नेपाल प्राकृतिक रूपमा अत्यन्तै सुन्दर तर भौगर्भिक दृष्टिले अति संवेदनशील देश हो ।
यहाँको पहाडी र हिमाली भूबनोटले गर्दा बसोबास प्रणाली हजारौँ वर्षदेखि प्रकृतिसँगको सहअस्तित्वमा आधारित थियो ।
भूगर्भविद् डा. रञ्जनकुमार दाहालको भनाइलाई नियाल्ने हो भने हाम्रा पितापुर्खा प्राविधिक रूपमा शिक्षित नभए पनि अनुभव र व्यावहारिक ज्ञानका धनी थिए ।
उनीहरूले भूगर्भको प्रकृति र नियमलाई नजिकबाट बुझेका थिए ।
‘हाम्रा पितापुर्खा कति चलाख थिए ! उनीहरू खोलाको उपत्यकाको तलतिर गएर बस्दैनथे । पहिरोले शिर छोडेको, अब फेरि बग्दैन भन्ने भइसकेको सुरक्षित स्थानमा बस्ती बसाउँथे ।
त्यहाँ मूल पनि फुट्छ, किनभने पहिरो गएको स्थानमा पानीको मुहान हुने सम्भावना हुन्छ । त्यसपछि माथि रुख रोपिदिन्थे र भगवानको मन्दिर पनि बनाइदिन्थे ।
भगवानको मन्दिर बनाइसकेपछि मानिसहरूले त्यहाँका रुख काट्दैनथे । यसरी रुखको पनि संरक्षण भयो, पानीको मुहानको पनि संरक्षण भयो । पहाडको बीचतिरको थाप्लोमा बस्ती बस्यो, तल खोलो बग्थ्यो ।’
यो भनाइले हाम्रा पुर्खाको मौलिक ज्ञान, वातावरणीय चेतना र बसोबास चयनको वैज्ञानिक आधारलाई स्पष्ट पार्छ । तर विडम्बना, आज हामी आधुनिकता, विकास र सहरी
करणको नाममा हाम्रा पुर्खाको त्यो दूरदर्शी ज्ञानलाई बिर्सँदै गएका छौँ ।
आधुनिक नेपालमा भइरहेको अव्यवस्थित बसोबास, प्रकृतिमाथिको दोहन र पूर्वसावधानीको कमीले गर्दा आज सिङ्गो मुलुक ठूलो पर्यावरणीय र प्राकृतिक विपत्तिको जोखिममा परेको छ ।
हाम्रा पुर्खाहरूले बस्ती निर्माण गर्दा सुरक्षा, पानीको उपलब्धता र वातावरणीय सन्तुलनजस्ता मुख्य कुराहरूलाई विशेष ध्यानमा राख्थे ।
उनीहरू खोलाको कटान पुग्न सक्ने गहिरो उपत्यका वा बगरमा बस्ती बसाल्नुको साटो पहाडको बीचको समथर थाप्लो वा सुरक्षित काख छान्थे ।
पहिरोको जोखिम पन्छाएर स्थिर भइसकेको भूमिमा घर बनाउनु उनीहरूको प्राकृतिक प्राविधिक सीप थियो । साथै, पानीको मुहान जोगाउन र पहिरो रोक्न रुख रोप्ने मात्र होइन, ती रुख र मुहानको सुरक्षाका लागि मन्दिर स्थापना गर्ने र धार्मिक आस्थासँग जोड्ने गर्थे ।
यसले गर्दा मानिसहरूले रुख काट्न र पानीको मुहान दूषित गर्न डर मान्थे, जुन एउटा उत्कृष्ट सामाजिक–वातावरणीय संरक्षणको नमुना थियो । हाम्रा पुर्खाहरूले प्रकृतिलाई जितेर वा बिगारेर होइन, प्रकृतिलाई बुझेर र उसको गतिसँग मिलेर बाँच्न सिकेका थिए ।
आजको नेपालमा भने पुर्खाको यो दूरदर्शी ज्ञानलाई पूर्ण रूपमा उपेक्षा गरिएको छ । आधुनिकताको अन्धधुन्ध दौड, योजनाविहीन सहरीकरण र भारी मेसिनरीको प्रयोगबाट गरिने विकासका कारण हाम्रो बसोबास प्रणाली चरम सङ्कटमा पुगेको छ ।
आज साना–ठूला सहर, बजार र घरहरू खोलाको बहाव क्षेत्र, नदी किनार र बगरमा बनाइएका छन् । काठमाडौँ उपत्यकाकै बागमती, विष्णुमती वा बाहिरी जिल्लाका त्रिशूली, कालीगण्डकी, भोटेकोशी, र मेची–महाकालीका किनारमा अव्यवस्थित बस्तीहरू निर्माण भएका छन् ।
वर्षायाममा नदीले आफ्नो पुरानो बाटो खोज्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ ।
बिनाप्राविधिक र भौगर्भिक अध्ययन पहाडका भित्ताहरूमा भारी मेसिनरी चलाएर सडक खन्ने होडबाजी चलेको छ । यसले गर्दा पहाडका कमजोर भूभागहरू थप अस्थिर बनेका छन् ।
पानीको मुहान संरक्षण गर्नुको साटो सुक्दै गएका छन् भने जहाँतहीँ विनाशकारी पहिरोको जोखिम बढेको छ ।
तराईका उर्वर कृषि भूमिलाई खण्डीकरण गरेर काँक्रीटको सहर बनाइएको छ ।
पहाडका मौलिक बस्तीहरू रित्तिँदै छन् भने सहरहरूमा जनघनत्वको अस्वाभाविक चाप छ ।
ढल निकास, हरियाली र खुला क्षेत्रको अभावमा हाम्रा सहरहरू विपद्को धराप जस्तै बनेका छन् ।
पुर्खाले रुख र मुहान जोगाउन अपनाएको आस्था र चेतनालाई आज आधुनिकताका नाममा व्यापार र अतिक्रमणले विस्थापित गरिदिएको छ ।
सार्वजनिक जग्गा, वन र नदी किनार नियन्त्रण गरेर व्यक्तिगत र व्यापारिक भवन ठड्याउने होड चलेको छ ।
प्रकृति विपरीतको बसोबासका कारण नेपालले हरेक वर्ष ठूलो मूल्य चुकाउनु परिरहेको छ । सामान्य वर्षामा पनि भीषण बाढी, पहिरो र कटान हुनु अब सामान्य जस्तै बनेको छ ।
२०८१ सालको असोजमा आएको भीषण बाढी–पहिरोले खोला किनारका बस्तीहरू कसरी क्षणभरमै बगायो भन्ने उदाहरण हाम्रासामु ताजा छ । हरेक वर्ष सयौँ नागरिकले ज्यान गुमाउनु परेको छ भने अर्बौँ रुपैयाँको भौतिक पूर्वाधार नष्ट भइरहेको छ ।
मुहानको संरक्षण नहुँदा र जङ्गल विनाश हुँदा गाउँदेखि सहरसम्म खानेपानीको हाहाकार बढेको छ ।
प्रकृतिसँग लडेर जित्न सकिँदैन, प्रकृतिलाई बुझेर मात्र सुरक्षित हुन सकिन्छ भन्ने पाठ हामीले हाम्रा पुर्खा र हालका प्राकृतिक विपत्तिहरूबाट सिक्नैपर्छ । सुरक्षित र दिगो बसोबासका लागि चाल्नुपर्ने कदमहरूमा अब ढिला भइसकेको छ ।
कुनै पनि स्थानमा बस्ती विकास वा ठूला पूर्वाधार निर्माण गर्नुअघि अनिवार्य रूपमा भौगर्भिक अध्ययन गरिनुपर्छ र जोखिमयुक्त क्षेत्रमा बसोबास रोक्नुपर्छ ।
हाम्रा पुर्खाले अपनाएको मुहान संरक्षण, रुख रोपण र सुरक्षित उँचाइमा बस्ती बसाल्ने ज्ञानलाई आधुनिक प्राविधिक ज्ञान र सीपसँग जोडेर अगाडि बढ्नुपर्छ ।
खोलाको उपत्यका, बगर र प्राकृतिक ढलहरूलाई अतिक्रमण गर्न बन्द गर्नुपर्छ र नदीलाई उसको प्राकृतिक बाटो छोडिदिनुपर्छ ।
स्थानीय तहहरूले भू–उपयोग नीति कडाइका साथ लागू गर्नुपर्छ ।
कृषि क्षेत्र, बसोवास क्षेत्र, र जोखिमयुक्त क्षेत्र स्पष्ट वर्गीकरण गरी एकीकृत बस्ती विकासमा जोड दिनुपर्छ ।
डा. रञ्जनकुमार दाहालले औँल्याउनुभएको हाम्रा पितापुर्खाको ज्ञान केवल इतिहास वा कथा मात्र होइन, यो त नेपालजस्तो भौगोलिक बनावट भएको देशका लागि एउटा वैज्ञानिक जीवनशैली र जीवन रक्षाको मन्त्र हो । ‘
प्रकृतिसँग लडेर होइन, प्रकृतिलाई बुझेर बस्ती बसाउने’ हाम्रा पितापुर्खाको चेतनालाई आज हामीले भुल्दाको परिणाम बाढी र पहिरोको रूप रूपमा भोगिरहेका छौँ । विकासको नाममा विनाश निम्त्याउने वर्तमान बसोबास शैलीलाई तत्काल परिवर्तन गर्नुपर्छ ।
नीतिनिर्माता, प्राविधिक र आम नागरिक सबैले समयमै सचेत भई आफ्ना पुर्खाको अनुभव, प्रकृतिप्रतिको आदर र आधुनिक प्राविधिक ज्ञानलाई मिलाएर सुरक्षित बसोबास प्रणाली निर्माण गर्नु नै आजको मुख्य आवश्यकता हो ।
अन्यथा, प्रकृतिको नियमलाई मिचेर बनाइएका संरचनाहरूलाई प्रकृतिले नै एकदिन बढारेर लैजानेछ ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved