Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

भोटेकोशी बाढीमा अझैं उद्धारको पर्खाइमा मानिस, मेरो मन अधैर्य भइरहेको छ : सांसद खरेल

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले भोटेकोशी बाढीका कारण अझैं पनि विभिन्न स्थानमा मानिसहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् ।

खरेलले बाढी प्रभावित कतिपय मानिस टनेल, कुनाकाप्चा तथा खाल्डाखुल्डीमा थोरै पानी खाएर भए पनि उद्धारको आशामा बसिरहेको हुन सक्ने बताए । ‘अहिले पनि भोटेकोसी बाढीबाट कतै टनेलतिर, कतै कुनाकाप्चातिर र कतै खाल्डोतिर स्वदेशी वा विदेशी मानिसहरु थोरै पानी खाएर भए पनि उद्धारको पर्खाइमा बसिरहेका छन्,’ उनले भने, ‘कोही आउँछ र मेरो जीवन बचाउँछ भनेर पर्खिरहेका छन् कि भन्ने सोचले मेरो मन अधैर्य भइरहेको छ ।’

दर्जनौँ मानिस अझंै जीवनको आशामा उद्धारको प्रतीक्षा गरिरहेको हुन सक्ने उनले बताए । बाढीका कारण ठूलो मानवीय क्षति भएको बताउँदै उनले एक हजारभन्दा बढी शव प्राप्त भएको बताए । 

उनले भने, ‘हामी यो अवस्थामा छौँ । हजार भन्दा बढी शवहरू प्राप्त भएको छ । कयौँको पहिचान भएको छैन । ४ हजारको हाराहारीमा मानिस हराएका छन् । नेपाल सरकारको अगुवाइमा हामीले १२ हजार भन्दा बढीको उद्धार गर्न सकेका छौँ ।’

उनका अनुसार करिब ४ हजार मानिस अझै हराइरहेका छन् । यद्यपि, नेपाल सरकारको अगुवाइमा १२ हजारभन्दा बढी मानिसको उद्धार गर्न सफल भएको उनले बताए । खरेलले विपद्का विषयमा नकारात्मक ‘न्यारेटिभ’ निर्माण नगर्न पनि आग्रह गरे । ‘केही भएको छैन भन्ने होइन, धेरै भइरहेको छ । रातदिन काम भइरहेको छ । तपाईं–हामी सबै लागिरहेका छौँ,’ उनले भने ।

उनले अप्रत्याशित र अकल्पनीय रूपमा आएको बाढीको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिए । साथै, उद्धारका क्रममा विदेशी नागरिकलाई पनि नेपाली नागरिकसरह प्राथमिकतामा राखेर उद्धार गरिएको उनले बताए ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved