विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको हत्या आरोपमा मोरङ प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।
तीन जनालाई शुक्रबार र एकजनालाई शनिबार नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार घटनामा खोजीका क्रममा संलग्नताको घेरा घटाउँदै लैजाने क्रममा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ पर्ने व्यक्तिहरू २० देखि ३० वर्ष उमेर समूहका र लागुऔषध सेवनकर्ताहरू हुन् । उनीहरू सबै मृतक दासकै छिमेकका व्यक्तिहरू भएको प्रहरीले जनाएको छ ।
अनुसन्धान जारी रहेका कारण प्रहरीले चारैजनाको नाम भने गोप्य राखेको जनाएको छ ।
प्रहरीका अनुसार चारदिनअघि दासलाई मोवाइल चोरी गरेको आरोप लगाउँदै उनीहरू घरमै पुगेर ज्यान मार्ने धम्की दिएका थिए । त्यस्तो धम्कीको जानकारी दासका परिवारले प्रहरीलाई पनि गराएको थियो ।
शुक्रबार राजनको शव घरबाट तीन किलोमिटर टाढाको उखुबारीमा भेटिएपछि प्रहरीले अनुसन्धान तीब्र पारेको जनाएको छ ।
निलडाम र चोटपटक लागेको अवस्थामा शव भेटिएकोले हत्या भएको हुनसक्ने ठहर गर्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।
राजन छठ पर्व मनाउन घर आएका थिए ।
उनी काठमाडौंमा घरमा रंग लगाउनेका मजदुरका रुपमा कार्यरत थिए । उनी कात्तिक २७ मा काठमाडौंबाट विराटनगर आएका थिए ।
पुनः काममा फर्किने तयारी गरिरहेका राजन बिहीबारदेखि सम्पर्कविहीन भएका थिए । भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको हो । शवको टाउको, आँखा र अनुहारमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता देखिने भन्दै प्रहरीले धरानबाट ल्याइएको तालिमप्राप्त कुकुर र फरेन्सिक चिकित्सकको टोलीसहित परिचालन गरेर घटनास्थलमा अनुसन्धान गरेको हो । शवलाई पोष्टमार्टमका कोशी अस्पतालमा राखिएको जनाइएको छ ।
View : 32
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved