Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

रुइत र पुनको सत्कर्मले सिञ्चित नेपालको भूमि

देशमा जन्मेका अन्य कयौं सपूतहरूमध्ये अरु दुई सपूतको नाम हो- डा. सन्दुक रुइत र डा. महावीर पुन ।
एकराज भट्टराई
७ वैशाख २०८२, आइतवार

नेपाललाई ऋषि-महर्षिहरूको देश भनिन्छ । वेद पुराण र अन्य ग्रन्थहरू लेखिने महर्षिहरूको वासस्थान पनि यही हो । भगवान शंकर, जनक, जानकी भगवान बुद्ध र अरनीको जन्मेको देश पनि यही हो । यिनका पवित्र चरित्रले अनि वीर योद्धाका सत्कर्मले यस भूमिलाई सिंगारेको छ ।  खोलानाल, हिमाल, झरना र जरीबुटीले भरिभराउ यो देशको माटोमा सनातनी उर्वरा शक्ति छ ।

सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने मीनबहादुर शेर्पा, अनि बिना अक्सिजन सगरमाथाको चुचुरोमा नेपाली झण्डा गाढ्ने आङरिता शेर्पाहरू पनि यसै देशमा जन्मेका सपूतहरू हुन् । गितार बजाउने कीर्तिमान र हात समातेर बनाएको मानव श्रृंखलाको  इतिहास पनि यसै देशमा बनेको छ । 
यस्तो देशमा जन्मेका अन्य कयौं सपूतहरूमध्ये अरु दुई सपूतको नाम हो– डा. सन्दुक रुइत र डा. महावीर पुन ।  राजनीति गर्ने केही व्यक्तिले नेपाललाई बदनाम गरे पनि कतिपय विद्वान दार्शनिक र प्राविधिक व्यक्तिहरूले नेपालको नामलाई उठाएका छन् ।

ताप्लेजुङको दुर्गम ठाउँमा जन्मेका डा. सन्दुक रुइत विश्वविख्यात नेत्र चिकित्सक हुन् । कष्टप्रद जीवनबाट उठेका यिनले हजारौ मान्छेलाई उपचार दिएर अन्धोपनबाट मुक्त गरिदिएका छन् । अन्धोपनबाट मान्छेलाई मुक्त गर्न डा. रुइतले सस्तो र प्रभावकारी उपचारविधिको विकास गरेका हुन् । यसै कारणले पनि उनी हजारौ गरिब मानिसको बन्द भएको आँखाको रोशनी फर्काउन सफल भएका छन् । उनले मोतियाविन्दु शल्यक्रिया पद्धतिलाई सस्तो, सुलभ रलोकप्रिय बनाएका छन् । उनले प्रतिपादन गरेको यो प्रविधिबाट संसारको मानिसहरूले जीवन बाँच्ने आशा लिएका छन् । डा.रुइत नेपाली समाजका लागि मात्र होइन विश्वमानवको लागि आ“खाको  देवताका रुपमा चिनिएका नेपाली सपूत हुन् । 

डा. सन्दुक रुइत विपन्न परिवारमा जन्मेका व्यक्ति हुन् । ओलाङचुङ गोलाको विकट गाउँमा जन्मेका प्रतिभाशाली रुइतले संघर्र्ष गर्दै उच्च शिक्षा हासिल गरे । भारतको दार्जिलिङ र नेपालका विभिन्न विद्यालयहरूमा र विश्वविद्यालयहरूमा अध्ययन गरे । त्यसपछि यिनले अस्ट्रेलियाबाट सम्बन्धित विषयमा पोष्ट ग्राजुएशनमा विज्ञता हासिल गरेको पाइन्छ । यसरी यिनले नेत्र चिकित्सक हुने आफ्नो सपना पूरा गरे ।

डा. सन्दुक रुइतले किङ एडवार्ड मेमोरियल अस्पतालमा अध्ययन पूरा गरेका थिए । त्यस्तै अस्ट्रेलियाको फ्रेड होलोज इन्स्टिच्युटसँग सहकार्य गरेर आँखा सम्बन्धी रोगको अध्ययन उपचार विधिमा सक्रिय भई कार्य गरेका थिए ।  त्यहाँ उनी मोडेल चिकित्सकका रुपमा सम्मानित पनि भएका थिए । उनले फ्रेड होलोजसँग मिलेर दृष्टि क्रान्ति ल्याएका थिए । डा. रुइतले नेपाल, चीन, भुटान, म्यानमार, भारत, इथियोपिया, कोरिया, इन्डोनेसिया आदि देशहरूमा गएर त्यहा“का हजारौ मान्छेको अन्धोपनको निःशुल्क उपचार गरेका छन् । उनले नेपालको तीलगंगा आई सेन्टरमार्फत विश्वका गरिब समुदायका मान्छेहरूलाई सस्तो र भरपर्दो अनि प्रभावकारी ढंगले आँखाको उपचार दिएका हुन् । यिनलाई नेपालका राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिन्छ ।

नेपाल सरकारले डा. रुइतलाई राष्ट्रिय गौरव पुरस्कारबाट सम्मान गरेको छ । विश्वका अन्य धेरै देशले त्यहा“का महत्वपूर्ण पुरस्कारबाट सम्मानित गरेको पाइन्छ । साधारण देखि साधारण सबै मान्छेले डा. रुइतलाईदृष्टिका भगवान भनेर  आदरपूर्वक स्मरण गर्ने गरेका छन् ।उनी म्यागासासे पुरस्कारबाट र सीएनएन हिरो जस्ता कयौं पुरस्कारबाट सम्मानित भएका छन् । नेपालका विभिन्न सामाजिक संस्थाहरुले पनि उनलाई सम्मान गरेका छन् । तिलगंगा आ“खा अस्पतालको स्थापना गर्ने डा. रुइतलाई मानवताका प्रतीकका रुपमा संसारले चिन्दछ । आज पनि उनी मान्छेलाई  आ“खाको रोशनी प्रदान गर्न त्यत्तिकै सक्रिय छन् । यिनको प्रेरणाप्रद व्यक्तित्वबाट हामी नेपालीहरु सिंचित छौं ।

डा. महावीर पुन पश्चिम नेपालको म्याग्दीमा जन्मेका नेपाली छोरा हुन् । नेपालको विकट गाउँमा जन्मेका पुनको बाल्यकाल अत्यन्त अभावमा बित्यो । खाने, लाउने समस्याबाट मुक्त हुन नसकेको यिनको वाल्य–जीवन अत्यन्त टिठ लग्दो थियो । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ उनले लेखेको उनकै जीवनीपरक पुस्तक हो । यस पुस्तकमा उनले आफ्नो बाल्यकाल, गाउँको अवस्था, शिक्षाको स्थिति, स्कूल, अभाव, संघर्ष, कलेज विदेश यात्रा, विदेशी भूमिको बसाइँ, पढाइ, सहयोग अनि आफूले नेपाल फर्केर नेपालमा इन्टरनेट प्रविधिको विकासका लागि गरेका कामको बारेमा विवरणात्मक घटनालाई प्रस्तुत गरेका छन् ।

ग्रामीण प्रविधिमा भनौं– सूचना तथा सञ्चारको नवप्रवर्तन अनि समाजसेवाका क्षेत्रमा यिनको ठूलो योगदान छ । एक प्रकारले उनी त्यस क्षेत्रका विज्ञ नै मानिन्छन् । नेपालका गाउँमा इन्टरनेटको विस्तार गर्ने पहिलो प्रतिभाका रुपमा नेपाली समाजले उनलाई चिन्दछ ।  कृषि, शिक्षा, स्वास्थ्य जस्ता कुरामा नयाँ प्रविधिमार्फत यिनले नवप्रवर्तनको अभियान चलाउ“दै छन् । हाल उनी राष्ट्रिय आविष्कार केन्द्रमार्फत स्थानीय प्रविधि–विकास अनि ग्रामीण समाधान र वैज्ञानिक अनुसन्धानमा समर्पित छन् । नेपालका युवालाई स्वरोजगार नवप्रवर्तनमा जोड्न लागिपरेका छन् । यिनलाई विश्वले ग्रामीण प्रविधिका योद्धा वा सर्जकका रुपमा चिन्दछन् ।

डा. पुनले गाउँको विकासका लागि घरेलु उद्योग खोल्ने प्रयास गरे । त्यसका लागि उनले गाउँका जनतालाई प्रोत्साहित पनि गरे । गाउँका विद्यालयको आर्थिक अवस्थामा सुधार ल्याउन यिनले अनेक नयाँ योजनाहरू अगाडि सारे । यिनका सत्कर्मले यिनलाई विश्वविख्यात बनाएको छ । नेपालका विभिन्न संस्थाले यिनलाई सम्मान गरेका छन् । डा. पुनलाई विष्णुमाया पुस्तकालय विराटनगर, विराटनगर महानगरपालिका, बबरसिंह देवकुमारी थापा सेवा गुठीले सम्मान र पुरस्कृत गरेका छन् । यिनका सत्कर्मलाई नेपाल सरकारले खासै सहयोग गरेन ।

त्यसैले यिनले आफ्नै जीवनमा आधारित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक जीवनपरक किताब लेखेर केही अर्थ संकलन गरी विगत ३० वर्षदेखि बन्द रहेको कृषि औजार कारखानाको मर्मत र व्यवस्थापन गर्नेे प्रयासमा लागेका छन् । त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रको नामबाट व्यावहारिक अनुसन्धानको कार्य गर्ने उद्देश्य पनि यिनले लिएका छन् । आफ्नो जीवनपरक पुस्तकको बिक्रीबाट उठेको पैसालाई डा. पुनले त्यस्तै सत्कर्ममा उपयोग गरिरहेका छन् । आफूले गरेका सबै कामबाट कतै सफलता र कतै असफलता पाए पनि त्यो पक्ष सबैका लागि प्रेरणाप्रद हुन्छ भन्ने उनको सोचाइ छ र विश्वास पनि छ । 

डा. महावीर पुन अहिले बिपन्नता, अविकास र सीमित स्रोत र साधनका बीचमा काम गर्दै छन् तर पनि विश्वमा नेपाललाई नयाँ रुपमा चिनाउने सत्कर्ममा लागेका छन् । भ्रष्टाचार र कमिशनखोरीले डुबेका देशमा अझै पनि प्रविधिका माध्यमले केही गर्न सकिन्छ कि भन्ने आशा बोकेर नेपालका प्रत्येक जिल्लामा आफ्नो कृति बेच्दै अर्थ संकलन गर्दै हिंडेका छन् । 
कति समस्या पर्दा पनि नआत्तिने, अनि दुःख पर्दा पनि धैर्यता नगुमाउने साहसी, सहयोगी चरित्र भएका व्यक्ति हुन्  डा. पुन । जीवनबाट कहिल्यै पनि नथाक्ने र आफूले गरेका वा थालेका कामलाई पूरा गर्ने अठोट भएका योद्धा हुन् उनी । 

म्याग्दीको गाउँमा जन्मेर त्यहीँ क ख सिकेर पढाइकै सिलसिलामा चितवन हुँदै काठमाडौं पुगेका प्रतिभाशाली बालक पुन गाउँमै फर्केर शिक्षकका रुपमा काम गर्न थाल्छन् । त्यसपछिको जीवनी- मोडले उनलाई अमेरिका पुर्याउँछ । डा. पुनले नेब्रास्काको युनिभर्सिटीमा स्नातक पूरा गर्छन् । त्यसपछि नेपाल फर्केर गाउ“को विकासमा संलग्न हुन्छन् । वैज्ञानिक अनुसन्धानमा समर्पित डा. पुन युवाहरूलाई स्वरोजगार र नवप्रवर्तनमा जोड्ने काममा सक्रिय हुन्छन् । यिनी प्रसिद्ध समाजसेवी व्यक्ति हुन् । विश्वले यिनलाई ग्रामीण प्रविधिका योद्धाको रुपमा चिन्दछ । म्यागासासे पुरस्कारबाट सम्मानित यिनले नेब्रास्का युनिभर्सिटीमा पनि डिष्टिङगुइस्ट अल्मुनाइ अवार्ड प्राप्त गरेका छन् ।

महावीर पुनको जीवनीपरक पुस्तक पढ्दा यस्तो लाग्छ कि उनी संघर्षका देवता हुन् । कहा“बाट कसरी यिनले त्यो लगनशीलता, हिम्मत र धैर्यता प्राप्त गरे ? गजब लाग्छ । कत्ति गर्दा पनि नहार्ने, नथाक्ने र आफूलाई निरन्तर समाजसेवीका रुपमा चिनाउन इच्छा गर्ने डा. पुन सबै नेपालीका लागि आदरणीय छन् । देश र जनताको उत्थानका लागि नयाँनयाँ प्रविधिको विकास गर्ने सोच उनमा छ ।

नेपाली युवालाई विदेश पलायन हुन नदिने, नेपालमा रोजगारीको सिर्जना गर्ने, प्रशस्त मात्रामा नयाँ उद्योग खोल्ने, व्यावहारिक अनुसन्धान र नवप्रवर्तनमा अगाडि बढ्ने, त्यस्तै सिर्जनशील प्रतिभालाई उठाउने, नेपालको अर्थतन्त्रलाई बचाउने अनि कृषकहरूको उत्थानका लागि नयाँ कृषि प्रविधिको विकास गर्ने पवित्र सोच डा. पुनमा छ  ।  प्रविधि–विज्ञ, उदारमना, देशभक्त, निस्वार्थी, नेपाल आमाका दुई सपुत डा. सन्दुक रुइत र डा. महावीर पुन सम्पूर्ण नेपालीका लागि स्वाभिमानका दर्पण हुन् । जसको चरित्रको उज्यालोले आज विश्वलाई नै स्पर्श गरिरहेको छ । 

View : 159

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved