‘विराटनगरको रथयात्रा भारतको जगन्नाथपुरीपछिको दोस्रो ठूलो रथयात्रा हो ।’
‘विराटनगरको रथयात्रा नेपालको मात्र नभएर दक्षिण एशियाकै प्रसिद्ध रथोत्सव हो ।’
‘विराटनगरको राधाकृष्णको रथयात्रा विश्वमै चर्चित रथयात्रा हो ।’
‘विराटनगरको रथयात्रा....हो’, ‘विराटनगरको रथयात्रा......हो’, ‘....हो ।’
हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा सम्पन्न हुने रथयात्राको महत्व र महिमामाथि गर्व गर्ने नगरवासी र भक्त भागवतहरूका कलम वा वाणीबाट यस्ता भनाइहरू विगत केही वर्ष यता अलि बाक्लै रूपमा व्यक्त हुनेगरेको देखिन्छ ।
म आफू पनि रथयात्रा निकालिने राधाकृष्ण मन्दिर वरपरकै वासिन्दा भएको अनि विगत पाँच दशकभन्दा वढी समयदेखि यो महोत्सवलाई निरन्तर साक्षात्कार गर्ने अवसर पाउने व्यक्ति भएकाले विराटनगरका बुद्धिजीवी, अग्रज र लेखकहरूका यस्ता भनाइहरू उद्धृत गर्दै मैले पनि आफ्नो नगरको रथोत्सवलाई वडो फूर्तिसाथ अन्तर्राष्ट्रिय महत्वको उत्सव भनी व्यक्त गर्ने गरेको छु ।
गत, वर्षको भाद्र महिनामा उद्घोष दैनिकका सम्पादक विजयहरि खतिवडाले मसँग आग्रह गर्दै भन्नुभो ‘रथयात्रा उत्सव आउँदैछ, यस संवन्धी एउटा राम्रो लेख तयार गर्नुन, हाम्रा पत्रिकाका लागि, तपाइँको लेखचैँ अघिल्ला लेख जस्तै तथ्यमा आधारित हुनुपर्छ है ।’
उहाँको आग्रहसँगै मनमा लेखको शीर्षक तयार भैगयो ‘विराटनगरको रथयात्रा संसारकै सनातनीका लागि जगन्नाथपुरीपछिको सबैभन्दा ठूलो रथोत्सव ।’
यो शीर्षकको मेरो लेखले पूर्णता त,पायो, आफ्नो सहरमा हुनेगरेको रथयात्राको महत्वबारे प्रशस्तै फुल्का जोड्ने काम पनि गरियो ।
तर विजयहरीले भन्नुभएझैँ रथयात्रा संबन्धी उक्त सामग्रीलाई तथ्यमा आधारित भने वनाउन सकिरहेको थिइनँ।
अन्य स्थानको रथयात्रामा नपाइने के त्यस्ता विशिष्टता हाम्रो यहाँको रथयात्रामा पाइने रहेछ ?
के कस्ता कुरालाई के कति अंकभार वा महत्व दिएर हाम्रो यो उत्सवलाई यसरी अन्तर्राष्ट्रिय महत्वको भनिएकोे रहेछ ?
विराटनगरका वासिन्दा वा स्थानीय समुदायभन्दा बाहिरका क–कसले कहिले–कहिले हाम्रो यो सम्पदाको खुलेर प्रशंसा गरेका रहेछन् ?
छिमेकमा रहेको सनातन हिन्दु सभ्यताको यति विशाल मुलुक भारतबाट कुन–कुन वर्षमा केकति संख्यामा केकस्ता व्यक्तित्वलार्ई बोलाएर हाम्रो विराटनगरको रथयात्रा अवलोकन गराइएको रहेछ अनि उनीहरुले क–ेकस्तो शब्दमा हाम्रो यो उत्सवको महिमागान गरेका रहेछन् ?
आदिजस्ता जिज्ञासाको जवाफ खोज्न र आफ्नो लेखको शीर्षकलाई विजयहरिले भनेजस्तै वढीभन्दा वढी तथ्यपरक बनाउन रथयात्राबारे लेखिएका बीस पच्चीसभन्दा ज्यादा लेखकका फुट्कर लेखहरू र विराटनगर नगरपालिकाले प्रकाशन गरेका रथयात्रा विशेषांकजस्ता विेशष प्रकाशनहरू पनि अध्ययन गरियो ।
विराटनगरका लेखक, साहित्यकार, बुद्धिजीवी, समाजसेवी सबैजसोका लेखमा रथयात्राको महिमागनसँग संबन्धित माथि उल्लेखित वाक्यहरू उल्लेख गर्न कसैले पनि भरिसक्ये छुटाएका रहेनछन् ।
कसैले एशियाकै ठूलो भनेका रहेछन् , अरुले त, संसारकै चर्चित रथयात्रा भन्न पनि बाँकी राखेका रहेनछन् , तर ती भनाइलाई पुष्टी गर्ने आधार भने कसैका लेखमा पनि व्यक्त भएको पाइएन ।
यसरी मैले आफ्नो लेखलाई तथ्यमा आधारित लेखको स्वरूप प्रदान गर्ने प्रयत्न गर्दा गर्दै २०८२ को रथयात्राको सन्दर्भ पनि सकियो ।
त्यसपछिका दिनमा पनि यी जिज्ञासाको जवाफ खोज्ने क्रममा विराटनगरका पुराना पुस्ताका लेखक, पत्रकार अनि रथयात्रालाई सबैभन्दा नजिकबाट नियाल्ने सात आठ दशक उमेर पुगिसकेका अग्रजहरूदेखि रथ सारथिको भूमिका निर्वाह गरिसकेका केही व्यक्तित्वसँग सोधपूछ गर्ने प्रयास पनि जारी नै राखियो,
तर कसैले पनि उक्त विशेषण कुन मापदण्डका आधारमा राखिएको हो अनि हामी आफू (विराटनगरे) बाहेक अरु क–कसले हाम्रो रथयात्राका बारेमा उल्लेख गरेका रहेछन् भन्ने कुराको चित्तबुझ्दो जवाफ वा अभिलेख कतैबाट पनि प्राप्त हुन सकेन ।
भनिन्छ , आफूले मेहनत गरेर आफ्नै फूलबारीमा हुर्काएको फूल हरेक मालीलाई उच्च कोटीको लाग्ने गर्छ । तर वरपरका फूल पारखीहरूले पनि त्यसलाई राम्रो सुन्दर र सुवासिलो भनेर चर्चा गरिदिएमा मात्र सो फूल उक्त विशेषण प्राप्त गर्न लायक बन्दछ ।
हाम्रो रथयात्राको महिमागानसँग सम्बन्धित माथि उल्लिखित हरफहरू हामीले केही वर्ष अघिदेखि निरन्तर पढिआएका छौं ।
हाम्रो रथयात्राले प्राप्तगरेको यस किसिमको उपमा र सकारात्मक चर्चाले विराटनगरलाई धार्मिक एवं सांस्कृतिक महत्वको शहरका रूपमा आलोकित पार्ने काम राम्रोसँग गरेको छ । तर हामीलाई मीठा र स्वादिला लाग्ने यी कुराहरू हामी विराटनगरवासीभन्दा बाहिरका वा छिमेकी राष्ट्रका कुन व्यक्तित्वले कहाँनेर कुन प्रसङ्गमा भनेको वा लेखेका हुन् भनी त्यस्तो सन्दर्भ सामग्री वा स्रोत पनि फेला पार्न सकिएमा हाम्रो रथयात्राको महत्वले अझ बढी उचाइ प्राप्त गर्न सक्ने थियो कि ?
माथि उल्लेखित हरफहरू हामी आफैले आफैमाथि लेपन गरेका आफूलाई मनपर्ने विशेषण मात्र हुन् कि हामी बाहेकका अरु पनि कसैले भनिदिएका कुरा हुन् ?
हामी आफैले त आफ्नो सांस्कृतिक धरोहरलाई एशियाकै मात्र नभएर विश्वकै उत्कृष्ट पनि भनौला ।
आफूले मात्र आफ्ना चिजवस्तुको वखान गरेर पुग्ला त ? योे रथयात्राको महिमागान हामी आफूदेखि बाहेक अरु पनि कसैले गरिदिनु पर्छ कि पर्दैन ?
रथोत्सवसँग सम्बन्धित छिमेकी राष्ट्रका व्यक्तित्वहरू कसैले आजसम्म विराटनगर आएर हाम्रो रथयात्राको अवलोकन गरी यो उत्सवको चर्चा कहीँ कतै गरिदिएका छन् कि छैनन् ?
यस्ता महोत्सवलाई नजिकबाट देख्न पाउँदा सनातन हिन्दु संस्कृतिको संवद्र्धनमा ठूलो टेवा पुगेको अनुभूतिले गद्गद् हुने भारतकै विभिन्न भूभागका सन्त महन्त वा दिग्गज व्यक्तित्वहरूले पनि विराटनगरमा आएर प्रत्यक्ष रूपमा नियाल्ने र यसको महिमागानमा केही शब्द खर्चिने काम आजसम्म गरेका छन् की छैनन् ?
यति भव्य रथयात्रालाई अन्तर्राष्ट्रिय महत्वको उत्सवको स्वरूप प्रदान गर्ने हो भने हामीले यो महोत्सवको दर्शन गराउन छिमेकी राष्ट्रहरूबाट धार्मिक आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरूलाई विराटनगरमा अतिथिको रूपमा आमान्त्रण गर्नु पर्छ कि पर्दैन ?
रथोत्सवलाई यस नगरको झण्डै शताब्दी लामो धार्मिक सांस्कृतिक पर्व भन्दै गौरव गर्ने नगर सरकार अथवा मेरो प्रदेशको महान् उत्सव भनी ठूलो छाती पार्ने प्रदेश सरकारजस्ता निकायको ध्यान त्यसतर्फ जान सकोस् ।
अनि भारतका रथोत्सव भैरहने शहरहरूबाट पनि धार्मिक क्षेत्रका केही व्यक्तित्वलाई निमन्त्रणा गरी यो उत्सवको अवलोकन गराउने काममा थोरै सुकामोहर खर्च गर्न सके हाम्रो रथयात्रालाई एशियाकै दोस्रो वा जे जे विशेषण थपे पनि त्यसलाई पुष्टि गर्ने आधार अझ दरिलो, भरपर्दाे र फराकिलो बन्न सक्ने थियो कि ?
agokul24@gmail.com
View : 18
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved