Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

पूर्वमेयर शिवाकोटीलाई धरौटीमा छाड्न उच्चको आदेश

उद्‌घोष सम्वाददाता
२६ वैशाख २०८२, शुक्रवार

विराटनगर । आफ्नै संरक्षणमा राखिएकी नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका बिर्तामोडमा पूर्वमेयर ध्रुबकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । 

उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले बिहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा ‘निर्दोष हुँ भन्न सकिने स्थिति नभएको’ भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अदालतले थुनामा पठाए पनि अस्वस्थताको कारण देखाउँदै पूर्वमेयर शिवाकोटी बिर्तामोडको बिएण्डसी अस्पतालमा ५ महिनादेखि बसिरहेका थिए । 

जिल्ला अदालतले थुनामा पठाउन गरेको बेरितको आदेश बदर गरिपाउँ भन्दै उनले उच्च अदालतमा निवेदन दिएका थिए । त्यसपछि चार पटकसम्म पेशी स्थगित हुँदै आएको थियो । यसपटक पेशीमा सुनुवाई हुँदा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

पूर्वमेयर शिवाकोटीको घरमा घरेलु कामदारका रुपमा काम गर्दै पढ्दै आएकी १५ वर्षीया बालिकाले पहिले यसबारे कहिल्यै नभनेको तर आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्रै यसबारे भन्न थालेको आफ्नो आदेशमा भनेको छ ।

‘यसमा प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षौैदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्दै आएको भन्ने निजको हजुरआमाको किटानी जाहेरी रहेको तर सो भन्दा अगावै यी पीडितको हजुरआमासँग निजको पटकपटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितको मौकाको कागज रहेकोमा सो तथ्य आफ्नो हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइदैन’, अदालतले भनेको छ । 

आदेशमा अगाडि भनिएको छ ‘यी पिडित आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्र मिति २०८१–०८–१५ को जवरजस्ती करणीको वारदात देखाई मिति २०८१–०८–२४ मा जाहेरी परेको देखिन्छ ।

तर यी पीडित प्रतिवादीकै संरक्षणमा बसी प्रतिवादीले सात वर्षदेखि सहयोग गर्दै आएको र निज प्रतिवादीकै कारण भविष्य उज्वल भएको भनी वारदात भएको भनिएको भोलिपल्ट अर्थात मिति २०८१–०८–१६ मा विर्तामोड नगरपालिकामा स्वयम् पीडितले निवेदन दिएको मिसिल संलग्न प्रमाण कागजवाट देखिन आउँछ ।’ 

आफ्ना साथीहरुलाई पनि कहिल्यै नभनेको उल्लेख गर्दै अदालतले भनेको छ, ‘विगत तीन वर्षदेखि प्रतिवादीले जवरजस्ती करणी भएको भनिएकोमा प्रतिवादीकै घरमा बसी पीडितसँगै एउटै कोठामा सुत्ने आफ्नो साथीहरू वसन्ती हास्दा र मञ्जली हास्दालाई सो तथ्य कहिले पनि खुलाएको देखिन आउँदैन भने पीडितको मौकाको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञको रायमा ‘हिष्ट्री एण्ड एक्जामिनेसन डज नट एड्ज्याक्टली म्याच’ भन्ने उल्लेख भएको देखिन्छ ।’ 

यिनै विषयलाई आधार मान्दै अदालतले झापा जिल्ला अदालतको आदेश बदर गरेको हो । 

अदालतले अगाडि भनेको छ, ‘यसरी मिसिल संलग्न कागजजातबाट प्रतिवादीको स्वास्थ्य अवस्था, वारदात भएको भनिएको स्थान एकान्त स्थान नभई घर परिवारका सदस्यहरू रहेकै घरकोठा देखाइएको अवस्थामा सो घरमा बस्ने वारदात प्रत्यक्ष थाहा पाउन सक्ने व्यक्तिहरूको कागजमा उल्लेखित व्यहोराको विश्लेषण नगरी प्रतिवादीलाई पुर्पक्षको निमित्त थुनामा राख्ने गरी भएको तहाँ अदालतको मिति २०८१–९–२२ का आदेश मिलेको नदेखिदा बदर गरिदिएको छ ।’

अदालतले आदेशमा भनेको छ ‘वारदातको प्रकृति एवं प्रतिवादीको आर्थिक हैसियत समेतको रोहमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम हाल यी प्रतिवादीबाट नगद २० लाख वा सो बराबरको जमानत वा बैंक जमानत माग गरी दिएमा लिई मुद्दाको पुर्पक्षको निमित्त तारेखमा राख्नुहोला ।’

पूर्वमेयर शिवाकोटीको घरमा घरेलु कामदारका रुपमा काम गर्न बसेकी उनी स्कुलकै पोशाकमा भागेर भारततिर गइरहेका बेला आफन्त नेपालले कांकडभिट्टा नाकाबाट उद्धार गरेको थियो । 

त्यहाँबाट उनलाई अभिभभावकको जिम्मा लगाउन खोज्दा उनले आफ्नो आमाबुबा नभएको, हजुरआमाले मेयरको घरमा राखिदिएको तर उनीबाट पटकपटक बलात्कतृत भएको बयान दिएकी थिइन् । लगत्तै पक्राउ परेका पूर्वमेयर भने हिरासत नबसी अस्पताल नै बसेका थिए ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved