विराटनगर । राजनीतिक वृत्तमा लामो समयदेखि चर्चामा रहेको जोडी डा. मुकुल ढकाल र रास्वपाकी वर्तमान सहमहामन्त्री निशा डाँगीले आफ्नो प्रेम सम्बन्धलाई अन्ततः वैवाहिक जीवनमा परिणत गर्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दस्तावेज लेखनदेखि नेतृत्व व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गरेका संस्थापक महामन्त्री ढकाल र वर्तमान सहमहामन्त्रीसमेत रहेकी सांसद डाँगीबीच मंसिर १० गते विवाह तय भएको जनाइएको छ ।
ढकालले विराटनगर महानगरपालिका–३ दूधफारमस्थित आफ्नै निवासबाट विवाहको तयारी सुरु गरेका हुन् । विवाहका लागि निमन्त्रणा कार्ड छपाइदेखि आवश्यक व्यवस्थापनका काम अघि बढेको जनाइएको छ ।
झापाको मंगलबारेस्थित सांसद डाँगीका आफन्तको घरमा विवाह समारोह हुने जनाइएको छ । ढकाल मंसिर १० मा विराटनगरबाट जन्ती लिएर झापा जानेछन् ।
मुकुल र निशाबीचको प्रेम सम्बन्ध यसअघि नै राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । उनीहरूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको भए पनि दुवैले सार्वजनिक रूपमा आफ्नो सम्बन्धबारे भने खासै खुलाएका थिएनन् ।
स्रोतका अनुसार उनीहरूबीच धार्मिक परम्परा अनुसार नै टीकाटालो भने भइसकेको छ । विवाहको तयारीस्वरूप ढकालले विराटनगरस्थित निवासमा ग्रहपूजासमेत गरेका छन् ।
संस्थापक महामन्त्री ढकाल र सभापति रवि लामिछानेबीच विवाद भएपछि उनलाई कारवाही गरेर हटाइएको थियो । उनले अहिले पनि सभापति रवि लामिछाने, रास्वपाका अन्य नेता र प्रधानमन्त्री बालेन साहका क्रियाकलापमाथि टिकाटिप्पणी गर्दै आएका छन् ।
सहमहामन्त्री डाँगी भने २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् ।
त्यसपछि २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा उनी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भइन् । चितवन महाधिवेशनबाट उनी सहमहामन्त्री चयन भएकी हुन् ।
रास्वपाको राजनीतिक यात्रामा विगत र वर्तमान जोडिएका मुकुल र निशाको सम्बन्ध औपचारिक रुपमा वैवाहिक सम्बन्धमा परिणत हुन लाग्दा केही नेता कार्यकर्ताले भने मुकुललाई रास्वपा फर्किने ढोका खुलेको रुपमा लिएका छन् ।
View : 39
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved