Biratnagar, Morang, Nepal
८ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

हलेसी महिला सेवा केन्द्र तडकभडक छाडेर सीप सिकाइमा

उद्‌घोष संवाददाता
७ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । बढ्दो तडकभडक र खर्चिलोपनलाई निरुत्साहित गर्दै हलेसी महिला सशक्तीकरण सेवा केन्द्र, विराटनगर–८ ले आत्मनिर्भरमूलक सीप तालिम र तीज विशेष कार्यक्रमसहित आफ्नो नवौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।

संस्थाकी अध्यक्ष सीता बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वाल्मीकि स्कुलकी प्राचार्य तथा समाजसेवी सावित्री पराजुली थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरूलाई तीजको रमाइलोसँगै प्रत्यक्ष आयआर्जनमा सहयोग पुग्ने गरी अर्गानिक हार्पिक तथा फिनेल बनाउने व्यावहारिक सीप तालिम प्रदान गरिएको थियो।

 

प्राचार्य पराजुलीले तीजलाई महँगा होटलको भोज र अनावश्यक खर्चमा सीमित नगरी महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरतासँग जोड्नुपर्नेमा जोड दिइन्।

उनले केन्द्रले चाडपर्वलाई सीप र उत्पादनसँग जोडेर समाजमा सकारात्मक तथा अनुकरणीय सन्देश दिएको बताइन् ।

 

कार्यक्रममा पत्रकार भोजराज घिमिरे,  सचिव कुमारी अधिकारी, कोषाध्यक्ष राजेश्वरी कार्की,  सदस्यहरू सीता खड्का, शारदा सुवेदी र सञ्जिता थापाले महिला सशक्तीकरण केन्द्र लागि रहने बताए । 

 

साधारण सभाले विगतमा सञ्चालित बेहुली जुत्ता निर्माण तालिम, विपन्न वर्गलाई न्यानो कपडा तथा राहत वितरण, र वृक्षरोपणजस्ता सामाजिक कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा पनि स्वरोजगार तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

परम्परागत नृत्य-गानसँगै सीप सिकेर सम्पन्न भएको यस कार्यक्रमले खर्चिलो तीजको सट्टा उत्पादनशील र मौलिक तीज मनाउन महिलाहरूलाई प्रेरित गरेको छ।

View : 115

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved