Biratnagar, Morang, Nepal
७ मंसिर २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कात्तिकको सर्वोत्कृष्ट प्रहरी घोषित भए तोलाङ्गे

उद्‌घोष संवाददाता
६ मंसिर २०८३, आइतवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक अश्विन तोलाङ्गेलाई कात्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र कर्तव्यनिष्ठाका साथ अपराध अनुसन्धान तथा लागू औषध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक तोलाङ्गेले उदयपुरको बेलका नगरपालिका–३ जगनास्थित गिदेरी खोलाको काँसघारीमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा फरार रहेका समिर परियारलाई खोजतलास गरी पक्राउ गर्न सफल भएका थिए । उनले उक्त घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै बेलका नगरपालिका–९ रामपुर बजारमा पैदलयात्री ५६ वर्षीया लक्ष्मीमाया राईलाई ठक्कर दिई मृत्यु भएको सवारी दुर्घटनामा फरार बोलेरो गाडी तथा चालक प्रेमबहादुर विकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उनले सफलता हासिल गरेका थिए ।

त्यसैगरी बेलका नगरपालिका–७ स्थित पित्लाङ जंगलमा बेवारिसे अवस्थामा लुकाइ राखिएको २ हजार ८ सय २० किलो ५० ग्राम गाँजा बरामद गर्नुका साथै उक्त क्षेत्रमा करिब ६ रोपनी जग्गामा लगाइएको २ हजार २ सय गाँजाका बोट फडानी गरी नष्ट गर्ने कार्यमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, सवारी दुर्घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने तथा लागू औषध नियन्त्रणका क्षेत्रमा अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ ढंगले उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकन गर्दै प्रहरी निरीक्षक तोलाङ्गेलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

View : 35

७ मंसिर २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved