विराटनगर । यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट मोरङले लामो समयपछि प्रत्यक्ष निर्वाचित महिला सांसद पाएको छ । शैलजा आचार्यपछि पहिलोपटक दुई जना महिला प्रत्यक्षतर्फबाट बिजेता बनेर प्रतिनिधिसभामा पुगेका छन् ।
जनताको मतको परीक्षामा उत्तीर्ण बनेका उनीहरू अब आफूहरू एजेन्डाको परीक्षातिर अघि बढेको बताउँछन् ।
मोरङका दुई निर्वाचन क्षेत्र ५ र ६ बाट यस पटक प्रतिनिधिसभामा निर्वाचित दुई महिला सांसदको उदयले नयाँ पुस्ताको प्रतिनिधित्वसमेत गराएको छ ।
फरक पृष्ठभूमिबाट आएका आशा झा र रूबिना आचार्य दुवैको विगत सामाजिक सक्रियता नै थियो । उनीहरू दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिजेता बनेर सदन पुगेका हुन् ।
विराटनगर महानगरपालिका–१३ का बस्तीमा वर्षौंदेखि ‘स्वास्थ्य दिदी’ का रूपमा परिचित आशा झा अहिले संसद पुगेकी छन् ।
सामान्य स्वास्थ्य स्वयंसेविकाको भूमिकाबाट समुदायको विश्वास जितेकी उनले यसपटक मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरिन् ।
१६ वर्षसम्म गर्भवती महिला, बालबालिका र परिवारका स्वास्थ्यसम्बन्धी सचेतनामा सक्रिय रहँदै आएकी ४२ वर्षीया झा सामाजिक कामकै आधारमा राजनीति प्रवेश गरेको बताउँछिन् । अब नीति निर्माण तहमा पुगेर काम गर्ने अवसरलाई ठूलो जिम्मेवारीका रूपमा लिएको उनको भनाइ छ ।
उनका अनुसार राजनीति रोजाइभन्दा आवश्यकता बनेर आएको हो । जेनजी आन्दोलनले उनलाई ‘नीति बनाउने ठाउँमै पुग्नुपर्छ’ भन्ने निष्कर्षमा पुर्याएको उनको भनाइ छ ।
‘समाजसेवाले मात्र पुग्दैन, परिवर्तनका लागि नीति निर्माणमै पुग्नुपर्छ भन्ने महसुस भयो’ उनी भन्छिन् ।
निर्वाचित भइसकेपछि सांसदका रूपमा उनका प्राथमिकता के हुन् ? उद्घोषको प्रश्नमा उनले भनिन्– ‘मोरङ–५ का लागि मेरा प्राथमिकता स्पष्ट छन्– सडक पूर्वाधार सुधार, रोजगारी सिर्जना र कृषि प्रवद्र्धन ।’
यसबाहेक विगतमा उद्योग–धन्दाको केन्द्र मानिएको विराटनगर पूनः औद्योगिक रूपमा सक्रिय हुनुपर्नेमा उनले जोड दिइन् ।
साथै, ऐतिहासिक तथा पर्यटकीय सम्भावनालाई उपयोग गर्ने योजना पनि उनको एजेन्डामा समावेश छ ।
त्यस्तै मोरङ–६ बाट निर्वाचित ३१ वर्षीया रूबिना आचार्यले पनि स्थापित नेताहरूलाई पराजित गर्दै संसद यात्रा तय गरेकी हुन् ।
विराटनगरमै जन्मिएकी रूबिनाले व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेकी छन् । अध्ययनसँगै उनले सामाजिक र राजनीतिक गतिविधिमा सक्रियता बढाइन् ।
वैकल्पिक राजनीतिक अभियानदेखि विभिन्न आन्दोलनसम्म उनको संलग्नता रहँदै आएको छ । महिला अधिकार, नागरिक मुद्दा र पारदर्शी शासनका पक्षमा उनी निरन्तर आवाज उठाउँदै आएकी छन् ।
उनका अनुसार राजनीतिमा प्रवेश गर्ने प्रेरणा महिला प्रतिनिधित्वकै अभावले दिएको हो ।
यदि हामीजस्ता महिलाहरू आफैं अघि नआउने हो भने परिवर्तन कसरी सम्भव हुन्छ भन्ने प्रश्नले उनलाई चुनावी मैदानमा उत्रन प्रेरित गरेको थियो । हामीले उनलाई पनि सोधेका छौं, सांसदका रूपमा आफ्नो क्षेत्रका कुन विषय तपाईंको मुख्य प्राथमिकतामा पर्छन् ?
मोरङ–६ मा उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बस्तीका समस्या समाधानलाई मुख्य एजेन्डा बनाएको जवाफ दिइन् ।
यी मुद्दा वर्षौँदेखि राजनीतिक भाषणमै सीमित भएको भन्दै अब दीर्घकालीन समाधान आवश्यक रहेको उनको धारणा छ ।
दुवै सांसदको साझा बुझाइ भने एउटै छ– नेपालमा समस्या नीति अभाव होइन, कार्यान्वयनको कमजोरी हो ।
झा भन्छिन्– ‘धेरै नीति बनेका छन् तर व्यवहारमा लागू हुन सकेका छैनन् ।’ आचार्य पनि यही कुरा दोहोर्याउँदै थप्छिन्– ‘संविधानले अधिकार दिएको छ, तर त्यो व्यवहारमा कार्यान्वयन भएको छैन ।’
महिला प्रतिनिधित्वको सवालमा पनि उनीहरूको दृष्टिकोण समान छ ।
झा समुदायमा देखेका दाइजोजस्ता समस्या अझै जीवित रहेको बताउँछिन् भने आचार्य सामाजिक संरचना र आर्थिक अवस्थाले महिलालाई राजनीतिमा आउन कठिन बनाएको उल्लेख गछिन् ।
एकातिर बस्तीको स्वास्थ्य सेवामा खटिएकी स्वयंसेविका, अर्कातिर आन्दोलन र नीतिगत बहसबाट अघि बढेका यी दुई फरक पात्र एउटै दलबाट संसदमा भेटिएका छन् ।
उनीहरूले महसुस गरिरहेको मुख्य चुनौती भनेको निर्वाचनको जीतलाई परिणाममा रूपान्तरण गर्नु रहेको बताएका छन् ।
View : 76
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved