Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उद्योगी व्यवसायीको जोडघटाउ

विराटनगर कार्गो रेल: शुल्क विवाद र कमजोर यार्ड पूर्वाधारका कारण लाभ अनिश्चित

बाबुराम भण्डारी
२ मंसिर २०८३, बुधवार

विराटनगर । विराटनगर भन्सार यार्डमै आइपुग्ने कार्गो रेलबाट मालवस्तु आयात गर्न उत्सुक उद्योगी व्यवसायीले ह्याण्डलिङ शुल्कदेखि कमजोर यार्ड पूर्वाधारको चुनौतीलाई सरकारी अधिकारीहरूका सामू उजागर गरेका छन् । 

कार्गो रेलमार्फत विराटनगर भन्सार यार्डसम्म मालवस्तु ल्याएर ढुवानी खर्च घटाउने र औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य पूरा गर्न नसकिएको उनीहरूले बताएका हुन् । 

महंगो ह्याण्डलिङ शुल्क, कमजोर पूर्वाधार र मर्मतको अन्योल, विद्युत् र शौचालयको अभाव, कोइला लगायतका ‘डर्टी कार्गो’ व्यवस्थापनको कठिनाइबारे उद्योगी व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

भन्सार यार्डमा कार्गो रेल सञ्चालन सुरु भएलगत्तै यार्डमा खाल्डा परेर क्षति पुगेको छ । यार्डको कालोपत्रे ठाउँ–ठाउँमा उक्किएको छ भने कतिपय स्थानमा गहिरा खाल्डा परेका छन् । 

पानी जम्ने गरी यार्ड भासिएपछि भारी कन्टेनर उठाउने रिच स्टेकर सञ्चालन गर्नसमेत जोखिम बढेको छ ।

यार्डको मर्मत कसले गर्ने भन्ने विषयमा सरकारी निकायबीच जिम्मेवारीको अन्योल देखिँदा समस्या थपिएको उद्योगी व्यवसायी बताउँछन् । यार्ड निर्माण र व्यवस्थापनसँग जोडिएका निकायबीच समन्वय नहुँदा मर्मत प्रक्रिया अघि बढ्न सकेको छैन । यही अवस्थाले कार्गो रेल सेवालाई नियमित र व्यवस्थित बनाउने योजनामा थप चुनौती थपेको उनीहरू बताउँछन् ।

समस्या समाधानको सम्भावना खोज्न भन्दै मंगलबार लागि मोरङ उद्योग व्यापार संघले आयोजना गरेको पारवहन व्यवस्थापन तथा रेल कार्गो सेवाबारे उद्योगी व्यवसायी, भन्सार, रेलवे, पारवहन कम्पनी र प्रदेश सरकारका प्रतिनिधिले छलफल गरेका हुन् ।

यार्डको जिम्मेवारी कसको ?

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले राज्यको ठूलो लगानी भए पनि उद्योग व्यवसाय क्षेत्रले कार्गो रेल सेवाको पूर्ण सदुपयोग गर्न नपाएको बताएका छन् । 

पहिले व्यापारमा नाफाको मार्जिनलाई प्राथमिकता दिइने भए पनि अहिले लजिस्टिक खर्च बचाएर प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

‘रेलवे सेवालाई नियमित गर्न आइपरेको गाँठो कहाँ छ भनेर छलफल आयोजना गरेका हौं । यार्ड सञ्चालनमा आउँदै खाल्डा परेको छ । किन यस्तो उक्किएको हो ? यसको व्यवस्थापन कसले गर्ने र जिम्मेवार निकाय को हो भन्ने स्पष्ट हुनुपर्छ,’ साहले भने ।

उनले यार्डमा सामान लोड–अनलोड गर्दा नै संरचना भत्किने अवस्था रहे कसरी कार्गो रेल सेवा सञ्चालन गर्न सकिन्छ भन्दै प्रश्न गरे । 

यार्डमा विद्युत् सुविधाको अभाव र अन्य पूर्वाधारगत कमीसमेत रहेको उल्लेख गर्दै उनले तत्काल सुधार गर्नुपर्ने बताए ।

अध्यक्ष साहले विराटनगरको भन्सार यार्डमा कार्गो रेलमार्फत सामान ल्याउँदा ह्यान्डलिङ खर्च बढी पर्ने गरेको भन्दै उद्योगी व्यवसायीले सडक मार्गबाटै मालवस्तु आयात गरिरहेको दाबी गरे । यस्तो खर्चलाई प्रतिस्पर्धात्मक बनाउनुपर्नेमा जोड दिए । 

लोड–अनलोडमा प्रयोग हुने उपकरण आयात गर्दा सरकारले भन्सार शुल्क लगाउन नहुने र रेलको र्‍याकबाट अनलोड भएपछि कन्टेनरलाई प्रतिस्पर्धात्मक खर्चमा उद्योगसम्म पु¥याउने व्यवस्था गर्न पनि माग गरे ।

साहका अनुसार यार्डमा अहिलेसम्म पाँचवटा मात्रै कार्गो रेलका र्‍याक आएका छन्, जबकि अहिलेसम्म कम्तीमा २५ वटा आउनुपर्ने उनको भनाइ थियो । 

रेलमार्फत बल्क कार्गो ल्याउने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले मल, चिनी र नुनजस्ता वस्तु पनि रेलबाटै आउने वातावरण बनाउन आग्रह गरे ।

संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले कार्गो रेल सेवा सञ्चालनको प्रारम्भिक चरणमा रहेकाले सरकारले र ट्रान्स नेपालले भाडादरमा छुटको सुविधा दिनुपर्ने बताए ।

उनका अनुसार अहिले एकैपटक ८० वटा कन्टेनर ल्याउने व्यवसायी थोरै रहेको र थोरै–थोरै कन्टेनर ल्याउने व्यवसायीको संख्या धेरै रहेको भन्दै ठूलो परिमाणमा सामान आयात गर्ने व्यवसायीलाई मात्रै लक्षित नगरी साना आयातकर्तालाई पनि रेल सेवामा आकर्षित गर्नुपर्ने बताए ।

‘थोरै कन्टेनर ल्याउने व्यवसायीलाई पनि कार्गो रेलबाटै सामान ल्याउने वातावरण बनाउनुपर्छ,’ सारडाले भने ।

ब्यागेज र डर्टी कार्गो व्यवस्थापनमा समस्या उस्तै

संघका उपाध्यक्ष विकास बेगवानीले कार्गो रेल सेवा नियमित सञ्चालन हुँदा बल्क सामान र खाद्यान्न आयात गर्ने उद्योगी व्यवसायीले ठूलो राहत पाउने बताए । तर यार्डमा ब्यागेज र डर्टी कार्गो व्यवस्थापनका लागि आवश्यक संरचना अझै पनि व्यवस्था नभएको गुनासो गरे ।

भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले सम्भव भएसम्म सवै सामान रेलमार्फत आयात हुने वातावरण बनाउनुपर्ने बताए । विशेषगरी कोइला बथनाहमै झार्नुपर्ने अवस्थाको अन्त्य गरी विराटनगरस्थित यार्डसम्मै ल्याउन आवश्यक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

‘कार्गो रेल र यार्डलाई नियमित रूपमा सञ्चालन गर्न सबै पक्षको इमान्दारितापूर्वक प्रयास जरुरी छ,’ शर्माले भने ।

आकासे पुल र ट्रेलर व्यवस्थापन पनि चुनौती

भन्सार यार्डको ह्याण्डलिङको जिम्मेवारी पाएको टिआरएस–ट्रान्स नेपालका निर्देशक मुकेशकुमार राठीले सुरुमा केही जटिलता भए पनि अहिले कार्गो रेल सेवा सञ्चालन सहज बन्दै गएको दाबी गरे । तर यार्डमै रहेको आकासे पुलका कारण स्टेकर सञ्चालनमै समस्या देखिएको बताए ।

पुललाई आवश्यक स्थानमा स्थानान्तरण गर्नुपर्ने र त्यससँगै सार्वजनिक आवागमनलाई पनि व्यवस्थित गर्दै लैजानुपर्ने उनले सुझाव दिए । यार्ड ह्यान्डलिङका लागि आवश्यक सबै स्रोतसाधन र उपकरण कम्पनीसँग उपलब्ध रहेको उल्लेख गर्दै राठीले सेवा सञ्चालनका लागि आफूहरू तयार रहेको स्पष्ट पारे ।

१० टन मात्रै धान्ने यार्ड !

नेपाल रेलवे कम्पनीका इन्जिनियर आदर्श काफ्लेले यार्डको पूर्वाधार निर्माण तथा मर्मतका लागि कम्पनी सक्षम भए पनि आवश्यक अधिकार र जिम्मेवारी स्पष्ट नहुँदा समस्या समाधान गर्न कठिनाइ भएको बताए ।

उनका अनुसार यार्ड निर्माण गर्दा ५० टनसम्मको भारवहन क्षमता हुने गरी तयार हुनुपर्ने तर प्रारम्भिक अवलोकन गर्दा करिब १० टन मात्रै भार धान्न सक्ने अवस्था देखिएको बताए । यही कारण ठूला कन्टेनर लोड–अनलोड गर्दा यार्डमा क्षति पुगेको हुनसक्ने उनले बताए ।

कार्गो रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार सुधारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै काफ्लेले नेपाल रेलवे कम्पनीले रेल सेवाको अपरेसनसँगै पूर्वाधार मर्मतमा पनि काम गर्न सक्ने बताए । 

कम्पनीले जनकपुरको यात्रुबाहक रेल सेवा र अयोध्यासम्मको रेल सञ्चालनमा काम गरिरहेको उनको भनाइ थियो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले तेस्रो मुलुकबाट आयात हुने कार्गो सिधै रेलमार्फत विराटनगर ल्याउन ठूलो अवसर श्रृजना भएको बताए । 

उपलब्ध सुविधाको सदुपयोग गर्दै उद्योगी व्यवसायीले रेलमार्फत सामान आयात गर्नुपर्ने उनको सुझाव थियो ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सहसचिव डिल्ली संजेलले कार्गो रेल सेवा सञ्चालन र यससँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

यार्ड मर्मतका लागि ३० करोड 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले यार्डको मर्मतका लागि कम्पनीले ३० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिए ।

उनका अनुसार आयात–निर्यात प्रक्रियामा विभिन्न प्रकारका झन्डै ५० वटा सरोकारवाला निकाय संलग्न हुने गरेको उल्लेख गर्दै सरकारी सेवामा एकद्वार प्रणाली कार्यान्वयनका लागि सरकारले अध्ययन गरिरहेको र यस विषयमा विभिन्न सुझावसमेत आइरहेको उनले बताए ।

पोखरेलले विराटनगर भन्सारस्थित रेल यार्डमा भएको क्षति गम्भीर रहेको स्वीकार गर्दै यसको मर्मत गर्ने जिम्मेवारी कम्पनीकै भएको स्पष्ट पारे ।

‘विराटनगरको भन्सारस्थित रेल यार्डमा भएको क्षति हेर्दा भयानक नै देखिन्छ । तर यसलाई बनाउने कसले भन्नेमा अझै पनि केही नीतिगत समस्या छ । यो संरचना कम्पनीअन्तर्गतकै पूर्वाधार हो । हामीले नै सञ्चालन गर्ने हो,’ उनले भने ।

कम्पनीको बोर्डले जसरी पनि समस्या समाधान गर्ने निर्णयसहित अघि बढेको उल्लेख गर्दै उनले केही अन्तरनिकाय नीतिगत समस्या समाधान गरेर मर्मतको काम अघि बढाइने बताए । यार्ड ह्यान्डलिङ शुल्कलाई समयानुकूल परिमार्जन गर्न कम्पनी सकारात्मक रहेको पनि उनको भनाइ थियो ।

उनले भन्सारमा अध्यागमन भवन निर्माणका लागि समेत बजेट विनियोजन भइसकेको जानकारी दिए ।

विराटनगर भन्सार यार्डमा पहिलोपटक २०८० जेठ १८ मा कार्गो रेल आएको थियो । त्यसपछि दोस्रो रेल आउन करिब तीन वर्ष लागेको थियो । २०८२ साउन ४ मा दोस्रो पटक रेल आएपछि छोटो अवधिमै थप तीनवटा कार्गो रेल यार्डमा आइसकेका छन् । 

तर पूर्वाधारको कमजोर अवस्था, सञ्चालन खर्च र व्यवस्थापनसम्बन्धी देखिएका समस्या समाधान हुन नसकेको उद्योगी व्यवसायीहरूले बताउने गरेका छन् ।

रेलबाट कन्टेनर अनलोड गर्न कम्तिमा ७० टन क्षमताको रिच स्टेकर प्रयोग हुन्छ । कन्टेनर एकमाथि अर्को राख्दा एउटै स्थानमा करिब एक सय टनसम्म भार पर्ने भएकाले यार्डको कमजोर संरचनाले उपकरण सञ्चालनमै जोखिम सिर्जना गरेको जनाइएको छ ।

उद्योगी व्यवसायीका अनुसार कार्गो रेल सेवा नियमित बनाउन सके भारत तथा तेस्रो मुलुकबाट आयात हुने सामानको ढुवानी लागत घटाउन सकिने र उद्योग तथा व्यापार क्षेत्रले नेपालले ठूलो लाभ लिन सक्नेछ । 

तर त्यसका लागि यार्डको मर्मत, विद्युत् सुविधा, भारवहन क्षमता सुधार, ह्यान्डलिङ शुल्कमा पुनरावलोकन, उपकरण आयातमा सहुलियत, साना आयातकर्ताका लागि सुविधा र जिम्मेवार निकायबीच स्पष्ट समन्वय आवश्यक देखिएको छ ।

View : 47

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved