Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्रीमा केशर कुमार बस्नेतको दाबेदारी

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश सहमहामन्त्री पदमा विराटनगरका केशर कुमार बस्नेतले आफ्नो दाबी रहेको बताएका छन् । पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आएको बताउँदै उनले कांग्रेसको संगठन सुदृढीकरण र कार्यकर्ताको उचित मूल्यांकन र पार्टीभित्र एकता कायम गर्ने एजेन्डासहित सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको बताए ।

२०४२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बस्नेतले २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघको तर्फबाट संयोजकको भूमिका निर्वाह गर्दै आन्दोलनको नेतृत्व गरेका थिए ।

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी हुँदै राजनीतिक यात्रा सुरु गरेका उनले प्रजातन्त्र स्थापनापछि पनि पार्टी संगठनका विभिन्न तहमा रहेर काम गर्दै आएको बताए ।

नेपाल विद्यार्थी संघको नगर कमिटीको तदर्थ समितिबाट राजनीतिक जिम्मेवारी सुरु गरेका बस्नेत वडा र जिल्ला तह हुँदै पटक–पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट कोशी प्रदेश कार्यसमितिमा निर्वाचित भएका उनी हाल प्रदेश कार्यसमितिको कार्यसम्पादन समिति सदस्य तथा स्वास्थ्य विभाग प्रमुख रहेका छन् । बस्नेत मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

प्रदेशको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा रहँदा विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्न तथा सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न पहल गरेको बस्नेतले बताए ।

झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै अस्पतालको सेवा प्रवाह, औषधिको उपलब्धता र स्वास्थ्य सेवाको अवस्थाबारे अन्तरक्रिया गरिएको उनले बताए ।

आफ्नो उम्मेदवारी पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने उद्देश्यले आएको उल्लेख गर्दै बस्नेतले कार्यकर्ताको योगदानको उचित मूल्यांकन गरी उनीहरूलाई जिम्मेवारी र अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । 

पार्टीलाई स्थानीय तहदेखि जिल्ला र प्रदेशसम्म समन्वयात्मक रूपमा अघि बढाउने, नेतृत्वलाई जिम्मेवार र जवाफदेही बनाउने तथा गलत निर्णयबाट पार्टीलाई जोगाउने आफ्नो प्राथमिकता रहेको उनले उल्लेख गरे ।

आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै विगतमा विभिन्न तहमा पराजित भएका नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्नुपर्ने उनको धारणा छ ।

पार्टीभित्र एकता कायम गर्दै विगतका गल्ती र कमजोरीबाट पाठ सिक्न सके मात्रै जनताको विश्वास जित्न र निर्वाचनमा बलियो परिणाम हासिल गर्न सकिने उनले बताए ।

१४ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्क र सहकार्यमा रहेकाले आफ्नो राजनीतिक योगदानको उचित मूल्यांकन हुने विश्वास व्यक्त गर्दै बस्नेतले सहमहामन्त्री पदमा आफूलाई निर्वाचित गराइदिन आग्रह गरेका छन् ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved