विराटनगर । विराटनगरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेष्टुरेन्टकी क्यासियर युवतीलाई नियन्त्रणमा लिएको छ ।
मोरङको केराबारीस्थित धारापानी जंगललमा शनिबार रुखमा झुण्डिएको अवस्थामा फेला परेका ५१ वर्षीय खत्रीको अन्तिम फोन संवादको विवरणका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
मोरङ प्रहरीका अनुसार झापा घर भएकी २७ वर्षीया युवतीविरुद्ध परिवारका सदस्यले आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दिएका छन् ।
जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । परिवारका सदस्यले खत्री र युवतीबीच प्रेम सम्बन्ध रहेको तथा आर्थिक हिनामिनाको विषयमा विवाद भएको दाबी गरेका छन् ।
तर, उनीहरूबीचको सम्बन्ध, आर्थिक विवाद र घटनाबीचको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । परिवारको दाबी पुष्टि भइसकेको छैन ।
प्रहरीका अनुसार कल डिटेल्स अध्ययन गर्दा शुक्रबार दिउँसो करिब १ बजे युवतीले खत्रीलाई फोन गरेको देखिएको छ ।
उनीहरूबीच एक मिनेटभन्दा कम समय कुराकानी भएको थियो । फोन संवादपछि खत्री विराटनगर–३ स्थित आफ्नो घरबाट स्कुटर लिएर बाहिरिएका थिए ।
खत्री मृत भेटिएको स्थलभन्दा करीव दुई सय मिटरको दुरीमा प्रहरीले उनले प्रयोग गरेको स्कुटर पनि फेला पारेको जनाएको छ ।
त्यसपछि घर नफर्किएका खत्रीलाई परिवारका सदस्यले खोजी गरेका थिए ।
उनीहरूलाई रेष्टुरेन्टकी क्यासियर युवतीलाई भेट्न गएको हुन सक्ने आशंका भएपछि परिवारले युवतीसँग सम्पर्क गरेका थिए ।
युवतीले आफूले खत्रीसँग नभेटेको र उनी कहाँ गएको भन्ने जानकारी नभएको बताएकी थिइन् ।
परिवारका सदस्यले खत्री र युवतीबीच भेट भएको, भेटका क्रममा विवाद उत्पन्न भएको र त्यसपछि घटना भएको आशंका गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
प्रहरीका अनुसार उनीहरूबीचको सम्बन्ध र घटनाअघिका गतिविधिबारे थप अनुसन्धान भइरहेको छ ।
शुक्रबारदेखि सम्पर्कविहीन भएका खत्री शनिबार दिउँसो करिब ३ बजे केराबारीस्थित जंगलमा मृत अवस्थामा फेला परेका थिए ।
घटनास्थल उनको विराटनगरस्थित घरबाट पूर्वोत्तर दिशामा पर्छ ।
विवाहित खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन् । अविवाहित युवती विराटनगरमा रहेको पिजफायर रेष्टुरेन्टमा क्यासियरका रूपमा कार्यरत थिइन् ।
खत्री वैदेशिक रोजगारीका क्रममा छ वर्ष जर्मनी बसेर फर्किएका थिए । त्यसपछि पनि आर्थिक अवस्थामा सुधार नभएपछि उनी दुई वर्ष दुबई बसेका थिए ।
दुबईबाट फर्किएपछि उनले विराटनगरको गोल्छा चोक र पिपल चोकमा रेष्टुरेन्ट सञ्चालन गरेका थिए ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved