Biratnagar, Morang, Nepal
२३ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा गैरसंस्थागत परिवारभित्र हुने मृत्युको संख्या उच्च

कोशी प्रदेशमा अन्य प्रदेशको तुलनामा मृत्यु दर उच्च रहेको देखाएको कार्यालयका सामाजिक तथ्यांक महाशाखाका निर्देशक विनोदशरण आचार्यले बताए । उनले जिल्लागत रूपमा हेर्दा समेत कोशी प्रदेश अन्तर्गतका मोरङ, सुनसरी र झापामा मृत्यु अनुपात उच्च देखिएको बताए ।
उद्‌घोष सम्वाददाता
२३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । राष्ट्रिय जनगणना २०७८ को पछिल्लो तथ्यांकले नेपालमा हुने मृत्युको अवस्था मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कुल गैरसंस्थागत परिवारमध्ये कोशी प्रदेशका ३ दशमलव १ प्रतिशत अर्थात् २ लाख ६ हजार ४८६ घरपरिवारले पछिल्लो एक वर्षमा कम्तिमा एकजना सदस्य गुमाएको उल्लेख छ ।

कार्यालयका अनुसार निजी घरमा बस्ने, एउटै चुल्होमा पकाएर खाने र प्रायः आफैंले आफ्ना आवश्यकता पूरा गर्ने परिवार नै गैरसंस्थागत परिवार हुन् । यस्तो परिवार राष्ट्रियस्तरमा ६६ लाख ६० हजार ८ सय ४१ रहेको छ ।

कुल गैरसंस्थागत परिवारमध्ये जम्मा २ दशमलव ९ प्रतिशत परिवारमा मृत्युको घटना भएको देखिएको कार्यालयले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम २ दशमलव २ प्रतिशत परिवारका मृत्युका घटना हुने गरेको छ । तर कोशी प्रदेशमा प्रतिशत औसतभन्दा मृत्यु संख्या माथि रहेको जनाइएको छ ।

यो तथ्यांकले कोशी प्रदेशमा अन्य प्रदेशको तुलनामा मृत्यु दर उच्च रहेको देखाएको कार्यालयका सामाजिक तथ्यांक महाशाखाका निर्देशक विनोदशरण आचार्यले बताए । उनले जिल्लागत रूपमा हेर्दा समेत कोशी प्रदेश अन्तर्गतका मोरङ, सुनसरी र झापामा मृत्यु अनुपात उच्च देखिएको बताए ।

यी जिल्लामा शहरीकरण, औद्योगिक गतिविधि, प्रवास र स्वास्थ्य जोखिमजस्ता कारणहरूले मृत्यु अनुपात बढेको हुनसक्ने जनाइएको छ ।

७७ मध्ये सर्वाधिक मृत्युदर भने कपिलवस्तुको रहेको छ । त्यहाँ ३ दशमलव ८ प्रतिशत तथा सबैभन्दा कम रूकुम–पश्चिममा १ दशमलव ८ प्रतिशत देखिएको जनाइएको छ ।

कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामाजिक तथ्यांकले कोशी प्रदेशमा सामाजिक, आर्थिक र स्वास्थ्य सेवामा निकै सुधारको खाँचो देखाएको हो ।

कार्यालयका अनुसार कोशी प्रदेशमा मृत्युदर नियन्त्रणका लागि दीर्घकालीन रणनीति र वृद्धमैत्री स्वास्थ्य नीतिको आवश्यकता बढाएको जनाएको छ ।

२०७८ को जनगणना अनुसार नेपालमा कोरा मृत्युदर ६.८ प्रतिहजार जनसंख्यामा झरेको छ ।

२०६८ मा यो दर ७.३ र २०५८ मा १०.२ कायम रहेको थियो । मृत्युदर घट्दो क्रममा भए पनि कोशी प्रदेशको तुलनात्मक बृद्धिले चिन्ता बढाएको हो ।

कार्यालयका अनुसार १२ महिनामा देशभर १ लाख ९८ हजार ४ सय ६३ जनाको मृत्यु भएकोमा ५८ प्रतिशत पुरूष र ४२ प्रतिशत महिला छन् । 

मृत्यु भएका ९७ प्रतिशत परिवारमा एकजनाको मात्रै मृत्यु भएको पाइएको छ । केही परिवारमा भने ६ जनासम्मको मृत्यु भएको जनाइएको छ ।

जनसंख्या पिरामिडले ९५ वर्षभन्दा माथिको उमेर समूह बाहेक सबै समूहमा पुरूषको मृत्यु संख्या महिलाभन्दा बढी देखाएको छ । वृद्ध जनसंख्या मृत्यु अनुपातमा गण्डकी र बागमती अगाडि देखिएको छ ।

नेपालमा बुढ्यौली जनसंख्या समेत बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।

सन् २०५० सम्म नेपाल बुढ्यौली जनसंख्यायुक्त देशका रूपान्तरण हुनसक्ने अनुमान गरिएको हो । नेपालमा वृद्ध व्यक्तिहरूको जनसंख्या २०४८ यता हालसम्म करीव तीन गुणाले बढेको छ ।

नेपालको करिव ८० प्रतिशत जनसंख्या ६० वर्षसम्म बाँच्ने अपेक्षा गरिएको छ । यस उमेरसम्ममा ८५ प्रतिशत महिला र ७५ प्रतिशत पुरूष बाँच्न सक्ने जनगणनाको तथ्यांकले देखाएको हो । 

६० वर्षसम्म बाँच्न सक्ने जनसंख्या मध्ये पनि उच्चतम सम्पन्नता परिवारमा ८४ दशमलव ७ प्रतिशत र अति विपन्न परिवारको हकमा ७७ दशमलव ७ प्रतिशत रहने जनाइएको छ । 

कार्यालयका निर्देशक आचार्यले विश्वका मानिसहरूको औसत आयुमा सन् १९९० मा ६४.२ वर्ष रहेकोमा सन् २०१९ सम्म ७२.६ वर्ष पुगेको छ । सन् २०५० मा औषत आयु अझ बृद्धि भएर ७७.१ वर्षसम्म पुग्ने पूर्वानुमान गरिएको बताए ।

View : 52

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved