थामेदेखि हुँगा खोला पहिरोसम्म
विराटनगर । शुक्रबार बिहान कोशीको हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर हुँगा खोला थुनियो । केही समयका लागि खोलाको बहाव रोकियो । करिब १०० मिटर क्षेत्रमा पानी जम्मा भयो र पहिरोले बनाएको प्राकृतिक ड्याममाथिबाट पानी बग्न थालेपछि निकास सुरु भयो । तत्काल ठूलो क्षति भएको सूचना अहिलेसम्म छैन ।
यद्यपि यो घटना सामान्य पहिरो मात्रै भने होइन । हिमालदेखि पहाड हुँदै नदीको तल्लो तटीय क्षेत्रसम्म फैलिएको कोशी जलाधारमा पहिरोले खोला थुन्ने, थुनिएको पानी एक्कासि फुट्ने र त्यसले तल अर्को बाढी वा पहिरो निम्त्याउने ‘क्यास्केडिङ’ जोखिम कति गम्भीर हुन सक्छ भन्ने पछिल्ला वैज्ञानिक अध्ययनहरूले निरन्तर देखाइरहेका छन् । भोटेकोसीको विनाशकारी बाढीपछि त यसबारे ठूलो बहस सुरु भैसकेको छ ।
हुँगा खोलामा अहिले त्यस्तो ठूलो विपद् भएको छैन । तर एउटा पहिरोले खोलाको बहाव रोकिदिएको घटनाले कोशीका हिमाली र पहाडी भूभागमा प्राकृतिक जोखिमहरू एक्लाएक्लै होइन, एकअर्कालाई बढाउँदै जाने सम्भावना रहेको तथ्य फेरि एकपटक सम्झाएको छ ।
इसिमोडले २०८१ भदौमा सोलुखुम्बुको थामेमा भएको बाढीबारे गरेको पछिल्लो अध्ययनले यही जोखिमलाई वैज्ञानिक रूपमा देखाएको छ ।
इसिमोडका अनुसार २०२४ अगस्ट १६ मा थामेमा आएको बाढी एउटा मात्र कारणबाट उत्पन्न भएको थिएन । करिब ४ हजार ९ सय मिटर उचाइमा भएको चट्टानी पहिरोले माथिल्लो हिमतालमा विस्थापनको ठूलो लहर सिर्जना गर्यो ।
त्यसले हिमतालको बाँध कमजोर पार्दै पानी बाहिर निस्कने अवस्था बनायो । त्यसपछि अर्को हिमतालसमेत फुट्यो र ठूलो परिमाणमा पानी तलतर्फ आयो ।
अध्ययनले यसलाई भूगर्भीय तथा भौगोलिक प्रक्रियाहरूको योग भनेको छ । अर्थात् एउटा प्राकृतिक घटना अर्को घटनाको कारण बन्दै जाँदा विपद्को आकार ठूलो भएको थियो ।
थामेमा आएको पानी पछि सामान्य नदीको बहावमा मात्र सीमित रहेन । पानीले ढुंगा, माटो र मलबा बोकेर तीव्र बहावको रूप लिएको थियोे ।
इसिमोडको अध्ययनअनुसार यस्तो ‘हाइपर–कन्सन्ट्रेटेड फ्लो’ थामे र दूधकोशी हुँदै ८० किलोमिटरसम्म पुगेको थियो । बाटोमा पानी जम्मा हुने र फेरि अवरोध फुट्ने क्रमले कटान र विनाशलाई थप बढाएको थियो ।
यसको अर्थ हुँगा खोलामा अहिले बनेको ड्याम थामेको जस्तै ठूलो जोखिम हो भन्ने होइन । दुई घटनाको प्रकृति फरक छ । तर दुवैले हिमाली जलाधारमा देखिने एउटा साझा जोखिम भने देखाउँछन्–प्राकृतिक रूपमा खोलाको बहाव रोकियो भने त्यो आफै अर्को विपद्को स्रोत बन्न सक्छ ।
हुँगा खोलामा अहिले पहिरोले बनाएको अवरोधमाथिबाट पानी बग्न थालेको छ । यही कारण स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ । पहिरोमाथिबाट पानी बगिरहेकाले अवरोध थप कमजोर हुने वा पानीको बहाव अचानक परिवर्तन हुने सम्भावनालाई बेवास्ता गर्न नमिल्ने प्रहरीले बताएको छ ।
इसिमोड र उसका साझेदारहरूले गरेको हिमतालसम्बन्धी अध्ययनले कोशी नदी बेसिनलाई हिमतालजन्य जोखिमका हिसाबले विशेष संवेदनशील देखाएको छ ।
सन् २०२० मा सार्वजनिक गरिएको सूचीअनुसार कोशी बेसिनमा मात्रै ४२ वटा सम्भावित खतरनाक हिमताल पहिचान गरिएका थिए । तीमध्ये नेपालभित्र १८ र चीनतर्फ २४ वटा रहेको अध्ययनमा उल्लेख छ ।
अध्ययनले हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदीहरू पग्लिने र पछि हट्ने क्रमले नयाँ हिमताल बन्ने तथा पुराना हिमतालको आकार बढ्ने प्रक्रिया तीव्र हुन सक्ने देखाएको छ । यस्तो परिवर्तनले हिमताल विस्फोटजन्य बाढी को जोखिम बढाउँछ ।
अर्को अध्ययनमा इसिमोडका अनुसन्धानकर्ताहरूले सन् १९७७ देखि २०१० सम्मका स्याटेलाइट तस्बिर विश्लेषण गर्दा कोशी बेसिनमा ०.२ वर्ग किलोमिटरभन्दा ठूला ४२ वटा हिमताल तीव्र रूपमा बढिरहेको पाएका थिए । ती हिमतालको निरन्तर अनुगमन आवश्यक रहेको अध्ययनको निष्कर्ष थियो । यसको असर हिमालमै सीमित रहँदैन ।
कोशीको जलाधार हिमालबाट सुरु भएर पहाड हुँदै तराईसम्म फैलिएको छ । माथिल्लो क्षेत्रमा हुने हिमताल विस्फोट, हिमपहिरो वा पहिरोले खोलाको बहावमा ल्याउने परिवर्तन तलका नदी र बस्तीका लागि जोखिम बन्न सक्छ ।
यही कारण वैज्ञानिकहरूले हिमपहिरो, कटान, बाढी र मलवाको बहावलाई अलग–अलग घटना नभई जोडिएका जोखिम का रूपमा हेर्नुपर्ने बताउँदै आएका छन् । कोशीका पहाडी जिल्लामा पछिल्ला वर्षहरूमा देखिएका बाढीपहिरोका घटना पनि यही ठूलो जोखिमको अर्को पाटो हुन् ।
गत वर्ष पाँचथर र इलाममा बाढी तथा पहिरोले सडक, पुल, विद्युत् संरचना र बस्ती प्रभावित भए ।
वर्षा बढ्दा पहाडी भूभागको कमजोर जमिनमा पहिरो जाने र खोलाको बहाव बढ्ने भैरहेको छ । इसिमोडको थामे अध्ययनले जोखिम घटाउन पूर्वसूचना, निरन्तर निगरानी र जोखिमयुक्त क्षेत्रमा पूर्वतयारीलाई महत्वपूर्ण मानेको छ ।
अध्ययनले थामेको माथिल्लो क्षेत्रमा भविष्यमा पनि हिमपहिरो र हिमतालसँग सम्बन्धित जोखिम रहन सक्ने औंल्याएको छ । तर, कोशी जलाधारमा अहिलेसम्म भरपर्दो पुर्व सूचना प्रणाली जडान भएको छैन ।
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved