विराटनगर । यस वर्षको दशैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म देशका विभिन्न स्थानमा १ हजार ३३९ वटा सवारी दुर्घटना भएका हुन् ।
दुर्घटनामा मृत्यु हुनेमा ८३ पुरुष, ३९ महिला, ७ बालक र ५ बालिका छन् । घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ भने २ हजार ५५१ जना सामान्य घाइते भएका छन ्।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार दशैं अवधिमा सबैभन्दा बढी सवारी दुर्घटना कोशी प्रदेशमा भएका छन् ।
कोशीमा ३९७ वटा दुर्घटना हुँदा मधेश प्रदेशमा सबैभन्दा कम ८० वटा दुर्घटना भएका छन् ।
काठमाडौं उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिममा १५० वटा दुर्घटना भएका छन् ।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छन् । प्रहरीका अनुसार दुर्घटनामा १ हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्यांकर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन संलग्न थिए ।
दुर्घटनामा कुल २ हजार ४८१ सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ । गत वर्षको दशैं अवधिमा देशभर १ हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए ।
दशैं अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७९४, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ रहेका छन् ।
त्यसैगरी, यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लंघन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ सवारीसाधनलाई कारबाही गरिएको छ ।
लामो दूरीका सवारीसाधनमा ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टीसीए) सम्बन्धी जाँचका क्रममा ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहज आवागमनका लागि विशेष व्यवस्था गरिएको थियो ।
उनका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधन छुट्ने स्थानमा चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र दुई जना चालक भए–नभएको जाँच गरिएको थियो ।
सवारीसाधनको यान्त्रिक अवस्थासमेत परीक्षण गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको थियो ।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दशैं अवधिमा देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको थियो ।
नेपाल प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि नियमित तथा आकस्मिक जाँचसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
दुर्घटना हुन सक्ने स्थान पहिचान गरी निगरानी बढाइएको र सुरक्षित सडक प्रयोगलाई प्राथमिकता दिइएको प्रवक्ता काफ्लेले बताए ।
नजिकिँदै गरेका तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि विशेष योजना लागू गरिएको प्रहरीले जनाएको छ ।
View : 47
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved