Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

परिवारले काजकिरिया गरिसकेका पदमबहादुर छ महिनापछि घरमा टुप्लुक्क !

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार परिवारले पदमबहादुर जीवितै रहेको पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडियोको अध्ययन थालेको छ ।
उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । मोरङको लेटाङका पदमबहादुर राई ६ महिनापछि घर फर्किएपछि प्रहरीले एउटा पुरानो दुर्घटनाको फाइल फेरि खोल्नुपर्ने भएको छ । 

गत जेठमा मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका ३७ वर्षीय पदमबहादुर जीवितै भेटिएका छन् । त्यसबेला उनको शव ठानेर दाहसंस्कार गरिएको व्यक्ति को थिए भन्ने प्रश्नको जवाफ भने अझै भेटिएको छैन । 

लेटाङ नगरपालिका–५ खेरुवाका पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले अन्त्येष्टि गरेको थियो ।

मृत्युका आधारमा दुर्घटना बीमाको ५ लाख ५० हजार रुपैयाँसमेत प्राप्त भएको थियो । तर, घटनाको छ महिनापछि  पदमबहादुर घर फर्किएपछि शवको पहिचानदेखि बीमा भुक्तानीसम्मका विषय पुनः परीक्षण गर्नुपर्ने भएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार परिवारले पदमबहादुर जीवितै रहेको पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडियोको अध्ययन थालेको छ ।

‘उहाँ जीवितै फर्किएको कुरा परिवारले पुष्टि गर्नुभएपछि हामी फोटो–भिडियो हेरेर पुनः अनुसन्धानमा जुटेका छौँ,’ कटुवालले सेतोपाटीसँग भने ‘कहिलेकाहीँ परिवारले सनाखतका क्रममा आफ्नै मान्छे हो भनिदिँदा यस्तो हुन्छ । उहाँहरूले बीमाबापतको ५ लाख ५० हजार बुझ्नुभएको थियो । त्यो फिर्ता गर्ने भन्नुभएको छ। उहाँहरूले हामीलाई राम्रोसँग समन्वय गरिरहनुभएको छ ।’ 

प्रहरीको अनुसन्धान अब दुईवटा प्रश्नमा केन्द्रित हुने उनले जानकारी दिए । त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले त्यसलाई पदमबहादुरकै शव कसरी ठहर गर्‍यो ? 

यो घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा भएको  थियो । प्रहरीका अनुसार २०८३ जेठ २६ गते बिहान करिब साढे ८ बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनलाई बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगियो ।  उपचारकै क्रममा मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनापछि पदमबहादुरकी आमा अस्पताल पुगिन् । उनले शव आफ्नै छोराको भएको बताइन् । प्रहरीले सनाखतका आधारमा आवश्यक प्रक्रिया पूरा गरेपछि शव परिवारलाई बुझायो। परिवारले जेठ २७ गते उनको अन्त्येष्टि गर्‍यो ।

त्यसपछि परिवारले पदमबहादुरको मृत्यु भएको ठानेर शोक र अन्त्येष्टिसँग सम्बन्धित प्रक्रिया पूरा गरिसकेको थियो। अहिले उनी जीवितै फर्किएपछि त्यसबेला अस्पतालमा मृत्यु भएका व्यक्तिको पहिचान खुलाउनु आवश्यक भएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका  अनुसार पदमबहादुर २०८२ माघदेखि घरबाहिर थिए । उनी घर छाडेर हिँड्ने गरेको विवरण प्रहरीले परिवारबाट पाएको छ ।

विवाहपछि श्रीमती अलग्गिएको  र त्यसपछि पदमबहादुर घरमा नियमित नबस्ने गरेको बताइएको छ । उनी लामो समय घरबाहिर रहेकाले परिवारलाई उनको अवस्थाबारे जानकारी थिएन । 

यही परिस्थितिमा दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव देखेपछि आमाले आफ्नै छोराको ठानेर सनाखत गरेको हुन सक्ने प्रहरीको बुझाइ छ ।

View : 41

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved