Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

सबैको ध्यान इलाम २ मा

डीपी ढुंगेल
१० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ ।

इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस्त देखिन्छन् । बिहानैदेखि साँझसम्म सबै दलका उम्मेदवारहरू तामझामसहित जनताको घरदैलो आँगनमा भोट माग्न व्यस्त छन् । इलामेली जनता चलाख तथा शिक्षित छन् । आफ्नो भाग्य र भविष्य विकास तथा लोकप्रिय असल सक्षम इमान्दार जनप्रतिनिधि छान्न इलामेली जनता तयार देखिन्छन् । 

इलामेली जनताको एउटा विषय त के हो भने उनीहरु ढाँटछल कपट तथा झुटा आश्वासनप्रति विश्वास गर्दैनन् । युवा उम्मेदवार उनीहरूको रोजाइ हुन सक्दछ । इलामेली जनता आफ्नो अमूल्य मतदान गरेर इलाम क्षेत्र नम्बर २ को विकासको ढोका खोल्न चाहन्छन् । 

इलाम क्षेत्र नम्बर २ मा कुल मतदाता १ लाख १५ हजार ८८९ रहेको निर्वाचन आयोगले जनाएको छ । पुरुष मतदाता ५९ हजार १८ जना र महिला मतदाता ५६,८६९ रहेको निर्वाचन क्षेत्र नम्बर २ मा अन्य मतदाता दुईजना मात्र छन् । निर्वाचनमा ७० देखि ८० प्रतिशतसम्म मत झर्ने अनुमान गरिएको छ । अहिलेका  सबै उम्मेदवारहरूले विकासको ढोका खोल्ने आश्वासन दिएका छन् । 

इलाम २ को समस्या भनेको शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, बाटोघाटो, बिजुलीबत्ती, पुल, बजार व्यवस्थापन लगायतका मुख्य छन् । यी समस्याहरू समाधान गर्नका लागि इलामेली जनताले सबै उम्मेदवारहरूलाई हार्दिक अनुरोध गरिरहेका छन् । 

जम्मा ४२ वडाहरू निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्दछन् । जसअनुसार चुलाचुली गाउँपालिका– ६  माङ्सेबुङ गाउँपालिकाका ६,  फाकफोक थुम गाउँपालिका–७ देउमाई नगरपालिकामा ९, इलाम नगरपालिकाका १ देखि ९ सम्म र १,  १२ तथा माई नगरपालिकाका ६, ७ र ८ वडाहरु यो निर्वाचन क्षेत्र अन्तर्गत पर्दछन् । 

दिनगन्ती अनुसार अबका ११ दिनमा इलाम निर्वाचन क्षेत्र नम्बर २ का जनताले आफ्नो प्रतिनिधि छानी सक्नेछन् । जम्मा १९ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेर निर्वाचनमा होमिसकेका छन् । मुख्य रूपमा नेकपा एमालेबाट सुहाङ नेम्बाङ, नेपाली कांग्रेसको तर्फबाट डम्मर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बू लगायतका मुख्य प्रतिद्वन्द्वी हुन् । यो निर्वाचन क्षेत्रमा मुख्य रूपमा त्रिकोणीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

पहिचान पक्षधरहरूले पनि आफ्नो उम्मेदवार खडा गरेर पहिचानको नारा लगाउँदै भोट संकलन गर्न थालिसकेका छन् । वैशाख १५ गते इलामेली जनताले १९ जना उम्मेदवार मध्ये एक जनालाई निर्वाचित गर्नुपर्नेछ । निर्वाचनमा होमिएका दल र नेताहरू यतिखेर इलाम २ अन्तर्गत विभिन्न पालिकामा विभिन्न कार्यक्रम गरी आफ्नो पोल्टामा भोट पार्नलाई व्यस्त देखिन्छन्  । वैशाख १५ गते कसको भाग्य चम्किने हो त्यो हेर्नलाई केही दिन पर्खिनै पर्ने हुन्छ । 

प्रायजसो युवा उम्मेदवार देखिएकाले विकासको ढोका मुहान खोल्ने प्रतिबद्धता सबै उम्मेदवारहरूले गरिसकेका छन् । उम्मेदवारहरू सुहाङ नेम्बाङ, डम्मर खड्का मिलनकुमार लिम्बू, लक्ष्मी गुरुङ प्रेमकुमार थम्सोहाङ, जितबहादुर राई, श्यामबहादुर दर्जी, मणिबहादुर लिम्बू, गणेशबहादुर चौहान, रेशमबहादुर सुनार, धनराज रानामगर, जयवन्त विक्रम शाह, अर्जुनबहादुर शाही, डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतम, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गरेर घरदैलो कार्यक्रम तथा निर्वाचन प्रचारप्रसार गर्दै व्यस्त देखिन्छन् । 

शान्तिपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय इलाम लागिपरेको छ । ७९ मतदानस्थल तथा १४९ मतदान केन्द्र रहने निर्वाचन कार्यालय इलामले जनाएको छ । ८९४ कर्मचारीहरू खटिने समेत जानकारी निर्वाचन कार्यालयले दिएको हो । सुरक्षा व्यवस्था अत्यन्तै राम्रो रहेको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।  

निर्वाचनमा फजुल खर्च तथा जथाभावी खर्च गर्न पाइदैन । निर्वाचन आयोगले तोकेको रकमभन्दा बढी रकम खर्च गरेको भेटिएमा प्रचलित कानुन अनुसार कारबाही हुने विधि विधान छ । तर दल र दलका नेताहरू अधिकभन्दा अधिक खर्च गरेर तामझामका साथ घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । 

दलको चुनाव चिन्ह वा झन्डा अङ्कित गाम्चा भेस्ट टोपीलगायत निषेध हो तर दल र उम्मेदवारहरुले अटेर गरेमा निर्वाचन आयोगले कारबाहीसमेत गर्न सक्नेछ । निर्वाचनलाई भड्किलो बनाउनु हुँदैन । जनताले आफ्नो बहुमूल्य समयलाई समेत विसर्जन दिएर वैशाख १५ गते मतदान स्थलमा देखिने हुनाले जनताको सम्मानका लागि उम्मेदवारहरुले तामझामका साथ प्रचारप्रसार गर्न सुहाउँदैन । बाजागाजा, माइक, साउन्ड सिस्टम लगायतले विकास र समृद्धि ल्याउन सक्दैन । कमभन्दा कम खर्च गरेर निर्वाचन सम्पन्न गर्नु नै बुद्धिमानी हो । 

इलामेली जनता पक्कै पनि आफ्नो विकास भाग्य र भविष्य प्रति चिन्तित देखिन्छन् र योग्य सक्षम इमान्दार तथा जनता प्रेमी आफ्नो नेता आफ्नै हातले छानेर इलाम निर्वाचन क्षेत्र नम्बर २ को विकास गर्न चाहन्छन् । मदिरा, मासु, लत्ता कपडा, विद्युतीय सामग्रीहरू लगायतमा आफ्नो अमूल्य भोट साटासाट गर्ने छैनन् इलामेली जनताले भन्ने सबैमा विश्वास छ ।

View : 121

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved