Biratnagar, Morang, Nepal
२ मंसिर २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डीनमा प्राडा श्रेष्ठद्वारा पदभार ग्रहण

उद्‌घोष संवाददाता
१ मंसिर २०८३, मङ्गलवार

Advertisement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) व्यवस्थापन संकायका नवनियुक्त डीन प्रा.डा. सन्देशदास श्रेष्ठले बुधबार आफ्नो पदभार ग्रहण गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्ठाले उनलाई संकायको नवौँ डीनका रूपमा नियुक्त गरेपछि प्रा.डा. श्रेष्ठले औपचारिक रूपमा मंगलबार कार्यभार सम्हालेका हुन् ।

यसअघि प्राडा श्रेष्ठलाई विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. यादवराज कोइरालाले चार वर्षे कार्यकालका लागि सातौँ डीनमा नियुक्त गरेका थिए ।

सोहीअनुसार उनले २०८० मंसिर ६ गते बुधबार पहिलोपटक डीनको पदभार ग्रहण गरेका थिए ।

तर, सरकारले २०८३ वैशाख १८ गते ल्याएको अध्यादेशमार्फत सार्वजनिक पद धारण गरेका १ हजार ५ सय ९४ जना पदाधिकारीलाई पदमुक्त गर्दा उनी पनि डीन पदबाट हटेका थिए ।

उनी हटेपछि व्यवस्थापन संकायमा अर्को व्यवस्था नभएसम्मका लागि प्राडा उत्तम रेग्मीलाई डीनको कार्यभार दिइएको थियो ।

करिब सात महिनाको अन्तरालपछि उपकुलपति मरहट्ठाले पुनः प्राडा श्रेष्ठलाई नै नवौँ डीनको जिम्मेवारी सुम्पिएका हुन् ।

बजार रणनीति योजना (मार्केटिङ स्ट्राटेजी प्लानिङ) विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका प्राडा श्रेष्ठ विसं २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा निरन्तर प्राध्यापनरत छन् ।

लामो प्राज्ञिक तथा प्रशासनिक अनुभव सँगालेका श्रेष्ठको पुनरागमनसँगै संकायको शैक्षिक गुणस्तर र प्रशासनिक गतिविधि थप प्रभावकारी हुने विश्वास लिइएको छ ।

View : 155

२ मंसिर २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved