Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बाढी पहिरोको महाप्रकोप : इलाममा जुट्दै प्रदेश सरकार

इलामबाटै प्रदेश सभामा निर्वाचित भएका कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले इलाम र झापाका विभिन्न पालिकामा पुगेर पालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।
बाबुराम भण्डारी
२४ असोज २०८२, शुक्रवार

बाढी प्रभावित जिल्ला इलाममा कोशी प्रदेश सरकारका मन्त्रीहरु । तस्वीर : उद्घोष

विराटनगर । बाढी पहिरोमा परि ३९ जनाको ज्यान जानुका साथै करिव एकसय वटा घर पूर्ण रुपमा क्षति भएपछि कोशी प्रदेश सरकारसहित विभिन्न राजनीतिक दलका नेताहरु अहिले इलाम फर्किएर सान्त्वना, सहयोग र राहत उपलब्ध गराउन जुटेका छन् ।

असोज १८ र १९ गतेको बाढी पहिरोमा परी अझै पनि दुई दर्जन सर्वसाधारण घाइते अवस्थामा उपचाररत रहेका छन् । 

इलाम प्रवेश गर्ने मेची राजमार्ग क्षतिग्रस्त बनेको छ भने अन्य प्रमुख भित्री सडकसमेत अवरुद्ध बनेको बेलामा दलहरूले आफ्नो उपस्थिति बढाएका हुन् ।

प्रदेश सरकारका तीन मन्त्री इलाम केन्द्रित छन् । उनीहरू बिहीवारदेखि विभिन्न पालिकामा अवरुद्ध भएका सडक खुलाउनका लागि सहजीकरण गरेका छन् । 

इलामबाटै प्रदेश सभामा निर्वाचित भएका कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले इलाम र झापाका विभिन्न पालिकामा पुगेर पालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।

उनीहरूले इलामको माई खोला र मैयुङ खोलाको बाढी तथा पहिरोले पुर्याएको क्षतीको निरीक्षण गरेका छन् । 

मन्त्रीहरूको टोलीले सूर्योदय नगरपालिकाबाट माईजोगमाई जाने बाटोमा पर्ने पुल बगाएको स्थानको निरीक्षण गरेको छ । उक्त सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सडक यातायात सहज बनाउने काम बिहीवारबाटै सुरु गरिएको आर्थिक मामिला तथा योजनामन्त्री मगरले बताए । 

जिल्लाभित्र अवरुद्ध बनेका सवै सडक सञ्चालनमा आउन करिव एक साता लाग्ने जानकारी दिए । सडक खुलाउन विभिन्न ठाउँमा डोजर स्काभेटरले काम सुरु गरिसकेको भएपनि खोलाहरूमा भने समस्या हुने बताए । 

‘पहिरोले गर्दा अहिलेसम्म माईजोगमाईको मुकाम जोड्नै सकिएको छैन, त्यहाँ राहत सामग्री लैजाने समेत बाटो छैन’ मन्त्री मगरले भने, ‘बाढी पहिरोका कारण माईजोगमाई जोड्ने सडक क्षतिग्रस्त छ, पहिरो पन्साउने काम सुरु भइसकेको छ तर मैयूँ खोलामा तर्न भने कठिन छ, प्रदेश सरकारको तर्फबाट मैयूँ खोलामा ह्यूमपाइप लगाएर अस्थायी रुपमा यातायात चलाउने प्रयास अघि बढाएका छौं, सवै सडक सञ्चालनमा आउन एक साताजति लाग्न सक्छ ।’

उनले देउमाई नगरपालिकाको गजुरमुखीमा देउमाई खोलाको पुलको पश्चिमपट्टिको भाग बगाएका कारण यातायात संचालनमा कठिनाई भएको जानकारी दिए । 

त्यस्तै माई नगरपालिकामा चारवटा झोलुङ्गे पुलमा क्षति पुगेको र जमिन कटान भएको बताए । प्रदेश सरकारको तर्फबाट माईका बाढी पहिरो पीडितहरूलाई बिहीवार राहत सामग्री वितरण गरिएको जानकारी दिए । 

इलाममा प्रदेश सरकारका मन्त्री मात्रै पुगेका छैनन्, गत उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेता सुहाङ नेम्वाङदेखि रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू पनि प्रभावित क्षेत्रमा पुगेर पीडितहरूलाई सान्त्वना दिइरहेका छन् ।

उनीहरूले क्षतिको अवलोकन गर्नेदेखि विभिन्न तह र निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको जनाइएको छ । 

युवा नेता नेम्वाङले बाढी पहिरोबाट भत्किएका सडक खुलाउने र प्रभावित परिवारलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने विषयमा सरकारी निकायमा ध्यानाकर्षण गराइरहेको दाबी गरेका छन् । उनले बाढी पहिरोपछि इलाम जिल्लालाई तत्कालै संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेको जानकारी दिंदै बिहीबार नै सरकारले तीन महिनासम्मका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेर जनताको आवाज सुनेको बताए । 

रास्वपाका युवा नेता मिलन लिम्बूले देउमाईमा बनेको पक्की पुलमा क्षति पुग्ने गरी देउमाई खोलाको बाढीले सदरमुकामसँग सम्बन्ध टुटेको बताए । उक्त पुलले देउमाईलाई सदरमुकामसँग जोड्ने काम गरिरहेकोमा अहिले असहज बनेको उल्लेख गरे ।

‘केही वर्ष अगाडि देउमाई खोलामा पक्की पुल बन्यो र सदरमुकामसँग हिउँदमा सम्बन्ध कायम हुन्थ्यो तर, पछिल्लो वर्षाका कारण ठूलो बाढी आयो । बाढीले पुल र माङसेबुङ क्षेत्रको सम्बन्ध टुटायो’ लिम्बूले भने, ‘पुल जोडिएको जमिन कटान गरेर खोलाले बगायो, अब फेरि पश्चिमी क्षेत्र र सदरमुकामको सडक सम्बन्ध टुट्यो ।’

बाढीले क्षति पुर्याएपछि देउमाई नगरपालिका जोड्ने पैदल मार्गसमेत प्रभावित भएको छ । 

पैदल मार्गलाई सञ्चालन गर्न माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङसहित स्थानीय युवाहरूको पहलमा देउमाई खोलामा फड्के हालिएको जनाइएको छ ।

View : 457

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved