने अवस्थामा छन् । अबका दिनमा हावा कुरा गरेर जनतालाई भ्रममा पार्न सकिँदैन । आफ्नो स्वार्थका लागि सीमित मान्छेहरूलाई अवसर दिएर भ्रम फैलाउने काम गर्नु हुँदैन । जनतालाई अपमान गर्नु हुँदैन ।
राम्रोलाई राम्रो भन्नुपर्छ खराबलाई खराब हुनुपर्छ । आफ्नो स्वार्थको लागि राम्रोलाई पनि खराब खराबलाई राम्रो भन्नु महाअपराध हो । नेपाली र नेपालीको विकास र प्रगतिको लागि जस्तोसुकै अवस्था आए पनि पछि पर्नु हुँदैन ।
जनताले तिरेको करबाट तलब भत्ता र आफ्नो परिवारको गुजारा गर्ने जो कोही राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायतले राजनीति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गर्नु हुँदैन । लोकतन्त्रमा सबैको कल्याण हुने काम राष्ट्रसेवकले गर्नुपर्दछ । छिमेकी मुलुक भारत र चीनमा राष्ट्रसेवक कर्मचारीले राजनीति गर्दैनन् ।
राष्ट्रसेवकका लागि सबैभन्दा ठूलो धर्म र कर्म भनेको जनताको सेवा गर्नु । राजनीतिक दल राजनीतिक नेता राष्ट्रसेवक कर्मचारी जनताका मालिक होइनन् जनताका सेवक हुन् ।
राजनीतिक परिवर्तन सँगसँगै आफ्नो स्वार्थको लागि काम गर्ने व्यक्तिहरू कदापि लोकतान्त्रिक हुँदैन । नेपाली जनताले चाहेको भनेको सुशासन स्थिरता र विकास नै हो ।
प्रख्यात राजनीतिशास्त्री मन्टेसकुले सयौँ वर्ष अगाडि भनेका थिए कार्यपालिका, न्यायपालिका र विधानमण्डल अलगअलग भएमा, एकअर्काले आफ्नो काममा हस्तक्षेप नगरेमा राज्य सञ्चालन गर्न सजिलो हुन्छ ।
पछिल्लो ३५ वर्षमा यी तीन एक आपसमा मिलेर काम गरेको इतिहास साक्षी छ । यसको प्रमाण भागबण्डाका आधारमा नियुक्ति ।
अबका दिनमा राजनेताहरूले हावादारी गफ दिन सुहाउँदैन । उमेरले ७० वर्ष नागेका वृद्ध भत्ता पाउने भएका नेताहरूबाट वर्तमानको युवा पुस्ताले विकास र प्रगतिको कुनै आशा नगरे हुन्छ ।
एउटा भ्रष्टाचारीलाई समात्दैमा लोकतन्त्र धरापमा पर्दैन । देश विकासको खाँचो छ, देशको प्रगतिको खाँचो छ, आर्थिक वृद्धि दरको खाँचो छ । त्यसैले अबको चिन्ता व्यक्तिगत स्वार्थभन्दा पनि सामूहिक स्वार्थको लागि हुनुपर्दछ । पुरानाले देश बिगारे नयाँले देश सपार्ने भन्ने नयाँहरूले पनि हुँदैन ।
नयाँहरूले पनि देश विकासको लागि नयाँ योजना र खाकाहरू पारदर्शी तरिकाले जनता समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ । नयाँहरुले पनि गल्ती गरे सच्याएर जाने हो । गल्तीलाई लुकाउने होइन ।
आर्थिक पारदर्शिता लोकतन्त्रको गहना हो । भ्रष्टाचारीहरूलाई खोजी खोजी सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत पारदर्शी तरिकाले सार्वजनिक गरियोस् । भ्रष्टाचार देशको धमिरा हो । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं ।
View : 57
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved