Biratnagar, Morang, Nepal
१४ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
विचार

सङ्‌गीतमा बाजा, ताल र लयको त्रिवेणी

मानव जीवनमा मुटुको धड्कन विना जीवनको कल्पना समेत गर्न सकिदैन भने जस्तै तालविना सङ्‌गीतको परिकल्पना समेत गर्न सकिदैन । त्यसैले मानव जीवनमा मुटुको धड्कन छुटाउँदा जीवनको अन्त्य हुन्छ भनेझै सङ्‌गीतमा ताल नहुँदा यसको जीवनको कल्पनानै हुँदैन ।
शैलेन्द्र खतिवडा
१३ असोज २०८३, मङ्गलवार

Advertisement

सङ्गीत मानव चेतना, संवेग र संस्कृतिको सबैभन्दा सूक्ष्म तथा मनमोहक अभिव्यक्ति हो ।

‘गीतं वाद्यं तथा नृत्यं त्रयं सङ्गीतमुच्यते’ अर्थात् गायन, वादन र नृत्यको सङ्गम नै सङ्गीत हो ।

यी तीन तत्त्वमध्ये वाद्य अर्थात् बाजाले गायन र नृत्य दुवैलाई आधार प्रदान गर्दछ ।

 

सामान्य बोलीचालीको भाषामा जुन वस्तु बजाउँदा बज्दछ, त्यो नै बाजा हो भन्ने गरिन्छ, तर यो परिभाषा सङ्गीतका दृष्टिले अपूर्ण मानिन्छ ।

बजाउँदा उत्पन्न हुने सबै ध्वनि कर्णप्रिय र सङ्गीतयोग्य हुँदैनन् । सङ्गीतमा प्रयुक्त हुने ध्वनि नियमित, कम्पनयुक्त, मुलायम, चित्ताकर्षक र कर्णप्रिय हुनु अनिवार्य छ ।


तसर्थ, कुनै वस्तुमा आघात गर्दा वा घर्षण गर्दा सङ्गीत–उपयोगी नाद उत्पन्न भई सुर, ताल र धुनका निम्ति प्रयोग गर्न सकिने उपयुक्त माध्यमलाई नै सङ्गीतमा बाजा भनिन्छ । बाजाले गायनलाई सिँगार्ने, सुर र ताललाई सन्तुलित राख्ने र साङ्गीतिक कृतिमा प्राण भर्ने कार्य गर्दछ ।

साङ्गीतिक बाजाको वर्गीकरण
निर्माण संरचना, ध्वनिको उत्पत्ति र बजाउने प्रविधिका आधारमा शास्त्रीय तथा लोकसङ्गीतमा बाजाहरूलाई मुख्य चार वर्गमा विभाजन गरिएको छ, 

 

  • सुषिर बाजा (हावाबाट बज्ने) : मुखले फुकेर वा कुनै यान्त्रिक माध्यमबाट हावाको चाप दिएर बजाइने बाजाहरू सुषिर वर्गमा पर्दछन् ।

यी बाजामा भएका छिद्र वा पत्तीमा हावाको आघात पर्दा हावाको स्तम्भ कम्पित भई मधुर नाद उत्पन्न हुन्छ । बाँसुरी, सहनाई, हार्मुनियम, माउथअर्गन, बिगुल, शङ्ख आदि यसका प्रमुख उदाहरण हुन् ।

  •   घन बाजा (ठोकेर बज्ने ठोस धातु वा काठका बाजा) : धातु, काठ वा माटो जस्ता ठोस वस्तुलाई एकआपसमा जुधाएर वा आघात गरेर बजाइने बाजालाई घन बाजा भनिन्छ । यी बाजा मुख्यतया ताल र लयलाई स्पष्ट पार्न सहयोगी हुन्छन् । मुजुरा, झाँझ, झ्याम्टा, कठताल, जलतरङ्ग, काष्ठतरङ्ग, घण्टी आदि यस वर्गमा पर्दछन् ।

 

  •   तत् बाजा (तारयुक्त बाजा) : तारमा औँला, मिजराब वा गजको सहायताले आघात वा घर्षण गरी कम्पनबाट नाद निकाल्ने बाजाहरू तत् बाजा हुन् ।

तानपुरा, सितार, सारङ्गी, भ्वाइलिन, गितार, मेन्डोलिन र एकतारे यसका उदाहरण हुन् ।

यी बाजाहरू मुख्यतया सुर र रागको सूक्ष्म भावाभिव्यक्तिका लागि प्रयोग गरिन्छन् ।

 

  • अवनद्ध बाजा (छालाले मोडिएका बाजा) : काठ, धातु वा माटोको खोक्रो घेरामा जनावरको छाला (वा आधुनिक प्लास्टिक) मोडेर बनाइएका बाजा अवनद्ध हुन् । हात वा काठको मद्दतले छालामा प्रहार गरी ताल उत्पन्न गरिन्छ । मादल, तबला, ढोलक, मृदङ्ग, डमरु, डम्फु, ड्रमसेट आदि अवनद्ध बाजाका नमुना हुन् ।

 

तालको स्वरूप र सङ्गीतमा यसको महत्व
ताल भन्नाले सामान्यतयाः ताली भन्ने बुझिन्छ ।

कोरा ताली मात्रै ताल मानिदैन ।

सङ्गीतमा विभिन्न खाले धुनहरु निकालिन्छ यी धुनहरु निश्चित लम्बाइका समय चक्रमा निर्माण भएका हुन्छन यही समय चकलाई निश्चित मात्राहरु र विभाग बनाइ विभाग अनुसारका मात्राहरुमा खाली ताली गर्दै मापन गर्ने क्रिया नै ताल हो ।

तसर्थमा ताल भनेको सङ्गीतको समय नाप्ने क्रिया हो ।

 

यो विभिन्न लम्बाइका समय चक्रहरूमा सङ्गीतका धुनको, श्रृङ्गार गर्नका लागि मात्रा, विभाग र वोल बनेर उत्पन्न भइ बग्ने गर्दछ ।

यस्ता छोटा तथा लामा समय चक्रहरू गीतको बहावमा दोहोरिने हुँदा गीतको प्रकृति अनुसार विभिन्न किसिमका तालहरू उत्पन्न हुन पुग्दछन् । यी तालहरूमा लम्वाइ अनुसारका मात्रा र विभागहरू निर्धारण हुन्छन् । तालको बनावट अनुसार त्यसका खाली, ताली र सम बन्दछन् । 


ताल गीतहरूको जीवन हो अथवा गीतको धड्कन हो ।

मानव जीवनमा मुटुको धड्कन विना जीवनको कल्पना समेत गर्न सकिदैन भने जस्तै तालविना सङ्गीतको परिकल्पना समेत गर्न सकिदैन ।

त्यसैले मानव जीवनमा मुटुको धड्कन छुटाउँदा जीवनको अन्त्य हुन्छ भनेझै सङ्गीतमा ताल नहुँदा यसको जीवनको कल्पनानै हुँदैन ।

त्यसैले सङ्गीतका सारथी र पारखी दुवैलाई तालसम्वन्धी जानकारी हुनु आवश्यक छ । तसर्थ, ताल सम्बन्धी बुभन यसमा प्रयोग हुने केही शब्दहरुको परिभाषा सम्बन्धमा पनि जानकारी लिनु पर्दछ । 
 

लयको अवधारणा र यसका प्रकार
समान नापका बहावशील समयखण्ड अर्थात् बराबर दूरी भएका मात्राहरूको निरन्तर गति नै लय हो ।

अर्को शब्दमा, लय भनेको समयलाई समान अनुपातमा विभाजन गरी गतिशील बनाउने प्रक्रिया हो । जसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा समयको गति एकनास रहन्छ, त्यसरी नै तालको बहावमा पनि मात्राहरूको चाल समान दूरीमा निरन्तर प्रवाहित हुनुपर्दछ ।


चाल र गतिको आधारमा लयलाई मुख्य तीन भागमा विभाजन गरिन्छः

 

  •   विलम्बित लय : यो धिमा वा ढिलो गति हो । मध्य लयभन्दा लामो समयको अन्तराल राखी यसको गणना गरिन्छ । शास्त्रीय गायनको सुरुवाती विस्तार वा गम्भीर प्रकृतिका भाव व्यक्त गर्न यो लय प्रयोग हुन्छ ।
  • मध्य लय : धिमाभन्दा छिटो र द्रुतभन्दा ढिलो बग्ने सन्तुलित गतिलाई मध्य लय भनिन्छ । नेपाली लोकसङ्गीत र सुगम सङ्गीतमा बज्ने मादलको चल्ती लय यसै अन्तर्गत पर्दछ । यो गति अधिकांश श्रोताका लागि सहज र कर्णप्रिय हुन्छ ।
  •   द्रुत लय : मध्य लयभन्दा दोब्बर वा तीव्र गतिमा हिँड्ने चञ्चल प्रकृतिको लय नै द्रुत लय हो । यसमा मात्राको सङ्ख्या उही रहे तापनि समयको बहाव छिटो हुन्छ । द्रुत लयमा गाउन र बजाउन साधक निकै पारङ्गत तथा अभ्यस्त हुनुपर्दछ ।
     

लयकारीको साङ्गीतिक संरचना
एक मात्राभित्र बोल वा स्वरहरूको संख्या कति राखेर उच्चारण गरिन्छ भन्ने गतिको खेललाई ‘लयकारी’ भनिन्छ । लयकारीका प्रमुख चार रूप यस प्रकार छन् ।

 

  •   समान (एकगुन) लय : तालको एक मात्रामा स्वर वा बोलको एउटा मात्र अक्षर उच्चारण गर्दै अघि बढ्ने सामान्य स्थितिलाई समान लय भनिन्छ ।
  •    दुगुन लय  : तालको एक मात्राभित्र दुईवटा बोल वा स्वरहरूलाई समान गतिमा बाँधेर प्रस्तुत गर्ने प्रक्रिया दुगुन हो ।

 

  •   तिगुन लय : तालको एक मात्राभित्र तीनवटा बोल वा स्वरहरूको स्पष्ट उच्चारण गरी समय चक्र पूरा गर्नु तिगुन लय हो ।
  • चौगुन लय : तालको एक मात्राभित्र चारवटा बोल वा स्वरहरूलाई तीव्र तर सन्तुलित रूपमा प्रस्तुत गर्नुलाई चौगुन लय भनिन्छ ।

 

बाजा, ताल र लय एकअर्काका पूरक अङ्ग हुन् ।

 

बाजाले नादलाई मूर्त रूप दिन्छ, तालले त्यसलाई निश्चित समय–ढाँचामा बाँध्छ र लयले त्यसमा जीवनको स्पन्दन भरेर गतिशीलता प्रदान गर्दछ ।

यी तीनै तत्त्वको उचित सन्तुलन र समन्वयबाट मात्र उच्चस्तरीय, कर्णप्रिय र अमर सङ्‌गीतको सिर्जना सम्भव हुन्छ ।

 

(लेखक त्रियुगा सङ्‌गीत  विद्यालय, त्रियुगा–१२ , उदयपुरका कार्यकारी निर्देशक हुन्।)

View : 107

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved