Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस संस्थापन इतर समूहमा पन्तको प्रभाव

उद्‌घोष संवाददाता
३ मंसिर २०८३, बिहिवार

विराटनगर । नेपाली कांग्रेसका संस्थापक कोइराला परिवार सोही पार्टीमा कमजोर भएका बेला मोरङमा कांग्रेसभित्र संस्थापन इतर समूहलाई संगठित र बलियो बनाउने अभियानमा लागेका विराटनगरका युवा नेता विनायक पन्तले जिल्ला सभापतिको दावी गरेका छन् ।

जिल्ला अधिवेशनमा उनले सभापति पदमा उमेदवारी दिएका छन् । उनीसँगै खेम थापा र सुभाष पौडेलको पनि उमेदवारी परेको छ । पार्टीको केन्द्रका नेताहरू सकेसम्म सर्वसम्मत बनाउने प्रयासमा छन् । 

धार्मिक गतिविधि र पार्टीको आन्तरिक राजनीतिमा सक्रिय पन्तले मोरङमा संस्थापन इतर समूहको संगठन विस्तारसँगै असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकै ठाउँमा ल्याउने प्रयास गरे । 

संस्थापन पक्षको महाधिवेशनबाट असन्तुष्टहरू उनको समूहमा जोडिएका छन् । अष्टचिरिञ्जीवी मन्दिरका अध्यक्षसमेत रहेका उनले पार्टी विभाजन स्वीकार नगर्ने कांग्रेस कार्यकर्तालाई समेटेर संस्थापन इतर समूहलाई विराटनगर र आसपासका पालिकामा बलियो बनाउँदै लगेका छन् ।

आफूलाई जन्मजात कांग्रेस बताउने पन्त पछिल्लो समय कांग्रेसको आन्तरिक राजनीतिमा प्रभाव बढाउँदै केन्द्रीय नेतृत्वसँग नियमित समन्वयमा छन् । 

मोरङमा संस्थापन इतर समूहको संगठन विस्तार र नेतृत्व निर्माणमा उनले महत्वपूर्ण भूमिका खेल्दै आएको उनका सहकर्मी बताउँछन् । 

संस्थापन इतर समूूहको मोरङ सहसंयोजकको जिम्मेवारी पाएपछि उनले वडादेखि जिल्लासम्म युवालाई चलायमान गराए । 

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलगायतका नेताहरूको समर्थन आफूलाई रहेको उनले दावी गरेका छन् । 

विगतमा डा. शेखर कोइरालानिकट रहेर काम गरेका पन्तले पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता र सम्पर्क विस्तारलाई फराकिलो बनाएका छन् ।

सहयात्रीहरू संस्थापन कांग्रेसमा सक्रिय भइरहँदा पन्तले भने साथी छाडे, कोइरालाको साथ छाडेनन् । यसअघि उनी विराटनगरका तत्कालीन मेयर भीम पराजुलीसँग निकट भएर राजनीतिक अभियानमा थिए । 

विराटनगर र मोरङका विभिन्न क्षेत्रमा कांग्रेसका असन्तुष्ट नेता तथा कार्यकर्तालाई संगठित गर्ने पन्तको प्रयासले महाधिवेशनमा जिल्लाको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने देखिन्छ ।

View : 35

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved