विराटनगर । सोलुखुम्बुको थुलुङ दूधकोशीमा निर्माण हुन लागेको ९५.७ मेगावाट क्षमताको अर्धजलाशययुक्त दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनाका लागि २ अर्ब २० करोड रुपैयाँ (२२० करोड रुपैयाँ) बराबरको संस्थागत इक्विटी (स्वपुँजी) लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।
आयोजनाको प्रवद्र्धक दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेड र तीन प्रमुख संस्थागत लगानीकर्ताबीच उक्त लगानी सम्झौता सम्पन्न भएको हो ।
सम्पन्न सम्झौताअनुसार आयोजनामा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले एक अर्ब रुपैयाँ र आँखु खोला जलविद्युत् कम्पनी लिमिटेडले एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । त्यस्तै, गरिमा होल्डिङ्स लिमिटेडले २० करोड रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्ने सहमति गरेको जनाइएको छ ।
करिब १५ अर्ब रुपैयाँ कुल अनुमानित लागत रहेको यस आयोजनामा ७० प्रतिशत ऋण अर्थात १० अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरण (कन्सोर्टियम) मार्फत दीर्घकालीन ऋणका रूपमा परिचालन गरिँदैछ ।
३० प्रतिशत स्वपुँजी (इक्विटी) को अनुपातमा वित्तीय व्यवस्थापन गरिनेछ । जसअनुसार कुल स्वपुँजी हिस्सा ४ अर्ब ५० करोड रुपैयाँ रहनेछ ।
हाल तीन संस्थागत लगानीकर्ताबाट २ अर्ब २० करोड रुपैयाँको प्रतिबद्धता सुनिश्चित भएसँगै अब बाँकी २ अर्ब ३० करोड रुपैयाँ बराबरको स्वपुँजी आयोजनाका मुख्य प्रवद्र्धक समूह, अन्य रणनीतिक साझेदार तथा भविष्यमा निष्कासन गरिने सर्वसाधारण शेयरमार्फत जुटाइने योजना छ ।
प्रवद्र्धक कम्पनीले उक्त १० अर्ब ५० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जा सुविधाका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट ‘आइआरएन बी प्लस’ रेटिङसमेत प्राप्त गरिसकेको छ । जसमा लक्ष्मी सनराइज बैंकको अगुवाईमा अन्य वित्तीय संस्थाले लगानी व्यवस्थापनको काम भइसकेको छ ।
यो आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि प्रसारण जोखिम न्यून रहेको र नजिकैको सबस्टेसनमार्फत विद्युत् प्रवाह गर्ने संरचना तय गरिएको छ ।
कुल ४ वर्षको निर्माण अवधि लक्ष्य राखिएको यस आयोजनाको प्रारम्भिक पूर्वाधार तथा वित्तीय तयारीका कामहरू अगाडि बढिरहेको जनाइएको छ । आयोजनाको निर्धारित व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति सन् २०२६ को जुलाई तोकिएपनि केही ढिलाई भने देखिएको छ ।
आयोजना अघि बढाउनका लागि वित्तीय व्यवस्थापनसहितको ठेक्का प्रक्रियालाई पूर्णता दिने काम अघि बढिरहेकोले अब निर्माण कार्यलाई तीव्रता दिने तयारीमा रहेको प्रवद्र्धक कम्पनीले जनाएको छ ।
तीन संस्थागत लगानीकर्ताको प्रवेशसँगै आयोजनाको वित्तीय बन्दोबस्ती र मुख्य सिभिल निर्माणको कामले अघि बढ्ने जनाइएको छ ।
आयोजना सन् २०२९ जुलाईसम्म सम्पन्न गर्ने लक्ष्य छ । सुरुमा ७० मेगावाटको आयोजना डिजाइन गरी अघि बढाइएपछि पछि परिमार्जन गरी ९५.७ मेगावाट कायम गरिएको हो । यो आयोजनाबाट वार्षिक करिब ४१७ गिगावाट प्रतिघण्टा विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
View : 38
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved