विराटनगर । कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको आवश्यकता र प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ ।
यातायात कार्यालयहरू स्थापना गर्दा सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यान नदिइएको भन्दै प्रदेशसभा सदस्यहरूले प्रश्न उठाएपछि समितिले प्रदेशभरका कार्यालयको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको समितिको बैठकमा सांसद नारायण बुर्जामगरले केही यातायात कार्यालयमा सेवाग्राहीको उपस्थिति अत्यन्त न्यून रहेको विषय उठाए ।
उनले ओखलढुंगाको रुम्जाटारस्थित यातायात कार्यालयमा दिनभरमा एक जना सेवाग्राहीसमेत नआउने अवस्था रहेको बताए ।
सेवाग्राही नै नपुग्ने स्थानमा कार्यालय सञ्चालन गर्नुको औचित्यमाथि प्रश्न उठाउँदै उनले प्रदेश सरकारले कहाँ–कहाँ कति यातायात कार्यालय सञ्चालन गरिरहेको छ भन्नेबारे विस्तृत अध्ययन गर्नुपर्ने धारणा राखे ।
सांसद रमेश बस्नेतले पनि प्रदेशका १४ वटै जिल्लामा रहेका यातायात कार्यालयको संख्या र तिनले दिइरहेको सेवाको प्रभावकारिता परीक्षण गर्नुपर्ने बताए ।
सांसदहरूले कार्यालयहरूको आवश्यकतामाथि प्रश्न उठाएपछि समितिकी सभापति कमला दर्नालले यस विषयमा अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताइन् ।
बैठकमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको व्यवस्थापनबारे पनि सांसदहरूले प्रश्न उठाएका थिए ।
कार्यालयमा पार्किङको उचित व्यवस्था नभएको विषयसँगै परिसरको पछिल्लो भागमा नयाँ प्रवेशद्वार बनाइएको विषयले पनि बैठकमा चर्चा पाएको थियो ।
उक्त प्रवेशद्वार सेवाग्राहीको सहजताका लागि बनाइएको हो वा अन्य कुनै स्वार्थ जोडिएको छ भन्नेबारे सांसदहरूले चासो राखेका थिए ।
सभापति दर्नालका अनुसार समितिले मंगलबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत अनुगमन गर्ने र उठेका विषयमा छानबिन गर्नेछ ।
यसअघि समितिले दिएका निर्देशन कार्यान्वयन भए–नभएको अवस्थासमेत अनुगमन गरिने उनले बताइन् । यसैबीच, समितिअन्तर्गतको प्रत्यायोजन विधायन उपसमितिमा पनि हेरफेर गरिएको छ ।
सांसद रमेश बस्नेतको संयोजकत्वमा नारायण बुर्जामगर र सदानन्द मण्डल सदस्य रहने गरी उपसमिति पुनर्गठन गरिएको सभापति दर्नालले जानकारी दिइन् ।
View : 60
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved