सांकेतिक तस्वीर ।
विराटनगर । राति १० बजेपछि अधिकांश व्यावसायिक गतिविधि रोकिने विराटनगरमा अब मध्यरातपछि पनि कारोबार गर्न सकिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले व्यवसायको प्रकृतिअनुसार राति १२ देखि २ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि लामो समयदेखि चल्दै आएको रात्रिकालीन व्यवसायसम्बन्धी विवाद समाधान हुने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्थाले विराटनगरको व्यापारिक गतिविधिलाई रातिसम्म विस्तार गर्ने बाटो खोलेको निजी क्षेत्रको बुझाइ छ । राति अबेरसम्म आइपुग्ने यात्रु, सीमापारिबाट आउने ग्राहक र मनोरञ्जनका लागि बाहिर निस्कने उपभोक्तालाई सेवा दिन व्यवसायीले अब १० बजेपछि पनि कारोबार गर्न सक्नेछन् ।
यसबाट होटल, रेस्टुरेन्ट तथा मनोरञ्जन व्यवसायको कारोबार बढ्ने र त्यससँग जोडिएका अन्य आर्थिक गतिविधिले समेत लाभ पाउने अपेक्षा निजी क्षेत्रका अगुवाहरुको छ ।
जिल्ला प्रशासन कार्यालयले ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै अतिरिक्त समय व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमति प्रक्रिया अघि बढाएको हो ।
मापदण्डअनुसार सुरक्षा, पूर्वाधार र व्यवस्थापनका सर्त पूरा गर्ने व्यवसायले मात्रै राति १० बजेपछि कारोबार गर्न पाउनेछन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार अनुमति लिन चाहने व्यवसायीले सम्बन्धित वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासनमा निवेदन दिनु पर्नेछ ।
निवेदन परेपछि अनुगमन समितिले व्यवसायस्थलको अवस्था जाँच गर्नेछ ।
मापदण्ड पूरा भएको पाइएमा मात्रै थप समय सञ्चालनको अनुमति दिइनेछ । प्रशासनले मंगलबारदेखि निवेदन लिन थालेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत मोरङ प्रशासनको नयाँ कदमले विराटनगरको अर्थतन्त्रलाई चलायमान तुल्याउन सहयोग गर्ने सम्भावना रहेको तर यसको कार्यान्वयनका क्रममा गरिने अनुगमन र मापदण्ड पालनामा अपनाइने सावधानी मुख्य पाटो हुने बताउँछन् ।
राति अबेरसम्म विराटनगरमा विमान सेवा छ, भारतीय ग्राहक पनि आउँछन् यो दृष्टिले हेर्दा नयाँ कदमले स्थानीय अर्थतन्त्रलाई टेवा दिनसक्छ उनले भने, तर, चुनौतीपूर्ण अर्को पक्ष पनि छ । त्यो के भने, विराटनगरमा रेस्टुरेन्ट र होटेलहरु आवासीय क्षेत्रमा छन् ।
तिनले रात्रीकालीन सेवा दिदा स्थानीय समुदायको दैनिकी विथोल्ने सम्भावना कति हुन्छ, मापदण्ड पालना कस्तो हुन्छ, अनुगमन संयन्त्रले कति कसिलो काम गर्लान् भन्ने कुराले यो निर्णयको सफलता–असफलता निर्धारण गर्नेछ ।
प्रशासनको नयाँ व्यवस्थाले सबै व्यवसायलाई एउटै समय दिएको छैन ।
सामान्य व्यापारिक तथा खानपानका व्यवसायले अनुमति पाए राति १२ बजेसम्म र मनोरञ्जनसँग सम्बन्धित केही व्यवसायले राति २ बजेसम्म सेवा दिन सक्नेछन् ।
पान पसल, मिठाई पसल, चिया तथा आइसक्रिम पसल, किराना, खाना र खाजा पसल तथा रेस्टुरेन्टलाई मध्यरातसम्म सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । दोहोरी र गजलसम्बन्धी व्यवसाय पनि यही समयसीमाभित्र रहनेछन् ।
पब, डिस्को, डान्स क्लब, लाउन्ज बार र लाइभ म्युजिक हुने स्थानलाई भने राति २ बजेसम्म सञ्चालन गर्न अनुमति दिन सकिनेछ ।
राति १० बजेसम्म व्यवसाय चलाउन छुट्टै स्वीकृति आवश्यक पर्दैन । त्यसपछि थप समय कारोबार गर्न प्रशासनको अनुमति लिनु पर्नेछ ।
विराटनगरमा राति कति बजेसम्म व्यवसाय सञ्चालन गर्न दिने भन्ने विषयमा प्रशासन र निजी क्षेत्रबीच लामो समयदेखि मतभिन्नता रहँदै आएको थियो ।
प्रशासनले शान्ति सुरक्षा र रातिको गतिविधि व्यवस्थापनलाई प्राथमिकता दिँदै समयसीमा तोक्ने गरेको थियो । व्यवसायी भने सहरको आवागमन र व्यापारको प्रकृतिअनुसार कारोबारको समय निर्धारण हुनुपर्ने पक्षमा थिए ।
यो मतभेद कात्तिक १६ मा फेरि सतहमा आएको थियो । जिल्ला प्रशासनले होटल व्यवसायीलाई राति १० बजेभित्र प्रवेशद्वार बन्द गर्न र साढे १० बजेसम्म ग्राहकलाई बाहिर पठाइसक्न निर्देशन दिएपछि व्यवसायीले विरोध जनाएका थिए ।
व्यवसायीका अनुसार विराटनगरमा राति १० बजेपछि पनि यात्रु र ग्राहकको आवागमन रोकिन्न ।
विमानस्थलबाट आउने–जाने यात्रु, लामो दूरीको यात्रामा रहेका व्यक्ति तथा सीमावर्ती भारतीय सहरबाट आउने ग्राहकलाई रातिको समयमा समेत होटल र रेस्टुरेन्टको सेवा आवश्यक पर्छ । यस्तो अवस्थामा सबै व्यवसायलाई एउटै समयसीमा लगाउँदा कारोबार प्रभावित हुने उनीहरूको तर्क थियो ।
राति १० बजेपछि होटल तथा रेस्टुरेन्ट बन्द गराउने प्रशासनको निर्देशनप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि असन्तुष्टि जनाएका थिए ।
सुरक्षा व्यवस्थापनका नाममा व्यवसाय बन्द गराउनुभन्दा राज्यले चौबीसै घण्टा सुरक्षा दिनुपर्ने उनको धारणा थियो ।
यसरी व्यवसाय सञ्चालनको समयलाई लिएर उठेको विवादमा एकातिर सुरक्षा र अनुशासनको प्रश्न थियो भने अर्कोतिर व्यापारिक गतिविधि विस्तार गर्नुपर्ने निजी क्षेत्रको माग । नयाँ मापदण्डले यी दुवै पक्षलाई समेटेर निश्चित सर्तसहित थप समय कारोबार गर्न पाउने व्यवस्था गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्षसमेत रहेका विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ नयाँ व्यवस्थाले व्यवसायीको लामो समयदेखिको माग सम्बोधन गर्ने अपेक्षा व्यक्त गर्छन् ।
उनका अनुसार देशका विभिन्न ठाउँबाट आउने यात्रु र भारतबाट विराटनगर भित्रिने मानिसलाई राति १० बजेपछि सेवा पाउन कठिन हुने गरेको थियो ।
राति १० बजेपछि सहरका होटल तथा रेस्टुरेन्ट बन्द हुँदा यात्रु र ग्राहकले भोग्नुपर्ने असुविधा हट्ने र व्यवसायले पनि आफ्नो सेवा विस्तार गर्न पाउने श्रेष्ठको अपेक्षा छ ।
अब कारोबारको समय बढाउन प्रशासनसँग पटक–पटक आग्रह गरिरहनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ ।
निजी क्षेत्रले यो व्यवस्थालाई केवल होटल तथा रेस्टुरेन्टको समय बढाउने निर्णयका रूपमा मात्रै हेरेको छैन ।
रातिको समयमा पनि सहरमा आर्थिक गतिविधि चलायमान हुँदा खानपान, आवास, मनोरञ्जन र यातायातसँग जोडिएका व्यवसायले कारोबार गर्ने अवसर पाउने उनीहरूको अपेक्षा छ । यद्यपि त्यसको वास्तविक प्रभाव भने अनुमति पाएका व्यवसाय सञ्चालनमा आएपछि देखिनेछ ।
व्यवसाय सञ्चालनको समय बढाइए पनि मदिरा बिक्री र सेवनमा भने छुट्टै समयसीमा तोकिएको छ । मदिरा बिक्री गर्ने पसल बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै खोल्न पाइनेछ ।
होटल तथा मनोरञ्जनस्थलमा दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गर्न पाइने छैन ।
शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री तथा सेवन निषेध गरिएको छ । त्यसैले पब, डिस्को वा लाउन्ज बार राति २ बजेसम्म खुला रहे पनि मदिरासम्बन्धी कारोबार र सेवन तोकिएको समयभित्रै सीमित हुनुपर्नेछ ।
रात्रिकालीन व्यवसायको अनुमति पाउन सञ्चालकले सुरक्षा व्यवस्थालाई पनि मापदण्डअनुसार तयार गर्नुपर्नेछ ।
व्यवसाय परिसर र त्यसको वरपर कम्तीमा १०० मिटरसम्म पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्नेछ ।
प्रवेशद्वार र सडक क्षेत्र देखिने गरी सीसीटीभी राख्नुपर्ने तथा त्यसबाट प्राप्त दृश्य कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।
रातिको समयमा आवाज बाहिर नफैलियोस् भनेर ध्वनि नियन्त्रण गर्ने संरचना बनाउनुपर्नेछ । आगलागी नियन्त्रणका उपकरण, आपत्कालीन अवस्थामा बाहिर निस्कने बाटो र पर्याप्त पार्किङको व्यवस्था पनि अनिवार्य गरिएको छ ।
राति १० बजेपछि घरबाहिर निस्कने ग्राहकले आफ्नो परिचय खुल्ने कागजात साथमा राख्नुपर्नेछ । सुरक्षाकर्मीले मागेको अवस्थामा त्यस्तो कागजात देखाउनुपर्ने व्यवस्था मापदण्डमा छ ।
होटलमा बस्ने नेपाली तथा विदेशी पाहुनाको परिचयपत्र र राहदानीको विवरण पनि व्यवस्थित रूपमा राख्नुपर्नेछ ।
मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने जिम्मेवारी व्यवसाय सञ्चालकको हुनेछ । त्यसका लागि होटल तथा रेस्टुरेन्टले आवश्यक परे अतिरिक्त शुल्क लिएर सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ ।
मापदण्डले ग्राहकको सुरक्षा मात्र होइन, रात्रिकालीन सेवामा खटिने कर्मचारीको अधिकार र सुविधालाई समेत समेटेको छ ।
व्यवसायीले कर्मचारीलाई नियुक्तिपत्र दिनुपर्ने, न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने र अतिरिक्त समय काम गरेबापतको सुविधा दिनुपर्नेछ ।
कर्मचारीको जोखिम बिमा गर्नुपर्ने र तलब बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था पनि छ ।
राति काम गर्ने कर्मचारीलाई घरबाट कार्यस्थलसम्म ल्याउने र काम सकिएपछि पु¥याउने यातायातको प्रबन्ध व्यवसायीले नै गर्नुपर्नेछ ।
उनीहरूका लागि खानाको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । महिला कर्मचारीका लागि सुरक्षित रूपमा पोसाक परिवर्तन गर्न मिल्ने कोठा र स्तनपान कक्ष बनाउनु पर्नेछ ।
कामको समयमा कर्मचारीले मदिरा सेवन गर्न वा ग्राहकसँगै बसेर खानपिन गर्न पाउने छैनन् ।
पब, डिस्को, डान्स क्लब, दोहोरी र लाइभ म्युजिक हुने स्थानमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध गरिएको छ । धूमपान गर्ने ग्राहकका लागि छुट्टै स्थान बनाउनु पर्नेछ ।
स्पा, मसाज पार्लर र क्याबिन सञ्चालनमा पनि निगरानी तथा नियन्त्रणका प्रावधान राखिएका छन् ।
त्यस्ता व्यवसायका कोठाको ढोकामा भित्रबाट चुकुल वा ताल्चा लगाउन नपाइने व्यवस्था छ । स्पामा काम गर्ने व्यक्ति सम्बन्धित तालिम तथा प्रमाणपत्र प्राप्त हुनुपर्नेछ ।
मनोरञ्जनस्थलमा हुने गतिविधि मापदण्डअनुकूल राख्नु पर्नेछ । सुर्ती तथा मदिराको बिक्री र सेवनसम्बन्धी निषेधात्मक व्यवस्था पालना गर्नुपर्नेछ ।
होटलमा पौडी पोखरी सञ्चालन गरिएको भए त्यससँग सम्बन्धित सुरक्षाको प्रबन्ध र बीमा पनि आवश्यक हुनेछ । क्यासिनो सञ्चालन भने क्यासिनो नियमावली, २०८२ अनुसार हुनुपर्नेछ ।
मापदण्ड पालना भए–नभएको हेर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विराटनगर महानगरपालिका र व्यवसायीका प्रतिनिधि रहनेछन् ।
समितिले नियमित अनुगमनका साथै आवश्यकताअनुसार आकस्मिक निरीक्षण गर्न सक्नेछ ।
तोकिएका सर्त उल्लंघन गर्ने वा ध्वनि प्रदूषण गर्ने व्यवसायको रात्रिकालीन सञ्चालन अनुमति खारेज गर्न सकिने व्यवस्था छ । उल्लंघनका प्रकृतिअनुसार प्रचलित कानुनबमोजिम कारबाहीसमेत हुनेछ ।
यो मापदण्ड विराटनगर महानगरपालिकाको पूर्वमा केशलिया खोला, पश्चिममा सिङ्गिया खोला, उत्तरमा विराटनगरको स्वागत द्वार र दक्षिणमा रानी क्षेत्रसम्म लागू हुनेछ ।
गृह मन्त्रालयले जारी गरेको ‘पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि, २०७९’ लाई आधार बनाएर जिल्ला प्रशासनले स्थानीय मापदण्ड तयार गरेको हो ।
View : 60
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved