प्रधानमन्त्रीको भारत भ्रमण :
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सहमति भएका छन् । त्यसक्रममा कोशी प्रदेशमै रहेका केही महत्वपूर्ण आयोजनाहरु पनि परेका छन् ।
कोशी प्रदेशले प्रत्यक्ष सरोकार राख्ने विषयमा जलविद्युत्, पेट्रोलियम आपूर्ति र नदी नियन्त्रणसँग सम्बन्धित छन् ।
भारत र नेपालका प्रधानमन्त्रीले संखुवासभा र भोजपुरमा निर्माण हुने ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । त्यस्तै झापाको चारआलीमा पेट्रोलियम भण्डारण केन्द्र निर्माण र सिलिगुडीदेखि झापासम्म पाइपलाइन विस्तारको पनि शिलान्यास भएको छ ।
त्यस्तै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम तीव्र बनाउने सहमति भएको छ ।
यसमध्ये तल्लो अरुण निर्माण भए कोशीको विद्युत् उत्पादन क्षमता बढ्नेछ । सिलिगुडी–झापा पाइपलाइन र चारआली टर्मिनल बने पूर्वी नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण प्रणालीमा परिवर्तन आउनेछ ।
सप्तकोशी उच्च बाँध निर्माणको चरणसम्म पुग्न सके विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी व्यवस्थापन र नदीको पानी उपयोगको स्वरूप बदलिन सक्छ ।
यीमध्ये कुनै पनि सबै काम सम्पन्न भइसकेका आयोजना होइनन् । दुई आयोजनाको शिलान्यास हुनु निर्माण प्रक्रिया अघि बढाउने संकेत हो भने सप्तकोशीको हकमा अहिलेको सहमति डीपीआरलाई गति दिने तहमा सीमित छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको ऊर्जा क्षेत्रको प्रमुख घोषणामध्ये तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास कोशी प्रदेशसँग प्रत्यक्ष जोडिएको छ ।
संखुवासभा र भोजपुर जिल्लामा पर्ने यो आयोजना अरुण नदीमा निर्माण हुनेछ ।
नेपाल सरकार र भारत सरकारको स्वामित्व रहेको कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) अन्तर्गतको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले आयोजना विकास गर्नेछ ।
आयोजनाको क्षमता सुरुमा ६७९ मेगावाट प्रस्ताव गरिएको भए पनि अध्ययनपछि ६६९ मेगावाट कायम गरिएको हो ।
एसजेभीएनका अनुसार यसबाट वार्षिक करिब २ हजार ९०१ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजना अरुण–३ जलविद्युत् आयोजनाको तल्लो तटीय क्षेत्रमा निर्माण हुनेछ ।
यो आयोजना बने प्रदेशको विद्युत् उत्पादनमा थप ६६९ मेगावाट क्षमता जोडिनेछ । यसले राष्ट्रिय विद्युत् प्रणालीमा कोशीको योगदान बढाउनेछ ।
आयोजना निर्माणका क्रममा स्थानीयस्तरमा रोजगारी, निर्माण सामग्रीको माग, यातायात तथा सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्ने सम्भावना छ ।
भारतसँग भएका सहमतिमध्ये कोशी प्रदेशका लागि तत्कालीन उपयोगिताको हिसाबले अर्को महत्वपूर्ण परियोजना झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा निर्माण हुने पेट्रोलियम भण्डारण केन्द्र हो ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका क्रममा यस केन्द्रको शिलान्यास गरेका छन् । यससँगै भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनालाई पनि अघि बढाउने सहमति भएको छ ।
यो परियोजना अनुसार पश्चिम बंगालको सिलिगुडीस्थित भारतीय आयल निगमको टर्मिनलबाट चारआलीसम्म करिब ४९.६ किलोमिटर पाइपलाइन विस्तार गर्ने योजना छ ।
त्यसमध्ये करिब ३५ किलोमिटर भारत र १४.६ किलोमिटर नेपालतर्फ पर्छ । नेपाल खण्डमा पाइपलाइन पूर्व–पश्चिम र मेची राजमार्गको क्षेत्राधिकार हुँदै भूमिगत रूपमा विस्तार गर्ने प्रस्ताव छ ।
नेपाल आयल निगमले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार चारआलीमा निर्माण हुने ग्रिनफिल्ड टर्मिनलको प्रस्तावित भण्डारण क्षमता १८ हजार ९ सय किलोलिटर छ ।
यसमा पेट्रोल र डिजेल भण्डारणका लागि छुट्टाछुट्टै ट्यांक, ट्यांकर लोडिङ सुविधा, पम्पिङ प्रणाली, स्वचालित नियन्त्रण र आगलागी नियन्त्रण संरचना रहनेछन् ।
नेपाल आयल निगमको स्वामित्वमा रहेको २३ बिघा ३ कठ्ठा १३ धुर जग्गामा यो केन्द्र निर्माण हुने प्रस्ताव छ ।
नेपाल आयल निगमका अनुसार सिलिगुडी–झापा पाइपलाइन र भण्डारण केन्द्र निर्माणको कुल लागत करिब ११ अर्ब १४ करोड रुपैयाँ अनुमान गरिएको छ । भारतीय पक्षको अनुदान सहयोगमा निर्माण हुने परियोजनाको कार्यान्वयन भारतीय आयल निगमले गर्नेछ ।
अहिले कोशी प्रदेशमा खपत हुने पेट्रोलियम पदार्थको ठूलो हिस्सा ट्यांकरमार्फत ढुवानी गरेर ल्याउनुपर्छ ।
भारतबाट सीमावर्ती नाकासम्म र त्यहाँबाट विभिन्न डिपो तथा वितरण केन्द्रसम्म सडकमार्फत इन्धन पुर्याउँदा ढुवानी लागत, समय र सडक यातायातको दबाब बढ्छ ।
पाइपलाइन सञ्चालनमा आएपछि सिलिगुडीबाट चारआलीसम्म इन्धन सीधै ल्याउन सकिनेछ ।
त्यसपछि चारआलीको टर्मिनलबाट पूर्वी नेपालका विभिन्न जिल्लामा वितरण गर्न सकिने बताइएको छ । यसले विशेषगरी झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभासम्मको इन्धन आपूर्ति प्रणालीलाई सहज बनाउने अपेक्षा छ ।
त्यसतै चारआलीमा ठूलो परिमाणमा इन्धन भण्डारण भएपछि पूर्वी क्षेत्रका लागि छुट्टै आपूर्ति केन्द्र उपलब्ध हुनेछ । यसले अन्य क्षेत्रका डिपोमाथिको निर्भरता घटाउने सम्भावना पनि छ ।
नेपाल–भारतबीच भएको अर्को सहमति सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार पार्ने काम तीव्र बनाउने बारेमा छ ।
कोशी नदीको बहाव, बाढी र जलस्रोत उपयोगसँग जोडिएको यो आयोजना दशकौंदेखि चर्चामा छ ।
सप्तकोशी उच्च बाँधका नाममा विवाद भएपछि केही वर्षयता यसको नाम फेरेर सप्तकोशी बहुदेश्यीय आयोजना बनाइएको थियो ।
सप्तकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययनका लागि नेपाल र भारतले सन् २००४ अगस्ट १७ मा विराटनगरमा संयुक्त आयोजना कार्यालय स्थापना गरेका थिए ।
यसको मुख्य जिम्मेवारी सप्तकोशी उच्च बाँध र सुनकोशी भण्डारण तथा पथान्तरण योजनाको डीपीआर तयार पार्न आवश्यक सर्वेक्षण, अनुसन्धान र अध्ययन गर्नु हो ।
आयोजनाको प्रस्तावित बाँध बराहक्षेत्रभन्दा करिब १.६ किलोमिटर माथि सप्तकोशी नदीमा निर्माण गर्ने अवधारणा छ । सरकारी अध्ययनमा उल्लेख भएअनुसार प्रस्तावित बाँध २६९ मिटर अग्लो हुनेछ ।
यसबाट ३ हजार मेगावाट क्षमताको मुख्य विद्युत गृह निर्माण गर्ने परिकल्पना छ । यसबाहेक नहरमा आधारित विद्युत गृहबाट समेत थप विद्युत् उत्पादन गर्ने प्रस्ताव अध्ययनमा छ ।
सप्तकोशी नदीले वर्षायाममा ल्याउने बाढीले सुनसरी, उदयपुर, मधेशको सप्तरी लगायत तल्लो तटीय क्षेत्रमा वर्षौंदेखि समस्या सिर्जना गर्दै आएको छ ।
नदीको बहाव व्यवस्थापन र बाढीको जोखिम घटाउने उद्देश्यले उच्च बाँधको अवधारणा अघि सारिएको हो ।
कोशी प्रदेशसँग जोडिएको अर्को ऊर्जा पूर्वाधार इनारुवा–न्यु पूर्णिया सीमापार विद्युत् प्रसारण लाइन हो ।
नेपाल र भारतले सोमबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा नेपालतर्फको इनारुवा र भारततर्फको न्यु पूर्णियाबीच उच्च क्षमताको प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने विषयमा भएको प्रगतिलाई स्वागत गरिएको छ ।
यो आयोजनाले नेपालमा उत्पादन भएको विद्युत् भारतको विद्युत् प्रणालीमा पुर्याउन सहयोग गर्नेछ । विशेषगरी कोशी प्रदेशमा जलविद्युत् उत्पादन बढ्दै जाँदा उत्पादित विद्युत् बिक्रीका लागि सीमापार प्रसारण पूर्वाधार आवश्यक पर्छ ।
नेपालमा उत्पादन भएको विद्युत खपतभन्दा बढी हुने अवस्थामा त्यसलाई भारततर्फ निर्यात गर्न प्रसारण लाइन महत्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख छ । इनारुवा–न्यु पूर्णिया लाइनले पूर्वी नेपालबाट भारतको विद्युत् प्रणालीसम्मको सम्पर्क विस्तार गर्ने अपेक्षा गरिएको छ ।
View : 56
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved