Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस मोरङको सचिवमा निरौलाको उम्मेदवारी घोषणा

उद्‌घोष संवाददाता
२ मंसिर २०८३, बुधवार

विराटनगर । नेपाली कांग्रेस मोरङको आसन्न जिल्ला अधिवेशनमा सचिव पदमा अर्जुन निरौलाले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका निरौलाले आगामी जिल्ला अधिवेशनमा सचिव पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । अधिवशेनको मिति भने तोकिएको छैन ।

वि.सं. २०४०-०४१ सालदेखि विद्यार्थी राजनीतिमा रुचि राख्दै आएका निरौला २०४२ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भएका थिए । 

२०४६ सालको जनआन्दोलनमा समेत सक्रिय सहभागी भएका उनले त्यसयता नेपाली कांग्रेसको विभिन्न पद तथा जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् ।

निरौलाले २०४७ सालमा नेपाल विद्यार्थी संघ विराटनगर वडा नं. १७ को सभापति, स्नातकोत्तर क्याम्पसको स्ववियु सभापति, नेविसंघ केन्द्रीय संगठन विभाग सदस्य तथा मोरङ जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए । 

त्यसैगरी, २०५७ सालमा नेपाली कांग्रेस विराटनगरको नगर सचिव र २०५९ सालमा नगर सभापति बनेका थिए ।

उनले २०६१ सालमा नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य, २०६२ सालमा महाधिवेशन प्रतिनिधि तथा जनआन्दोलन परिचालन समितिको सदस्यका रूपमा समेत काम गरेका थिए । 

२०६४ र २०६८ सालमा जिल्ला सदस्य तथा कार्यसम्पादन सदस्यको जिम्मेवारी सम्हालेका निरौला पार्टीको २०६७ र २०७२ सालको महाधिवेशनमा पनि प्रतिनिधि रहेका थिए । २०७८ सालमा समेत उनले मोरङ जिल्ला सचिव पदमा उम्मेदवारी दिएका थिए । 

२०८३ सालमा चौथोपटक महाधिवेशन प्रतिनिधि बनेका उनले यसपटक पुनः जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

राजनीतिक गतिविधिसँगै निरौला विभिन्न सामाजिक तथा मानव अधिकारसम्बन्धी संस्थामा समेत सक्रिय रहँदै आएका छन् । 

उनी एम्नेस्टी इन्टरनेसनल समूह ११ मोरङको संयोजक, मानव अधिकार तथा शान्ति समाज मोरङको संस्थापक उपाध्यक्ष, नेपाल बाल संगठन मोरङको सभापति तथा बालमन्दिर आधारभूत विद्यालय विराटनगरको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

त्यसैगरी, शिक्षा विकास तथा समन्वय समिति मोरङको सदस्य तथा नेपाल क्षयरोग निवारण संस्था मोरङको आजीवन सदस्यका रूपमा समेत उनले योगदान पुर्याएका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि धादिङमा पुनर्निर्माण तथा राहतसम्बन्धी कार्यमा समेत नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यका हैसियतले युवाहरूको टोलीको नेतृत्व गर्दै उनी सहभागी भएका थिए ।

लामो राजनीतिक अनुभव, संगठनात्मक जिम्मेवारी र सामाजिक क्षेत्रमा गरेको योगदानलाई आधार बनाउँदै सचिव पदमा उम्मेदवारी घोषणा गरेका निरौलाले पार्टी संगठनलाई थप सुदृढ बनाउन आफ्नो दाबेदारी प्रस्तुत गरेको बताएका छन् ।

View : 69

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved