विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङको कार्यकाल सकिएको छ । तर उनको बिदाइपछि कोशी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छैनन् ।
पद रिक्त भएपछि अर्को प्रदेशका प्रदेश प्रमुखलाई जिम्मेवारी दिने अभ्याससमेत यसपटक कार्यान्वयनमा आएको छैन ।
खापुङको कार्यकाल कात्तिक २३ गतेसम्म रहेको प्रदेश प्रमुखको कार्यालय कोशीकी अधिकृत सम्पूर्ण थापाले बताइन् ।
कार्यकाल पूरा भएपछि उनी बिदा भएको र त्यसपछि प्रदेश प्रमुखको जिम्मेवारी कसैले नपाएको उनको भनाइ छ ।
‘कात्तिक २३ सम्म उहाँको कार्यकाल थियो । उहाँको सकियो । यसअघि छिमेकी प्रदेशको प्रमुखलाई जिम्मा दिने गरिन्थ्यो । यसपटक त्यो पनि दिइएको छैन । भोलि कार्यालय खुलेपछि केही होला,’ थापाले भनिन् ।
यसअघि प्रदेश प्रमुख अनुपस्थित हुँदा वा पदको जिम्मेवारी तत्काल निर्वाह गर्न नसक्ने अवस्था आउँदा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत कामकाज गर्ने जिम्मेवारी दिइने गरिएको थियो । तर खापुङको कार्यकाल सकिएपछि त्यस्तो व्यवस्था गरिएको जानकारी प्रदेश प्रमुखको कार्यालयले पाएको छैन ।
यस विषयमा राष्ट्रपतिको कार्यालयसँग पनि तत्काल स्पष्ट जवाफ छैन । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्यालयमा बिदा परेकाले यसबारे जानकारी लिन नसकिएको बताए ।
‘यो नौलो कुरा भयो, बिदा पनि थियो । भोलि कार्यालय खुलेपछि यसबारे जानकारी हुन्छ,’ उनले भने ।
संविधानले प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेशको कामकाज सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेको छ । संविधानको धारा १६३ को उपधारा (३) अनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ ।
धारा १६५ को उपधारा (१) को खण्ड (ख) ले पदावधि समाप्त भएपछि पद रिक्त हुने व्यवस्था गरेको छ ।
त्यस्तो अवस्थामा नयाँ प्रदेश प्रमुख नियुक्त नहुँदासम्म अर्को प्रदेशका प्रदेश प्रमुखलाई जिम्मेवारी दिन सकिने व्यवस्था धारा १६५ को उपधारा (२) मा छ ।
सो व्यवस्थाअनुसार राष्ट्रपतिले अर्को प्रदेशका प्रदेश प्रमुखलाई रिक्त रहेको प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्छन् ।
यसका लागि राष्ट्रपतिको औपचारिक निर्णय आवश्यक हुन्छ ।
तर कोशीमा खापुङको कार्यकाल सकिएपछि अर्को प्रदेशका प्रमुखलाई जिम्मेवारी तोकिएको सूचना सार्वजनिक भएको छैन ।
यसअघि खापुङ मलेसिया भ्रमणमा जाँदा कोशीको कार्यभार तत्कालीन मधेश प्रदेश प्रमुखलाई दिइएको थियो ।
२०८२ साउनमा भएको उक्त भ्रमणका क्रममा राष्ट्रपतिको कार्यालयले अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत कामकाज गर्ने जिम्मेवारी तोकेको थियो । त्यसबेला खापुङको पदावधि कायम नै थियो । अहिले भने उनको कार्यकाल नै पूरा भएको हो ।
प्रदेश प्रमुख प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा रहने संवैधानिक पद हो । संविधानको धारा १६६ ले प्रदेश प्रमुखका काम, कर्तव्य र अधिकार निर्धारण गरेको छ ।
प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य, प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण तथा मुख्यमन्त्री नियुक्तिसम्बन्धी प्रक्रियामा प्रदेश प्रमुखको भूमिका हुन्छ ।
त्यसैले पद रिक्त भएको अवस्थामा प्रदेशको संवैधानिक कामकारबाही कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई अस्थायी रूपमा जिम्मेवारी दिने भन्ने निर्णय राष्ट्रपतिबाट हुनुपर्नेछ ।
खापुङको कार्यकाल सकिएपछि कोशीमा प्रदेश प्रमुखको पद रिक्त भएको छ ।
तर नयाँ नियुक्ति र अर्को प्रदेशका प्रमुखलाई जिम्मेवारी दिने विषयमा राष्ट्रपतिको कार्यालयको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ ।
View : 55
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved