विराटनगर । कोशी नदीमा भएको पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ ।
प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा गठित समितिले दुर्घटनाको स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल तथा उपलब्ध कागजात र प्रमाणहरूको विश्लेषण गरी प्रतिवेदन तयार पारेको हो ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार समिति गठन गरिएको थियो । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रा.लि.द्वारा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटना भएपछि घटनाको वास्तविकता पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको थियो ।
समितिले तयार पारेको प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायको भूमिका र उद्धार तथा राहत व्यवस्थापनका विषय समेटिएका छन् ।
त्यस्तै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको छ ।
समितिले प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन प्रदेश सरकारसमक्ष अनुरोध गरेको छ ।
View : 31
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved