विराटनगर । जननायक तथा कालजयी साहित्यकार विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको चर्चित कथा ‘एक रात’ मा आधारित नेपाली कथानक चलचित्र ‘एक रात’ को छायाङ्कन विराटनगरमा सुरु भएको छ ।
साहित्यकार कोइरालाको ‘श्वेत भैरवी’ कथा सङ्ग्रहमा सङ्ग्रहीत सोही शीर्षकको कथामा आधारित रहेर चलचित्र निर्माण थालिएको हो ।
यात्री फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रमा ध्रुवप्रसाद उप्रेतीको प्रस्तुति तथा इन्द्रबहादुर परियारको निर्देशन रहेको छ ।
चलचित्रको पटकथा निर्देशक परियार र दशरथ साहले संयुक्त रूपमा तयार पारेका हुन् ।
चलचित्रको छायाङ्कन (डीओपी) दशरथ साहले सम्हालेका छन् भने छायाङ्कन व्यवस्थापनको जिम्मेवारी निरज तिम्सिनालाई दिइएको छ ।
कोशी प्रदेशका स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने यस चलचित्रमा नायकको भूमिकामा मञ्जिल अधिकारी र नायिकाको भूमिकामा भाग्य साई पौडेल अनुबन्धित भएका छन् ।
चलचित्रमा सङ्गीता यादव, प्रदीप दाहाल, दीपक पाठक, गङ्गा कुँवर, गीता कोइराला, अंशु गुप्ता र निलम खवास लगायतका कलाकारहरूको अभिनय देख्न सकिने निर्माण पक्षले जनाएको छ ।
नेपालको ऐतिहासिक परिवेशलाई समेटिएको सो चलचित्रले स्वतन्त्रता, भ्रष्टाचारविरुद्धको संघर्ष र दिगो विकासका लागि लड्ने एक साहसी युवा योद्धाको त्याग र बलिदानको मार्मिक कथावस्तु बोकेको छ ।
देश र समाजको परिवर्तनका लागि जीवन समर्पण गर्ने युवाको प्रेरणादायी गाथा समेटिएकाले ‘एक रात’ नेपाली कला, साहित्य र चलचित्र क्षेत्रमै एक ऐतिहासिक तथा अर्थपूर्ण प्रस्तुति बन्ने विश्वास लिएको निर्माण टोलीको छ ।
View : 75
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved