सुनसरी । विराटनगरमा पानी तान्ने मोटरको तार चोरी गरेको आरोप लगाउँदै विवाद हुँदा एक ब्यवायीको हत्या भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
विराटनगर–६ निवासी ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक भारतीय नाबालकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–६ स्वागत चोक घर भएका ३६ वर्षीय अफरोज आलम, भारतका १३ वर्षीय एक नाबालक र नेपालका १६ वर्षीय अर्का नाबालक छन् ।
अफरोज आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका व्यक्ति हुन् । प्रहरीले दुवै नाबालकको नाम सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार गुप्ताले आलममाथि विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्कसबाट पानी तान्ने मोटरको तार चोरी गरेको आरोप लगाएका थिए ।
सोही विषयमा दुई जनाबीच विवाद भएको र त्यसपछि गुप्तालाइ घरमै बोलाएर कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।
भारतको वाराणसीका स्थायी बासिन्दा गुप्ता करिब ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए । उनले विराटनगर–६ धरान रोडमा लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स सञ्चालन गर्दै आएका थिए ।
प्रहरीका अनुसार गुप्ताको शव सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलाको किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
कात्तिक ८ गते शुक्रबार अपरान्ह करिब ४ बजेर ४७ मिनेटदेखि सम्पर्कविहीन भएका गुप्ताको शव भोलिपल्ट शनिबार बिहान करिब १० बजे फेला परेको जानकारी स्थानीयबाट प्राप्त भएको प्रहरीले जनाएको छ ।
शव फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलको सुरक्षा तथा अनुसन्धानका लागि प्रहरी अधिकृतसहित तालिम प्राप्त कुकुर र सोको टोलीसमेत परिचालन गरिएको थियो ।
प्रहरीले घटनास्थलको सूक्ष्म निरीक्षण, मुचुल्का र अन्य प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।
एसपी मल्लका अनुसार प्रहरीले मंगलबार साँझ करिब ५ बजे घटनामा संलग्न रहेको आशंकामा व्यक्तिहरूको पहिचान गरी पक्राउ गरेको हो ।
उनीहरूबाट घटनामा प्रयोग भएको भनिएको जीआई पाइप एक थान, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव बोक्न प्रयोग भएको कार्टुनसमेत बरामद गरिएको मल्लले बताए ।
घटनामा संलग्न व्यक्तिहरूको भूमिका, हत्या गर्दाको परिस्थिति र शव सुनसरीको बर्जुसम्म कसरी पु¥याइयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 31
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved