बेलका (उदयपुर) । सप्तकोसी नदी केवल जलस्रोतका लागि मात्रै होइन, पूर्वी नेपालको पर्यटन विकासको एउटा महत्वपूर्ण आधार बनेको छ । विशाल जलप्रवाहमा साहसिक जलपर्यटनका गतिविधि बढेसँगै सप्तकोसी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
सुनसरीको चतरा र उदयपुरको बेलका क्षेत्रलाई केन्द्रमा राखेर नदीमा आधारित साहसिक पर्यटन व्यवसाय विस्तार हुन थालेको छ। जलयात्रा, कायकिङ, र्याफ्टिङ, बोटिङ मात्रै नभई सप्तकोसी नदीमाथिको आकाशमा हुने प्याराग्लाइडिङले यहाँको पर्यटकीय सम्भावनालाई अझ बढाउँदै लगेको छ । सप्तकोसी नदीकै सहारामा अहिले रिसोर्ट तथा होटल व्यवसायसमेत फस्टाउँदै गएका छन् ।
नदी किनारको प्राकृतिक सौन्दर्य, नजिकै रहेको बराहक्षेत्र र साहसिक पर्यटनका अन्य गतिविधिका लागि उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटे र कोसी पुल क्षेत्र केन्द्र बनेको छ ।
साहसिक पर्यटनमध्ये जल पर्यटन सप्तकोसीको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र हो। नदीको प्राकृतिक बहाव र भौगोलिक अवस्थाले यहाँ र्याफ्टिङ, कायकिङ र बोटिङका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ ।
बेलका–८ डुम्रीबोटेस्थित सप्तकोसी नदीमा तीन वर्षदेखि जल पर्यटनअन्तर्गत साहसिक खेल र्याफ्टिङ र कायकिङ सञ्चालन गर्दै आएको कम्पनी ग्रीन होराइजनका सञ्चालक सुरेश बस्नेतले सप्तकोसी र यसका सहायक नदीहरू ठूलो सम्भावनाले भरिएको बताए ।
कोसी नदीमा र्याफ्टिङ र कायकिङका गाइड उत्पादनका लागि तालिमसमेत गराउँदै आएका बस्नेतले भने, “नेपालका खोला–नदीमा काम गर्ने गाइडहरू अन्तर्राष्ट्रियस्तरमा राम्रो मानिन्छन् । सप्तकोसीसहित तमोर, सुनकोसीलगायत साहसिक नदीहरू यसका लागि उत्कृष्ट छन् । यहाँको नाम नै विदेशमा सहजै बिक्ने गर्छ । त्यसैले हामीले विभिन्न प्याकेज र तालिमसमेत प्रदान गर्दै आएका छौँ ।”
उनले सप्तकोसी नदीमा सबैभन्दा छोटो प्याकेजका रूपमा बराहक्षेत्रदेखि बोराबाँधसम्मको र्याफ्टिङ गराउँदै आएको जानकारी दिए । लामो दूरीतर्फ भोटेकोसीदेखि सुनकोसी हुँदै चतरासम्मको १० दिनको प्याकेजमा समेत र्याफ्टिङ गराउन सकिने बस्नेतले बताए।
“भोटेकोसीबाट १० दिनमा चतरा आइपुगिन्छ। हामीले एक दिन, दुई दिन, तीन दिन, पाँच दिन र १० दिनसम्मका प्याकेज बनाएका छौँ। त्यहीअनुसार र्याफ्टिङ गराउँदै आएका छौँ,” उनले भने, “सबैभन्दा छोटो बराहक्षेत्रबाट बोराबाँधसम्मको प्याकेज पनि सञ्चालन गर्दै आएका छौँ ।”
सप्तकोसीमा सञ्चालन हुने जलयात्राले पर्यटकलाई मनोरञ्जन मात्र होइन, नदीसँग जोडिएको प्राकृतिक अनुभवसमेत दिने गरेको छ । लामो दूरीको र्याफ्टिङ यात्रा, छोटो दूरीको मनोरञ्जनात्मक बोटिङ, कायकिङ प्रशिक्षण तथा जल खेलकुदका गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको यस क्षेत्रमा सक्रिय पर्यटन व्यवसायीहरू बताउँछन् ।
नेपालमा त्रिशूली, भोटेकोसीजस्ता नदीहरू र्याफ्टिङका लागि चर्चित भए पनि सप्तकोसीलाई अझ व्यवस्थित रूपमा विकास गर्न सके पूर्वी नेपालको साहसिक जल पर्यटनको नयाँ केन्द्र बनाउन सकिने उनीहरूको भनाइ छ ।
जल पर्यटनसँगै नदी किनारमा क्याम्पिङ, नदी दृश्यावलोकन, प्रकृति पर्यटन र फोटोग्राफी पर्यटनलाई पनि जोड्न सकिन्छ । यसले पर्यटकको बसाइ अवधि लम्ब्याएर होटल तथा रेस्टुरेन्ट व्यवसायले समेत प्रत्यक्ष लाभ लिन सक्ने सम्भावना रहेको छ ।
नेपालमा साहसिक पर्यटनतर्फ हिमाली क्षेत्रमा पदयात्रा र हिमाल आरोहण प्रमुख क्षेत्र हुन् भने पहाडी तथा तराई क्षेत्रमा जलपर्यटनसँग सम्बन्धित र्याफ्टिङ क्षेत्र प्रमुख पर्यटकीय गतिविधिका रूपमा रहेका छन् । तर सप्तकोसी नदीले जल तथा स्थल दुवैमा आधारित नयाँ पर्यटनको सम्भावना देखाएको छ ।
सातवटा नदी मिसिएर तराई क्षेत्रमा फैलिन सुरु हुने सप्तकोसी क्षेत्र आकाशबाट झन् आकर्षक देखिने गरेको छ ।
डुम्रीबोटेमा प्याराग्लाइडिङसम्बन्धी तालिम दिने स्कुल नै सञ्चालनमा आएका कारण यस क्षेत्रमा दैनिक रूपमा प्याराग्लाइडिङ अभ्यास हुने गरेको छ ।
सप्तकोसी क्षेत्रको महत्वपूर्ण सम्भावनामध्ये प्याराग्लाइडिङ पनि एक हो। नदी किनार र आसपासका उचाइयुक्त भूभागबाट प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने सम्भावनाले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ ।
आकाशबाट सप्तकोसी नदीको विशाल स्वरूप, हरियाली क्षेत्र र आसपासका प्राकृतिक दृश्य अवलोकन गर्ने अवसर पर्यटकका लागि फरक अनुभव बन्ने गरेको छ ।
प्याराग्लाइडिङलाई केवल साहसिक खेलका रूपमा मात्र नभई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिने सम्भावना रहेको प्याराग्लाइडिङ प्रवर्द्धनमा सक्रिय पाइलट जितु रोइलाले बताए ।
उनले नियमित उडान, प्रशिक्षित पाइलट, सुरक्षा मापदण्ड र आवश्यक पूर्वाधार निर्माणको काम अघि बढिरहेको भन्दै आगामी दसैँदेखि व्यावसायिक रूपमा उडान सुरु हुने अपेक्षा गरिएको बताए ।
यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकाशमा सोलो (पाइलट एक्लै) उडान गरिरहेका ग्लाइडरहरूले अहिले मनोरञ्जन प्रदान गर्दै आएका छन्। आगामी असोजदेखि व्यावसायिक रूपमा ‘टेन्डम’ (पाइलटले यात्रु राखेर गर्ने उडान) उडान सञ्चालन हुन लागेको रोइलाले जानकारी दिए ।
“आगामी दसैँदेखि व्यावसायिक उडान सुरु हुँदैछ। त्यसका लागि प्रक्रिया लगभग पूरा भएको छ,” रोइलाले भने, “यहाँ दुईवटा टेकअफ प्वाइन्ट छन्। एउटा चम्पाकोट (११५० मिटर) र अर्को बोप्ताङ (४८२ मिटर) हो। यी दुवै ठाउँबाट व्यावसायिक उडान हुने तयारी छ ।”
सप्तकोसी किनारको फराकिलो क्षेत्र बिहानको दृश्यावलोकनका लागि समेत आफैँमा प्रमुख आकर्षण गन्तव्य बनेको छ । फराकिलो नदी, हरियाली तटीय क्षेत्र र वरपरका अग्ला पहाडी भू–भागले पर्यटकलाई नयाँ अनुभव दिने गरेको छ ।
यही सम्भावनालाई देखेर निजी क्षेत्रबाट विभिन्न प्रकारका साहसिक पर्यटन प्रशिक्षण केन्द्र विस्तार हुन थालेका छन् । त्यसका साथै सप्तकोसी नदी किनारमा होटल, रिसोर्ट र मनोरञ्जनका पूर्वाधारसमेत विस्तार भइरहेका कारण यस क्षेत्रको पर्यटकीय महत्व बढ्दै गएको छ ।
सप्तकोसीमा जलयात्राका लागि आवश्यक प्राकृतिक अवस्था रहेको व्यवसायीहरूको भनाइ छ। नदीको बहाव, दूरी र आसपासको भूगोलका कारण पर्यटकलाई छोटो दूरीदेखि लामो दूरीसम्मका जलयात्राका प्याकेज बनाउन सकिने सम्भावना छ ।
जल पर्यटनसँगै प्याराग्लाइडिङका लागि पनि यस क्षेत्रले सम्भावना बोकेको छ । नदी किनार र वरपरका उचाइयुक्त भूभागबाट हुने उडानले पर्यटकलाई फरक अनुभव दिन सक्छ। आकाशबाट सप्तकोसीको दृश्य अवलोकन गर्ने अवसरले यस क्षेत्रलाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सक्ने देखिन्छ ।
पर्यटन व्यवसायीहरूका अनुसार सप्तकोसी क्षेत्रमा धार्मिक पर्यटन, प्राकृतिक पर्यटन र साहसिक पर्यटनलाई एकीकृत गरेर विकास गर्न सकिन्छ। चतरास्थित धार्मिक महत्व, कोसी तटीय क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिलाई जोड्दै यहाँ पर्यटकको बसाइ लम्ब्याउन सकिने सम्भावना धेरै रहेको छ ।
सप्तकोसी किनारमा पर्यटन व्यवसाय विस्तारका लागि निजी क्षेत्रले लगानी विस्तार गर्दै लगेका छन्। तर अझै पनि आवश्यक पूर्वाधारको अभाव रहेको छ। पर्यटकका लागि आवश्यक गुणस्तरीय होटल, यातायात सुविधा, सूचना केन्द्र, सुरक्षा व्यवस्थापन र व्यवस्थित पर्यटन पूर्वाधार पर्याप्त छैनन् ।
जल पर्यटनका लागि सुरक्षा मापदण्डअनुसारको उद्धार प्रणाली र आवश्यक उपकरण व्यवस्थापन पनि महत्वपूर्ण विषय बनेको छ ।
जनप्रतिनिधिहरू भने सप्तकोसी क्षेत्रको पर्यटन विकासका लागि सरकारी, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताउँछन् । स्थानीय स्तरमा पर्यटनमैत्री वातावरण निर्माण गर्न सके रोजगारी र आयआर्जनका अवसर बढ्ने उनीहरूको भनाइ छ ।
बेलका–८ का वडाध्यक्ष जयकुमार राईले चतरा पुल निर्माण भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा ठूलो सहयोग पुगेको बताए। उनले वडाको तर्फबाट समेत हरेक वर्ष पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्दै आएको जानकारी दिए ।
उदयपुरको बेलका नगरपालिकासँगै नदीपारि रहेको सुनसरीको बराहक्षेत्र नगरपालिकाले पनि नदी क्षेत्रलाई पर्यटनसँग जोड्ने सम्भावनालाई प्राथमिकतामा राख्दै आएको उनले बताए ।
स्थानीयले भने ठूला पूर्वाधार विकास र प्रचारप्रसारमा बढी ध्यान दिनुपर्नेमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल राष्ट्र बैंक विराटनगरले समेत सप्तकोसी नदी र अन्य सहायक नदी किनारमा आधारित पर्यटन व्यवसाय तथा आर्थिक गतिविधिबारे अध्ययन सुरु गरेको जनाइएको छ ।
सप्तकोसी नदीमा आधारित पर्यटन विकासले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याएको छ। होटल, होमस्टे, यातायात, जलयात्रा, गाइड सेवा, स्थानीय उत्पादन बिक्रीलगायत क्षेत्रमा रोजगारी सिर्जना हुने सम्भावना रहेको छ ।
पर्यटकको आगमन बढेपछि स्थानीय कृषि उत्पादन, हस्तकला, खानाका परिकार र अन्य सेवा व्यवसायको बजार विस्तार हुन सक्छ। यसले नदी किनारका समुदायको आयआर्जन बढाउन सहयोग गर्ने अपेक्षा गरिएको स्थानीय विनोद राईले बताए ।
साथै युवाहरूलाई स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना हुने सम्भावना पनि रहेको उनले बताए ।
“अहिले धेरै युवा रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था छ। सप्तकोसी नदीलाई नयाँ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजान सकिए ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ भन्ने विश्वास यहाँका मानिसहरूमा छ,” उनले भने, “त्यसका लागि व्यापक प्रचारप्रसार आवश्यक छ ।”
उनले बोप्ताङ डाँडाबाट निर्माण गरिएको प्याराग्लाइडिङ उडानस्थलमा ठूलो संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेको र त्यहाँबाट प्याराग्लाइडिङ गर्न मात्रै नभई फैलिएको कोसी नदीको दृश्यावलोकन गर्ने उपयुक्त गन्तव्य बनेको बताए ।
उनले सप्तकोसी क्षेत्रको पर्यटन विकासका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता प्रचारप्रसार रहेको बताए। त्यसका लागि सरोकारवाला निकायहरूले सामाजिक सञ्जाल, डिजिटल प्रचार, पर्यटन मेला, निजी क्षेत्रसँगको साझेदारी र व्यवस्थित पर्यटन प्याकेज निर्माणमार्फत सप्तकोसीलाई नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको बताए ।
जल पर्यटन, होटल व्यवसाय र अन्य साहसिक गतिविधि विस्तार गर्दा सुरक्षा, वातावरण संरक्षण र स्थानीय सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
सप्तकोसी नदी कोशी प्रदेशकै पर्यटन क्षेत्रका लागि ठूलो सम्भावना बोकेको क्षेत्र हो । यहाँ आवश्यक पूर्वाधार, लगानीमैत्री नीति, प्रचारप्रसार र सरोकारवालाबीच समन्वय हुन सके कोशी प्रदेशकै महत्वपूर्ण साहसिक पर्यटन केन्द्र बन्न सक्छ ।
नदी किनारबाट सुरु हुने यो पर्यटन यात्राले स्थानीय अर्थतन्त्रदेखि प्रदेशको समग्र विकाससम्म नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिएको छ । प्रदेशमा रहेका हिमाली, पहाडी र तराई क्षेत्रका पर्यटकीय सम्भावनालाई जोडेर पर्यटन विस्तार गर्ने नीति लिइएको छ।
त्यसमध्ये सप्तकोसी नदी क्षेत्र धार्मिक तथा सांस्कृतिक, जल पर्यटन र साहसिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र रहेको कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले बताए ।
उनले मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा कोशी प्रदेशको साहसिक पर्यटन क्षेत्रलाई दिगो र सुरक्षित बनाउन अन्तर्राष्ट्रियस्तरमा सीप परीक्षण र प्रमाणीकरणको व्यवस्था गरिने बताए ।
“सरकारले सप्तकोसी नदी करिडोरसहित समग्र पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न एकीकृत पर्यटन गुरुयोजना निर्माण गर्ने तयारी गरेको छ,” मन्त्री पराजुलीले भने, “यो कुरा हामीले नीति तथा कार्यक्रम र बजेटमार्फत पनि अघि बढाएका छौँ । पर्यटन क्षेत्र नै आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको छ। प्रदेश सरकारले त्यही सोचका साथ एकीकृत पर्यटन विकास गुरुयोजना तर्जुमा गर्नेछ ।”
उनले गुरुयोजना बनेपछि कोशी प्रदेशको पर्यटन क्षेत्रलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना तयार हुने बताए ।
मन्त्रालयसहित अन्य निकायहरूले नदीमा आधारित पर्यटन विकासका सम्भावनाबारे अध्ययन र प्रवर्द्धनात्मक गतिविधि गर्दै आएका छन् ।
पर्यटन विज्ञहरू भने सप्तकोसीलाई केवल एउटा नदीका रूपमा नभई ‘पर्यटन करिडोर’ कै रूपमा विकास गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।
नदी किनारका बस्ती, प्राकृतिक सम्पदा, धार्मिक स्थल र साहसिक गतिविधिलाई एउटै पर्यटन प्याकेजमा जोड्न सके यसको प्रभाव व्यापक हुने उनीहरूको भनाइ छ ।
सप्तकोसी किनारमा साहसिक पर्यटनको विविधता बढाउन एडभेन्चर पार्क, जिपलाइन, नदी किनार मनोरञ्जन क्षेत्र, क्याम्पिङ साइट र रिसोर्ट विस्तार गर्न सकिने सम्भावना रहेको छ ।
युवापुस्तामाझ लोकप्रिय साहसिक गतिविधिहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके सप्तकोसी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्नेछ। नदी किनारमा सुरक्षित र वातावरणमैत्री पर्यटन पूर्वाधार निर्माण गरी पारिवारिक पर्यटन, साहसिक पर्यटन र मनोरञ्जन पर्यटनलाई एकैसाथ विकास गर्न सकिनेछ ।
सप्तकोसी क्षेत्रमा होटल, रिसोर्ट, जल पर्यटन व्यवसाय, साहसिक खेलकुद र सेवा क्षेत्रमा निजी लगानीको ठूलो सम्भावना रहेको व्यवसायीहरू बताउँछन् ।
पर्यटकको आवश्यकताअनुसार सुविधा सम्पन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात सेवा र पर्यटन सूचना केन्द्र विकास गर्नुपर्ने बेलका रिसोर्टका सञ्चालक रमण भट्टराईले बताए ।
उनले निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले लगानीमैत्री नीति, पूर्वाधार निर्माण र सुरक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
“धेरै सम्भावना भए पनि सप्तकोसी क्षेत्रको पर्यटन विकासमा चुनौती छन् । सडक पहुँच भएको छ, अब पर्यटकमैत्री पूर्वाधार, नियमित प्रचारप्रसार, दक्ष जनशक्ति र सुरक्षा व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्छ,” उनले भने, “सबै क्षेत्रले सहयोग बढाउँदै लगेमा कोशी प्रदेशकै नयाँ पर्यटकीय सम्भावनाको क्षेत्र बन्ने निश्चित छ । त्यसमा सप्तकोसी नदी क्षेत्रलाई साहसिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने अवधारणालाई सरकारले आत्मसात् गर्नुपर्छ ।”
उनले सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य हुन सके सप्तकोसी घुम्ने ठाउँ मात्र नभई आर्थिक गतिविधिको केन्द्र बन्ने बताए ।
नदीमा आधारित पर्यटन विकासले होटल, यातायात, कृषि, स्थानीय उत्पादन र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
सप्तकोसी नदी क्षेत्रलाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न जल पर्यटन, प्याराग्लाइडिङ, प्रकृति पर्यटन, धार्मिक पर्यटन र स्थानीय संस्कृतिलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।
नदी किनारको प्राकृतिक सौन्दर्य, साहसिक गतिविधिको सम्भावना र स्थानीय समुदायको सहभागितालाई जोड्न सके सप्तकोसी पूर्वी नेपालको मात्र नभई देशकै महत्वपूर्ण पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ ।
View : 24
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved