Biratnagar, Morang, Nepal
८ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

छोरालाई सम्मानको संस्कार सिकाऔं

जुनु भट्टराई
७ भदौ २०८३, आइतवार

Advertisement

केही दिन अघि मात्र एउटा मुटु नै छियाछिया बनाउने घटनाको बारेमा धेरै सञ्चारमाध्यममा समाचार आए । थियो— सिमराकी तीन वर्षकी अबोध बालिकामाथि भएको बर्बर बलात्कारको समाचार । मैले त्यो समाचार पढ्ने आँट गरिन । हेडलाइन पढे, विक्षिप्तै भए । सोचे यस्ता खबरबाट केही समय टाढा बसौं । तर सामाजिक सञ्जालले त्यो सम्भव हुन दिएन । हरेक स्क्रोलसँगै उही पीडा, उही आक्रोश, उही प्रश्न ।

सुरुमा मैले त्यो समाचार नपढ्ने दृढ निर्णय गरेकी थिए । दिनहुँ हिंसाका खबर लेख्दा, सुन्दा थाकेको मनलाई अलिकति भए पनि जोगाउने मेरो प्रयास थियो त्यो । तर, आजको सूचना प्रविधिको युगमा खबरबाट भाग्न कहाँ सजिलो छ र ? सामाजिक सञ्जालका पानाहरू पल्टाउँदा हरेक स्क्रोलमा उही आक्रोश, उही रोदन, पीडितका परिवारको चित्कार र अपराधीप्रति पोखिएको घृणाका ज्वालाहरू मात्रै देखिए । अन्ततः म त्यो समाचारबाट भाग्न सकिन ।

समाचार पढ्दै जादा मेरोभित्रको ‘पत्रकार’ कतै बिलायो र एउटी ‘आमा’ पूर्ण रूपमा हाबी भइन् । म १२ वर्षकी छोरी र ५ वर्षको छोराकी आमा हुँ । समाचारको प्रत्येक शब्दले मेरो मुटुमा तिखो सियोले रोपेझै दुखाइरह्यो । म सोच्न थाले— तीन वर्षकी त्यो बालिका, जसलाई अझै संसार के हो भन्ने नै थाहा थिएन, जसले सही र गलतको फरक बुझेकै थिएन, उसले आफूमाथि भएको त्यो क्रूरताको कसरी प्रतिकार गरोस ?

हामी दिनहुँजसो आफ्ना छोरीहरूलाई सिकाउँछौ— ‘अपरिचितसँग नजानू, कसैले नराम्रो नियतले छोयो भने चिच्याउनू, प्रतिकार गर्नू, भाग्नू, आमाबुबालाई भन्नू । मेरो घरमा पनि १२ वर्षकी छोरीलाई म यस्तै पाठहरू पढाइरहन्छु । तर तीन वर्षकी बच्चाको हकमा यी सबै उपदेशहरू कति असान्दर्भिक र निरर्थक सावित हुन्छ ? त्यो अबोध बालकले कसरी बुझ्ने कि उसलाई अँगालो हाल्ने मान्छेको नियत के हो ?

यो सोच्दै गर्दा मेरो नजर छेउमै खेलौनासँग खेलिरहेको मेरो ५ वर्षको छोरामाथि पर्यो । अनि मेरो मनमा एउटा गहिरो, अशान्त र गम्भीर प्रश्न उब्जियो— के म मेरो छोरालाई यस्तो संस्कार दिन सकूँला कि ऊ ठूलो भएपछि कहिल्यै कसैको डर वा असुरक्षाको कारण नबनोस् ?

हाम्रो समाजको सबैभन्दा ठूलो त्रुटि नै यहींनिर छ । हामी छोरी जन्मिनेबित्तिकै उसलाई कसरी जोगिने भनेर सिकाउन थाल्छौं तर छोरालाई कसरी मान्छे बन्ने र अरूको अस्तित्वको सम्मान गर्ने भनेर सिकाउन बिर्सिन्छौं । छोरीको पोसाक, उसले बोल्ने शैली, घर फर्किने समय र उसका साथीहरूमाथि समाजको चौबीसै घण्टा कडा निगरानी हुन्छ । तर, छोरालाई भने केटा मान्छे त हो नि, मर्दका बच्चा, केटा भएर पनि रोइन्छ ? जस्ता पितृसत्तात्मक विचारका विषयुक्त खुराक खुवाएर हुर्काइन्छ ।

नतिजा ? हामीले छोराहरूलाई संवेदनशील हुन सिकाएनौ हामीले उनीहरूलाई सिकाउनै बिर्सियौ कि अरूको सहमति बिना गरिएको कुनै पनि स्पर्श वा व्यवहार अपराध हो । हामीले सिकाएनौ कि ‘छैन’ वा ‘नाई’ को अर्थ साच्चिकै ‘हुँदैन’ नै हुन्छ ।

नेपालमा सार्वजनिक हुने अधिकांश यौन हिंसाका तथ्यांकहरूले देखाउँछ, अधिकांश घटनामा अपराधी पीडितकै चिनजानको, विश्वासपात्र, छिमेकी, आफन्त वा संरक्षक नै हुने गर्छ । यसले के स्पष्ट पार्छ भने, समस्या बालिका वा महिलाहरू सुरक्षित ठाउँमा नहुनु होइन, समस्या त हाम्रै घर–परिवार र समाजभित्र हुर्किरहेको विकृत मानसिकता हो ।

बलात्कारी वा हिंसक पुरुष अचानक एकै रातमा जन्मिदैन । त्यसको बीउ सानै उमेरमा घरको वातावरणबाट रोपिएको हुन्छ । जब एउटा सानो बालकले घरमा आफ्नो बुबाले आमालाई हेपेको वा हिंसा गरेको देख्छ, जब उसले दिदीबहिनीमाथि दाजुभाइको हैकम चलेको देख्छ, जब उसले समाजमा महिलामाथि गरिने भद्दा ठट्टा र अश्लील टिप्पणीमा अभिभावकहरू नै हाँसेको सुन्छ— ऊभित्र बिस्तारै यो भ्रम स्थापित हुन्छ कि महिलाहरू पुरुषभन्दा कमजोर र उपभोगका साधन मात्र हुन् ।

त्यसैले, अब हामीले आफ्ना छोराहरूलाई हुर्काउने शैलीमा आमूल परिवर्तन ल्याउनैपर्छ । परिवर्तनको सुरुवात अरू कसैको घरबाट होइन, हाम्रै आफ्नै बैठक कोठा र भान्साबाट हुनुपर्छ ।

मेरो छोरो अहिले पाँच वर्षको छ । ऊ अबोध छ, तर सिक्ने उमेरमा छ । म चाहन्छु, ऊ सानैदेखि केही आधारभूत मानवीय मूल्यहरू सिकेर हुर्कियोस् । उसले सहमति र सीमाको ज्ञानको बारेमा राम्ररी बुझोस् । उसले सानैदेखि बुझोस् कि आफ्नी दिदी, साथी वा कसैको पनि व्यक्तिगत दायरा हुन्छ । कसैको अनुमतिबिना उसको सामान छुने वा उसलाई अँगालो हाल्ने अधिकार कसैलाई हुँदैन । दास्रो कुरा, उसमा संवेदनशीलता र दया प्रसस्त होस । 

‘केटा मान्छे रुनु हुँदैन’ भन्ने गलत पाठ म उसलाई कहिल्यै पढाउने पक्षमा छैन । म चाहन्छु, उसले आफ्ना भावनाहरू व्यक्त गर्न सकोस्, अरूको दुखमा आसु झार्न सकोस् । संवेदनशीलता कमजोरी होइन, यो मानवताको पहिलो लक्षण हो भन्ने कुरा उसमा ज्ञान होस् ।

तेस्रो कुरा, समानताको व्यावहार उसमा सानैदेखि आओस् । घरका कामहरू केवल आमा वा दिदीको मात्र जिम्मेवारी होइनन् भन्ने कुरा उसले दैनिक अभ्यासबाट देखोस् । भान्सामा सघाउनु, आफ्ना सामान आफै मिलाउनु र सम्मानपूर्वक बोल्नु उसको बानी बनोस् ।  चौथो कुरा, ‘नाईँ’ शब्दको सम्मान गर्न सिकोस् । कसैले कुनै कुरामा असहमति जनायो वा हुँदैन भन्यो भने त्यसलाई सहज रूपमा स्वीकार गर्ने धैर्यता र संस्कार उसमा सानैदेखि बसोस् ।

म मेरी १२ वर्षकी छोरीलाई निडर, स्वाभिमानी र प्रतिकार गर्न सक्ने बनाएर हुर्काउने प्रयासमै छु । तर, त्योभन्दा बढी मेरो प्राथमिकता मेरो ५ वर्षको छोरालाई एउटा यस्तो संवेदनशील र सभ्य पुरुष बनाउनुमा हुनेछ, जसको उपस्थितिमा समाजको कुनै पनि छोरी, कुनै पनि महिला वा बच्चाले डर होइन, पूर्ण सुरक्षित र सम्मानित महसुस गरोस् ।

जब हरेक आमाबाबुले छोरीलाई ‘बच’ भनेर सिकाउनुभन्दा पहिले छोरालाई ‘मान्छे बन’ भनेर सिकाउन थाल्नेछन्, सायद त्यो दिन समाचार कक्षमा बसेर म जस्ता कुनै पनि पत्रकार आमाले तीन वर्षकी बालिका बलात्कार भएको समाचार लेख्नुपर्ने छैन । र, कुनै आमाले आफ्नो मन जोगाउनका लागि समाचार नै नपढ्ने कठोर निर्णय गर्नुपर्ने अवस्था आउने छैन ।

View : 196

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved