Biratnagar, Morang, Nepal
७ मंसिर २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

ग्रामथानमा चुनावी बहस सुरु, अध्यक्षका आकांक्षीहरु दौडधुपमा

उद्‌घोष संवाददाता
६ मंसिर २०८३, आइतवार

विराटनगर । राजनीतिक दल र निर्वाचन आयोगबीच स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका विषयमा शुक्रबार लामो छलफल चल्नुअघि नै मोरङको ग्रामथान गाउँपालिकामा भने चुनावी चर्चा सुरु भइसकेको छ । 

२०८१ मंसिरमा उपनिर्वाचन भएको ग्रामथानमा निर्धारित कार्यकाल पूरा नहुँदै पुनः निर्वाचन हुने भएपछि राजनीतिक दलका नेता, सम्भावित उम्मेदवार र मतदाताबीच चुनावी बहस चर्किन थालेको हो ।

दशैँ, तिहार हुँदै छठ पर्व सकिएसँगै गाउँका चोक, बजार र चियापसलमा निर्वाचनको चर्चा हुन थालेको छ । झोराहाट बजारका मोटरसाइकल ग्यारेज सञ्चालक सञ्जय चौधरीका अनुसार पछिल्लो समय गाउँमा भेटिने अधिकांश मानिसबीच चुनावी चर्चा हुने गरेको छ । 

‘कुन दलले जित्ला, कसलाई उम्मेदवार बनाउलान् भन्ने कुरा चोकचौराहमा सुनिन थालेको छ,’ उनले भने ।

ग्रामथानमा २०८१ मंसिरमा भएको उपनिर्वाचनले पनि आगामी निर्वाचनलाई थप चासोको विषय बनाएको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित जयप्रकाश गच्छदारको २०८१ असारमा निधन भएपछि उपनिर्वाचन भएको थियो । 

उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नमोनारायण माझी निर्वाचित भएका थिए । 

माझी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । पछि दल परिवर्तन गरेर उनले गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू नै आफ्ना उम्मेदवारलाई जिताउन काठमाडौं छाडेर ग्रामथान पुगेका थिए । त्यसबेला राष्ट्रिय राजनीतिको समेत ध्यान तानेको ग्रामथानमा अब हुने निर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाउने संकेत देखिएको छ ।

आगामी निर्वाचनमा तत्कालीन माओवादी केन्द्र नेकपामा परिणत भइसकेको छ । अध्यक्ष नमोनारायण माझीलाई पुनः उम्मेदवार बनाउने सम्भावना कम रहेको चर्चा भइरहेका बेला प्रदेशसभाका पूर्वसांसद तथा पूर्वराज्यमन्त्री विजय विश्वास अध्यक्ष पदका लागि तयारीमा जुटेको बताइन्छ । यसले नेकपाभित्रै उम्मेदवारको विषयलाई चासोपूर्ण बनाएको छ ।

२०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेको नेकपा एमालेले २०७९ मा उपाध्यक्षसहित कार्यपालिकामा बहुमत सदस्य जितेको थियो । यही आधारमा एमालेले आगामी निर्वाचनमा पनि आफ्नो जित दोहोरिने दाबी गर्दै आएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ग्रामथानमा चुनावी गतिविधि बढाएको छ । पार्टीका संघीय सांसद सन्तोष राजवंशी पछिल्लो समय गाउँमै पुगेर कार्यकर्तासँग भेटघाटमा व्यस्त देखिन्छन् । 

रास्वपाको ‘क्यान्डिडेट क्लब’मा अध्यक्ष पदका लागि नाम दर्ता गराएका १० जनामध्येका तुलसी विश्वास भने यसपटक परिवर्तनको पक्षमा जनमत रहेको दाबी गर्छन् । उम्मेदवार जो भए पनि घण्टी चुनाव चिह्नले जित्ने उनको दाबी छ ।

नेपाली कांग्रेसले भने २०८१ को उपनिर्वाचनमा तत्कालीन अध्यक्षको निधनपछि उत्पन्न सहानुभूतिको मत आगामी निर्वाचनमा आफ्नो पक्षमा आउने दाबी गर्दै आएको छ । 

कांग्रेस ग्रामथानका पूर्वकार्यवाहक सभापति राजेशकुमार माझी भने निर्वाचनमा दलभन्दा उम्मेदवारको व्यक्तिगत छवि र जनतासँगको सम्बन्ध निर्णायक हुने बताउँछन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसभित्रको आन्तरिक समस्याका कारण पराजय भोग्नुपरेको उनको विश्लेषण छ । यसपटक गाउँलेले आफ्नै ठाउँको समस्या बुझ्ने र जनताको सेवामा खटिन सक्ने उम्मेदवार खोज्ने उनको भनाइ छ ।

ग्रामथानमा चुनावी सरगर्मी बढ्दै जाँदा दलहरूबीच उम्मेदवारको जोडघटाउ सुरु भएको छ । तर, यसपटक मतदाताले दलको चुनाव चिह्नलाई प्राथमिकता दिन्छन् वा स्थानीय स्तरमा लोकप्रिय र जनतासँग जोडिएका व्यक्तिलाई रोज्छन् भन्ने प्रश्नको उत्तर भने निर्वाचन नजिकिँदै जाँदा मात्रै स्पष्ट हुनेछ ।

View : 41

७ मंसिर २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved