Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

१४ वर्षदेखि अलपत्र कन्काई माई पुल

उद्‌घोष सम्वाददाता
७ वैशाख २०८२, आइतवार

झापाको गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने कन्काइमाई नदीमा चचरीको पुलबाट काखे बालकसहित खोला तर्दै स्थानीय महिला । तस्वीर : नवीन कर्ण/उद्घोष

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी र झापा गाउँपालिका–२ लाई जोड्ने कन्काईमाई खोलामा निर्माणाधीन पुल १४ वर्षदेखि अधुरो रहँदा हजारौं स्थानीय बासिन्दा दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

२०६८ सालमा सुरु भएको पुल निर्माण अझै सम्पन्न नहुँदा सर्वसाधारणले बाँसको चचरी पुल प्रयोग गर्नु परिरहेको छ ।

सरकारी बेवास्ता र निर्माण व्यवसायी कम्पनी पप्पु–महादेव–खिम्ती जेभीको चरम लापरवाहीका कारण पुल निर्माण अधुरो रहेको हो । पाँचपटक म्याद थप्दा पनि हालसम्म जम्मा ५८ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ ।

पक्की पुलको विकल्पमा स्थानीयले खोलामाथि बाँसको अस्थायी चचरी पुल बनाएर आवतजावत गरिरहेका छन् । सो पुलबाट मोटरसाइकलसहित खोला तर्न समेत बटुवाले चचरी बनाउनेहरूलाई तोकिएको शुल्क तिर्दै आएका छन् । हिउँदमा बाँसको पुल तर्ने उनीहरू वर्षातमा डुङ्गाको भर पर्न बाध्य छन् ।

वर्षौंदेखि खोलामा बाँसको पुल प्रयोग गर्दै आएका झापा गाउँपालिका–२ का तेजप्रसाद राजवंशी सरकार र ठेकेदार दुवैले जनताको पीडा बेवास्ता गरेको गुनासो गर्छन् । ठेक्का लिन मिल्ने, म्याद थप्न मिल्ने तर काम सम्पन्न गर्न नमिल्ने प्रवृत्तिका कारण पुल अलपत्र परेको हो ।

रतुवामाई नगरपालिका–७ का प्रेमप्रसाद पौडेलले १४ वर्षसम्म पनि पुल नबन्नु दुःखद भएको बताउँदै आउँदा दिनमा बन्ने आश पनि टुट्दै गएको धारणा व्यक्त गरे । ‘हुलाकी राजमार्ग भएर पूर्वका सहरहरू जान हामीलाई ठूलो सास्ती छ,’ उनले भने ।

यसैगरी स्थानीय धानचामलका काँटा ब्यवसायी हेमनारायण दासले पुल नबन्दा सदरमुकाम भद्रपुर तथा प्रदेश राजधानी विराटनगरसम्म धान चामल पु¥याउन आफूहरूले १ सय किलोमिटरभन्दा बढी घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।

रतुवामाई–७ का अर्का स्थानीय डम्बरप्रसाद पौडेलले नेपाली ठेकेदारले पुल निर्माण गर्न नसक्ने स्थिति देखिएकाले अब विदेशी निर्माण कम्पनीमार्फत भएपनि पुलको निर्माण सम्पन्न गर्नुपर्ने माग गर्छन् ।

पुल निर्माणमा कमसल सामग्री प्रयोग तथा प्राविधिक त्रुटि देखिएपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको छ । तर, त्यसको आधारमा पनि ठोस निर्णय र कारबाही नहुँदा काम अघि बढ्न सकेको छैन ।

१४ वर्षदेखि अलपत्र कन्काइमाई पुल झापाका लागि मात्र होइन, समग्र हुलाकी राजमार्ग प्रयोगकर्ताका लागि समेत निराशाको प्रतीक बनेको छ । अब पनि सम्बन्धित निकाय गम्भीर न हुने हो भने करोडौं लगानीको यो योजना ध्वस्त हुने खतरा देखिएको छ ।

View : 218

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved