weather.com
विराटनगर । धान पाकेर भित्र्याउने समय, त्यसमाथि वर्षाको पूर्वानुमान । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को सम्भावित प्रभावले कोशी प्रदेशमा धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई समयमै बाली सुरक्षित गर्नुपर्ने दबाब बढाएको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिदेखि नेपालमा मौसम प्रभावित हुन सक्ने र शुक्रबार तथा शनिबार कोशीसहितका प्रदेशमा वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सरकारी निकायले धान काट्ने र भित्र्याउने काम समयमै सक्न आग्रह गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ गते बिहीबारअघि नै कृषि कार्य पूरा गर्न अनुरोध गरेको छ ।
कोशीका किसानका लागि चिन्ताको विषय वर्षा हुने सम्भावना मात्रै होइन, पाकेको धान काट्ने, खेतबाट उठाउने र सुरक्षित ठाउँमा सुकाउने कामका लागि उपलब्ध समय पनि हो ।
वर्षा सुरु हुनुअघि बाली भित्र्याउन नसके खेतमा पाकेको धानदेखि काटेर सुकाउन राखिएको धानसम्म प्रभावित हुन सक्छ ।
चक्रवातको प्रभावलाई ध्यानमा राखेर मोरङ, झापा, सुनसरी, धनकुटासहित कोशीका सबैजसो जिल्ला प्रशासन कार्यालयले कात्तिक १२ देखि १४ गतेसम्म सतर्क रहन आग्रह गरेका छन् ।
तराईका जिल्ला प्रशासनले धान काट्ने तथा भित्र्याउने काम नगर्न र नगराउन अनुरोध गर्नुका साथै अत्यावश्यकबाहेक यात्रा नगर्न भनेका छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विभागको विशेष बुलेटिनका आधारमा यस्तो आग्रह गरिएको प्रशासनले जनाएको छ ।
चक्रवात अर्नब भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेपछि कमजोर हुँदै गएको विवरण सार्वजनिक भएका छन् ।
भारतमा प्रवेश गर्दा यसको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र हावाको झोक्का १५० किलोमिटरसम्म पुगेको थियो ।
यसको बाहिरी वायुमण्डलीय प्रभाव र माथिल्लो वायुमण्डलको प्रणालीसँगको अन्तरक्रियाले नेपालमा वर्षा गराउन सक्ने मौसमविद्हरूको आकलन छ ।
विभागको पूर्वानुमानअनुसार शुक्रबार र शनिबार कोशीका धेरै स्थानमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ । यस अवधिमा चट्याङ र हावाहुरीको जोखिमसमेत रहेकाले कृषि कार्य जोखिमपूर्ण हुने प्राधिकरणको भनाइ छ ।
मौसम प्रतिकूल हुने पूर्वानुमानले धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई पनि असर पार्न सक्छ ।
पाकेको धान खेतमै रहेको अवस्थामा वर्षा भए कटान प्रभावित हुन सक्छ ।
काटेर खेतमा राखिएको धान भिजेमा गुणस्तरमा असर पर्ने र हावाहुरीले बाली ढलाउने जोखिम रहन्छ ।
कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भए पदमार्ग र सडक अवरुद्ध हुन सक्छन् ।
हिमआँधीका कारण दृश्यता घट्ने र हिमपहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले पदयात्री तथा पर्यटकले मौसमको पछिल्लो जानकारी नलिई यात्रा नगर्न जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् ।
चट्याङ परेको समयमा खुला मैदान, अग्ला रुख तथा बिजुलीका खम्बा आसपास बस्न नहुने र हावाहुरीका बेला कमजोर संरचनाबाट टाढा रहनुपर्ने प्राधिकरणले जनाएको छ ।
स्थानीय तह र सुरक्षा निकायले जोखिममा रहेका बस्तीमा सूचना पु¥याउने तथा आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्ने हुन्छ ।
मौसमसम्बन्धी आधिकारिक सूचना नियमित पछ्याउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।
मौसमसम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५, विपद् सहायता नम्बर १२३४ र प्रहरी सहायता नम्बर १०० मा सम्पर्क गर्न सकिने प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ ।
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved