Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

सिरुवा पर्व शुरु

मोरङका कोच राजवंशी समुदायले नयाँ बर्ष बैशाख १ को पूर्व सन्ध्याबाट तीन दिनसम्म सिरुवा पर्व मनाउँछन् । तराईका अन्य जिल्लाहरुमा बैशाख १ देखि ३ गतेसम्म सिरुवा मनाउने गरिए पनि मोरङका कोच राजवंशी समुदायले भने चैत महिनाको अन्तिम दिनबाटै सिरुवा मनाउन शुरु गर्छन् ।
उद्‌घोष सम्वाददाता
१ वैशाख २०८२, सोमवार

विराटनगर । नयाँ वर्षको पूर्व सन्ध्यामा तराई मधेशमा मनाइने सिरुवा पर्व शुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन मोरङमा काद सिरुवा मनाइएको छ ।

मोरङका कोच राजवंशी समुदायले एक अर्कालाई हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा मनाएका हुन् ।

मोरङका कोच राजवंशी समुदायले नयाँ बर्ष बैशाख १ को पूर्व सन्ध्याबाट तीन दिनसम्म सिरुवा पर्व मनाउँछन् । तराईका अन्य जिल्लाहरुमा बैशाख १ देखि ३ गतेसम्म सिरुवा मनाउने गरिए पनि मोरङका कोच राजवंशी समुदायले भने चैत महिनाको अन्तिम दिनबाटै सिरुवा मनाउन शुरु गर्छन् । 

काद सिरुवा अर्थात हिलो खेल्दै उनीहरुको सिरुवा पर्व शुरु हुन्छ । सो अवसरमा मोरङको कटहरी गाउँपालिकास्थित राजवंशी समाज विकास समिति र राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रले काद सिरुवा पर्वको आयोजना गरेको हो ।

सो अवसरमा कटहरी–३ मा रहेको ग्रामथानमा भेला भएका समुदायका युवायुवतीसहित सबैले एकअर्कालाई हिलो छ्यापाछ्याप गरि काद सिरुवा मनाएका हुन् । 

बिदा हुन लागेको बर्षमा भए गरेका गल्तीहरुलाई हिलोसँगै पखालेर नयाँ वर्षको स्वागत गर्न काद सिरुवा मनाउने गरिएको राजवंशी समाज विकास समितिका बरिष्ठ सल्लाहकार भीमराज राजवंशीले बताए । 

सिरुवा आउनुभन्दा १५ दिन अगावैबाट यो पर्वको तयारी शुरु हुने गरेको छ । नयाँ बर्ष हरेक हिसाबले शुभ रहोस् कामनाका साथ पहिलो दिन काद सिरुवा, दोस्रो दिन पानी सिरुवा र तेस्रो दिन रङ सिरुवा मनाउने गरिएको कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले जानकारी दिइन् ।

सिरुवा पर्व शुरु गर्नुअघि ग्राम देउतालाई प्रसाद, नैवेद्य र दूध अर्पण गरी सुखशान्तिको कामना गरिन्छ । त्यसलगत्तै सिरुवाको रमाइलो शुरु हुन्छ । 

हिलो सिरुवा खेल्ने क्रममा एकअर्कालाई हिलोकै टीका लगाई आफू भन्दा ठुलाबाट आशीर्वाद थाप्ने गरिन्छ भने चेलीबेटीलाई माइतमा आमन्त्रण गर्ने चलन समेत छ । सिरुवालाई नयाँ बर्षको शुरुआत गर्ने पर्वका रुपमा लिन सकिने राजवंशी समाज विकास समितिका अध्यक्ष सुबन्त राजवंशीले बताए । 

मिथिलाञ्चल सहित तराईका जिल्लाहरुमा समेत तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाइन्छ । 

सिरुवा राजवंशी, ताजपुरिया, गन्गाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाललगायत आदिवासी समुदायले समेत सांस्कृतिक पर्वको रुपमा मनाउँछन् । 

सिरुवाको अवसरमा वैशाख १ गतेबाट सुनसरी,मोरङ र झापाका विभिन्न ग्रामीण बस्तीहरुमा फरक फरक ठाउँमा एक महिनासम्म पारम्परिक मेला समेत लाग्ने गर्छ ।

View : 229

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved