विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय (पूवि)का प्राध्यापक तथा योजना महाशाखा प्रमुख रामप्रसाद ढकालले भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), नयाँ दिल्लीबाट विद्यावारिधि उपाधि हासिल गरेका छन् ।
शनिबार सम्पन्न शोध प्रतिरक्षापछि उनले सो उपाधि प्राप्त गरेका हुन् ।
जेएनयूको सामाजिक विज्ञान संकायअन्तर्गत सामाजिक चिकित्सा तथा सामुदायिक स्वास्थ्य केन्द्र (सीएसएमसीएच) का प्राडा राजिव दासगुप्ताको शोधनिर्देशनमा प्रा ढकालले ‘नेपालका पाँच वर्षमुनिका बालबालिकाको पोषणमा असमानता : सन् २०१६ र २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण तथ्याङ्कको विश्लेषण’ शीर्षकमा शोधपत्र पूरा गरेका हुन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) का सन् २०१६ र २०२२ का बृहत् तथ्याङ्कको तुलनात्मक विश्लेषणमा आधारित यस अनुसन्धानले नेपाली बालबालिकाको पोषण स्थितिमा विद्यमान असमानता र त्यसका सामाजिक, आर्थिक तथा संरचनात्मक कारक तत्वहरूको गहन अध्ययन गरेको छ ।
शोधले बालपोषण सुधार, जनस्वास्थ्य नीति निर्माण तथा पोषणसम्बन्धी असमानता न्यूनीकरणका लागि तथ्य र प्रमाणमा आधारित ( नीतिगत हस्तक्षेपको अपरिहार्यतालाई प्राज्ञिक रूपमा स्थापित गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन तथा शिक्षाशास्त्र संकायका पूर्वडीनसमेत रहेका प्रा. ढकाल हाल विश्वविद्यालयको योजना महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।
दक्षिण एसियाकै अग्रणी प्राज्ञिक थलोको रुपमा मानिने जेएनयूबाट जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा हासिल गरिएको यो उपाधिले प्राज्ञिक क्षेत्रमा उनको उचाइलाई ह्वात्तै बढाएको छ ।
View : 600
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved