रंगेली नगरपालिका–३ निवासी (नाम परिवर्तन) सरिता, ५२ वर्षीया गृहिणी हुन् । उनी खेतीपाती गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएकी छन् ।
उनको परिवारमा दुई छोरा, एक बुहारी र पाँच वर्षका एक नाति छन् ।
करिब ३० वर्षअघि विवाह भएको थियो ।
विगत दुई वर्षदेखि श्रीमान् दीर्घरोगका कारण बिरामी रहनुभएको थियो र नियमित उपचार गराइरहनुभएको थियो ।
अन्ततः २०८१ साल साउनमा श्रीमानको निधन भयो ।
श्रीमानको निधनपछि उनको व्यवहारमा उल्लेखनीय परिवर्तन देखिन थाल्यो ।
उनी कहिले अत्यधिक हाँस्ने, कहिले काम्ने, आफूलाई देवी–देवताले छोएको वा शक्ति प्राप्त भएको बताउने, शिवजी आफ्ना इष्टदेवता भएको भन्दै घरअगाडि मन्दिर निर्माण गर्ने तथा धार्मिक तस्वीरहरू टाँस्ने गर्थिन् ।
घरका सदस्यहरूप्रति असहिष्णु बन्दै जाने, छोराछोरी तथा बुहारीलाई गाली गर्ने, ‘तिमीहरूले पूजा नगरेकाले मलाई यस्तो भएको हो’ भन्ने जस्ता अभिव्यक्ति दिने गर्थिन् ।
आफन्त वा छिमेकी भेट्न आउँदा पनि किन आएका ? के काम छ ? भन्दै आक्रोश व्यक्त गर्थिन् । उनी कसैसँग बस्न वा कुराकानी गर्न इच्छुक थिइनन् । यस अवस्थाले परिवार निकै चिन्तित बनेको थियो ।
जनप्रतिनिधिबाट प्राप्त सूचनाका आधारमा मनोसामाजिक परामर्शकर्ताको रूपमा पहिलो पटक घरमा भेटघाट गरियो ।
प्रारम्भमा सेवाग्राही अत्यन्त असहयोगी थिइन् ।
उनी एक ठाउँमा बस्न नमानेर छटपटाइ रहन्थिन् र संवाद गर्न कठिन थियो ।
सक्रिय श्रवण, सहानुभूतिपूर्ण व्यवहार, सम्मानजनक संवाद तथा विश्वास निर्माण गर्ने प्रयास निरन्तर गरियो ।
कुराकानीकै क्रममा उनको भावनालाई स्वीकार गर्दै स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएर चिकित्सकसँग परामर्श गर्ने प्रस्ताव राखियो ।
सुरुमा उनले आफूलाई कुनै समस्या नभएको भन्दै अस्वीकार गरिन् र परामर्शकर्तालाई नै अस्पताल जान सुझाव दिइन् ।
तर धैर्यपूर्वक सम्बन्ध निर्माण गर्दै हामी दुवैसँगै जाऔँ भन्ने आग्रहपछि उनी अस्पताल जान सहमत भइन् ।
उहाँलाई कोशी अस्पतालमा मनोचिकित्सक डा. सचिन नेपालीसँग परामर्श गराइयो ।
थप मूल्याङ्कनका लागि नोबेल शिक्षण अस्पतालमा मनोचिकित्सक डा. मुक्ति आचार्यकहाँ रेफर गरियो ।
चिकित्सकीय मूल्याङ्कनपछि करिब १२ दिन अस्पतालमा भर्ना भएर उपचार गरियो । अस्पताल बसाइका क्रममा पनि परिवारसँग नियमित सम्पर्क राख्दै उपचारमा निरन्तरता र सहयोग सुनिश्चित गरियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि नियमित औषधि सेवन, व्यायाम तथा घरमै निरन्तर मनोसामाजिक परामर्श प्रदान गरियो ।
नौ पटकसम्म गरिएको घरभेटमा तनाव व्यवस्थापन, भावनात्मक अभिव्यक्ति, आत्मबल अभिवृद्धि, समस्या समाधान सीप तथा पारिवारिक सहयोग सुदृढीकरणमा केन्द्रित परामर्श प्रदान गरियो ।
निरन्तर उपचार, परिवारको सहयोग र नियमित मनोसामाजिक परामर्शपछि सेवाग्राहीको व्यवहारमा उल्लेखनीय सुधार देखियो ।
उनी पहिलेको तुलनामा शान्त, सहयोगी र खुला रूपमा आफ्ना भावना व्यक्त गर्न सक्ने भइन् ।
परिवारसँगको सम्बन्ध पनि सुधार हुँदै गयो । उनले नियमित रूपमा औषधि सेवन गर्न थालेकी छन् र दैनिक गतिविधिमा सक्रिय सहभागिता जनाउन थालेकी छन् ।
हाल उनी आत्मविश्वासका साथ आफ्ना समस्याको सामना गर्न सक्ने अवस्थामा पुगेकी छन् ।
सेवाग्राहीले आफ्नै शब्दमा भनिन्, ‘पहिला मलाई लाग्थ्यो मेरो जीवन यत्तिकै रहेछ ।
काम गर्न मन लाग्दैनथ्यो, रातभर छटपट हुन्थ्यो र आफ्नो आत्मबल नै हराएको जस्तो लाग्थ्यो ।
जब मनोसामाजिक परामर्शकर्तासँग भेट भयो, कसैले त मेरो पीडा बुझ्न खोज्दैछ भन्ने अनुभूति भयो ।
सुरुमा मैले उहाँलाई गाली पनि गरेँ, तर उहाँले साथ छोड्नुभएन । आज मेरो मन धेरै हलुका भएको छ ।
अहिले म आफैँमा धेरै परिवर्तन भएको महसुस गर्छु र आफ्नो समस्याको सामना गर्न सक्ने आत्मविश्वास फर्किएको छ ।’
यो केसले गम्भीर मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिसँग काम गर्दा धैर्यता, सहानुभूति, निरन्तर सम्पर्क र विश्वास निर्माण कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट देखायो ।
प्रारम्भमा सहयोग गर्न अस्वीकार गर्ने सेवाग्राही पनि सम्मानपूर्ण व्यवहार, परिवारसँगको समन्वय, समयमै मनोचिकित्सकीय उपचारमा रेफरल तथा नियमित मनोसामाजिक परामर्शको माध्यमबाट उल्लेखनीय रूपमा सुधार हुन सक्ने रहेछ ।
यस अनुभवले समुदायस्तरमा मनोसामाजिक परामर्श सेवा र मानसिक स्वास्थ्य उपचारबीचको समन्वयले सेवाग्राहीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने महत्वपूर्ण सिकाइ प्रदान गरेको छ ।
(सविता दाहाल, रंगेली नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता हुन् ।)
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved