विराटनगर । मुस्ताङस्थित पवित्र मुक्तिनाथ धामबाट शुभारम्भ भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई विराटनगरमा भव्य स्वागत गरी विदाइ गरिएको छ ।
सोमबार अपरान्ह विराटनगर आइपुगेको रथले मंगलबार विराटनगरस्थित भेडियारीमा रहेको ऐतिहासिक विराट राजाको दरवारको संरक्षित भग्नावशेष परिक्रमा गरि धरान रोड हुँदै सुनसरीतर्फ लागेको छ ।
विश्वभरिका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो ।
विराटनगरमा लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नचार्य प्रमुख आयोजक रहेको र कोशी प्रदेशसभा सदस्य तथा कांग्रेस नेता भीम पराजुलीको संयोजकत्वमा बनेको समितिले रथयात्राको सबै व्यवस्थापन गरेका थिए ।
विराटनगरमा रथ यात्रा आइपुग्दा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, धार्मिक अभियन्ता तथा समितिकी उपाध्यक्ष पुष्पलता कोइराला, सचिव किशोर भट्टराई, सदस्यहरू भीखमचन्द सरल, बेनीगोपाल मुन्दडा, जुगलकिशोर राठी, दिनेश खड्का, विभिन्न सुरक्षा अंगका प्रमुख ,धार्मिक तथा सामाजिक अभियन्ताहरूको सहभागीता थियोे ।
कार्यक्रममा बोल्दै संयोजक पराजुलीले शक्तिका साधकहरूका लागि महत्वपूर्ण मानिएको रथ विराटनगरमा आउनु सौभाग्यको विषय भएको बताए ।
मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामीजीले रथयात्रा सम्पन्न भएलगत्तै नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्रनारायण दिव्यधाममा भगवान् श्री गजेन्द्रमोक्ष नारायणको दिव्य विराट महायज्ञ आयोजना गरिने जानकारी दिएका छन् ।
View : 20
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved