Biratnagar, Morang, Nepal
१८ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराट एक्स्पो २०२६ :

२७५ स्टल रहने, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य

उद्‌घोष संवाददाता
१८ कार्तिक २०८३, बुधवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्ने नवौँ संस्करणको विराट एक्स्पो २०२६ लाई यसपटक परम्परागत व्यापार मेलाभन्दा फरक स्वरूपमा आयोजना गर्ने भएको छ । 

‘द इकोसिस्टम अफ अपच्यूनिटिज्’ अर्थात् ‘अवसरहरूको पारिस्थितिक प्रणाली’ भन्ने मूल नारासहित आयोजना हुने एक्स्पोमा उद्योग, व्यापार, लगानी, रोजगारी, सीप विकास र उद्यमशीलतालाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य राखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

एक्स्पो आगामी पुस २ देखि ११ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा सञ्चालन हुनेछ । एक्स्पोमा २७५ भन्दा बढी स्टलमा तीन सय बढी कम्पनी तथा संस्थाको सहभागिता गराउने लक्ष्यसहित २ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता भित्र्याउने तयारी रहेको जनाइएको छ । 

सोही अवसरमा विराटनगरमा आयोजित थिम लञ्च तथा मस्कट रिभिल कार्यक्रममा एक्स्पोका संयोजक विपिन काबराले यसपटकको एक्स्पोलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी औद्योगिक तथा व्यावसायिक अवसर सिर्जना गर्ने माध्यमका रूपमा विकास गर्न खोजिएको बताए ।

उनका अनुसार एक्स्पोमा २५ हजार विद्यार्थीको सहभागिता गराउने, १ हजार ५०० भन्दा बढी व्यावसायिक सम्पर्क तथा व्यावसायिक साझेदारी निर्माण गर्ने र करिब २ हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ । त्यस्तै, कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप तथा उद्यमशील परियोजनालाई लगानीकर्तासमक्ष प्रस्तुत गरिनेछ ।

एक्स्पोमा ६ वटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न क्षेत्रका अवसर प्रस्तुत गरिने संगठनले  जनाएको छ । 

यसअन्तर्गत ‘लर्न्स फर द फ्युचर’ कार्यक्रममार्फत विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसरसँग जोडिनेछ । संगठनका सदस्य उद्योगले आफ्ना उत्पादन, प्रविधि र रोजगारीका सम्भावना प्रस्तुत गर्ने छुट्टै मेम्बर स्पेससमेत रहनेछ ।

त्यस्तै, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन प्लेटफर्ममार्फत नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकता दिइनेछ । यसमा मेकर स्पेस, डिजाइन थिङ्किङ, बुट क्याम्प तथा नयाँ र वृद्धि उन्मुख उद्यमका प्रदर्शनी समावेश हुनेछन् ।

उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स र बजार पहुँचसम्बन्धी सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले ‘बीटुबी कनेक्ट’ प्लेटफर्म पनि सञ्चालन गरिनेछ ।

एक्स्पोको प्रमुख आकर्षणका रूपमा तीनदिने ‘विराट बिजनेस समिट २०२६’ आयोजना हुनेछ । समिटमा लगानी तथा व्यवसाय विस्तार, व्यावसायिक सम्पर्क र नीतिगत सहकार्यका विषयमा छलफल हुनेछ । समिटका तीन दिनलाई ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ विषयमा केन्द्रित गरिनेछ ।

समिटमा देशभरिका उद्योगी व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ । 

कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघलाई जोड्दै प्रत्येक दिन ६ वटा जिल्ला चेम्बरका प्रतिनिधिमण्डलले आ–आफ्नो क्षेत्रका आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन् । तीन दिनमा १८ वटा जिल्लाका अवसरबारे प्रस्तुतीकरण गरिने आयोजकले जनाएको छ ।

नेपाल–भारत र नेपाल–बंगलादेशबीच व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले बिजनेस फोरम, बीटुबी मिटिङ तथा विषयगत प्यानल छलफलसमेत समिटका आकर्षण रहनेछन् । 

समिटमा ‘अपरच्युनिटी वाल’ निर्माण गरी जिल्ला तथा स्थानीय सरकारका लगानी सम्भावना, स्थानीय उत्पादन, पूर्वाधार विकासका अवसर र उद्योगी व्यवसायीका आवश्यकता प्रस्तुत गरिनेछ ।

स्टल व्यवस्थापनतर्फ औद्योगिक तथा कर्पोरेट स्टल करिब १५०, प्रायोजित तथा विशेष स्टल १५, कृषि तथा साना उद्यमका ५०, अटोमोबाइल्सका २०, खाद्यका १२, व्यावसायिक सेवा प्रदायकका १०, तालिम प्रदायकका १० तथा साना तथा वृद्धि उन्मुख उद्यमका १० स्टल रहनेछन् । यसबाहेक बाल उद्यम, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायकको सहभागिता पनि रहनेछ ।

कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख औद्योगिक उत्पादनसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

एक्स्पोमा उत्पादन तथा सेवाको व्यावसायिक प्रदर्शनीसँगै कृषि, अटोमोबाइल्स, खाद्य तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन् । हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।

आयोजकका अनुसार एक्स्पोको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । स्टल बुकिङ, प्रायोजक तथा सहभागी संस्थासँग समन्वय, विभिन्न पेभिलियनको डिजाइन, प्रदर्शनी क्षेत्र व्यवस्थापन र कार्यक्रमको तयारी भइरहेको छ । एक्स्पोको आधिकारिक वेबसाइट, अनलाइन स्टल बुकिङ प्रणाली, थ्रीडी भर्चुअल टुर र विस्तृत मास्टर प्लानसमेत तयार गरिएको छ ।

एक्स्पोका लागि पावर बाई सेन्टुरी स्पाइसेस एन्ड स्न्याक्स रहेको छ । डायमन्ड स्पोन्सरमा म्याजिक फुटवेयर र शिखर इन्स्योरेन्स, गोल्ड स्पोन्सरमा नबिल बैंक र एनएलजी इन्स्योरेन्स तथा सिल्भर स्पोन्सरमा पीओएल लुब आयल, काबरा ग्रुप, सांग्रिला शूज, सेलो, इद्धार्था प्रिमियर इन्स्योरेन्स र रिभाज फुड रहेका छन् ।

त्यसैगरी कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश प्रवर्द्धक संस्थाका रूपमा रहेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पो निजी क्षेत्र, सरकार, शैक्षिक संस्था, युवा तथा आम नागरिकको साझा अभियान भएको बताए । एक्स्पोलाई नेपालको औद्योगिक तथा व्यावसायिक सम्भावनालाई जोड्ने बिजनेस इकोसिस्टम प्लेटफर्मका रूपमा स्थापित गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

आयोजकले एक्स्पोमार्फत उद्योगी व्यवसायीलाई बजार विस्तार, लगानीकर्तालाई नयाँ परियोजनाको पहिचान, युवालाई रोजगारी तथा उद्यमशीलताको अवसर र उपभोक्तालाई नयाँ उत्पादन तथा प्रविधिबारे जानकारी प्राप्त हुने अपेक्षा गरेको छ । आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने एक्स्पोमा उद्योगी, व्यवसायी, विद्यार्थी, युवा, उद्यमी तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

View : 19

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved